कोभिड संक्रमण सुस्त भएपछि श्रमस्वीकृति लिने बढे «

कोभिड संक्रमण सुस्त भएपछि श्रमस्वीकृति लिने बढे


कोभिड संकट कम हँुदै गएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या बढ्न थालेको छ । श्रम गन्तव्य खाडी तथा मलेसियामा श्रमिकको माग बढेपछि नेपालमबाट रोजगारीमा जान श्रमिकले लिने श्रमस्वीकृतिको संख्या बढेको हो ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका उपसचिव राजेश उप्रेतीले कोरोना संक्रमण कम हुँदै गएपछि श्रमस्वीकृति लिने नेपाली युवाको संख्या बढ्दै गएको बताए । उनका अनुसार श्रमस्वीकृति लिने संख्या बढेपछि कार्यालयले अनलाइन र भौतिक उपस्थितिलाई व्यवस्थापन गर्न समय निर्धारण गरेको छ ।
कोरोना संक्रमणअघि मासिक ४० हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा असोज महिनामा फेरि उक्त संख्या ४० हजार पुगेको छ । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय तहाचालले असोजको अन्तिम हप्तासम्म वैदेशिक रोजगारीमा ३६ हजार पुरुष र ४ हजार महिलाले श्रमस्वीकृति लिएको जनाएको छ ।
चालु आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ पुगेको थियो । तर असोज एक महिनामा नै साउन र भदौमा लिएको श्रमस्वीकृति संख्या ४० हजार पुगेको छ । यसैगरी गत वर्षको असोजमा श्रमस्वीकृति लिनेको संख्या ८ हजार ९७ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौको तेस्रो हप्तासम्म १६ हजार ४०० र असोजमा ४० हजारले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको शुरुको ३ महिनाको दोब्बर हो ।
तहाचाल कार्यालयले भौतिक उपस्थित भएर र उपस्थित नभई गरिने दुवै माध्यमका श्रमस्वीकृति नवीकरणको चाप धेरै रहेको जनाएको छ । श्रमस्वीकृति लिने बढेपछि सार्वजनिक विदा बाहेक हरेक शुक्रबार दिनको दुई बजे अनलाइन शाखा र कार्यालयमा उपस्थित हुनेतर्फ कार्यालय सञ्चालन हुने हरेक दिन बिहान नौ बजेको समयमा काठमाडौं शाखाको टोकन कम्प्यूटर प्रणालीमार्फत सार्वजनिक रुपमा खुला गरिएको उपसचिव उप्रेतीले जानकारी दिए ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जाने संख्या बढेसँगै पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारी जाने प्रवृत्ति ३ वर्षअघिको जस्तो नभए पनि खोप व्यवस्थापनका कारण जाने बढेका बताए ।

प्रतिक्रिया दिनुहोस्