कोभिडमा प्रभावित सेवाग्राहीलाई उद्योग विभागको छुट «

कोभिडमा प्रभावित सेवाग्राहीलाई उद्योग विभागको छुट

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको दोस्रो लकडाउनका बेला उद्योग विभागमा विभिन्न सेवाका लागि म्याद गुजारेका सेवाग्राहीलाई सरकारले एक महिनासम्म छुट दिएको छ ।
दुई महिनाभन्दा लामो लकडाउनका कारण कार्यालय सञ्चालनमा आउन नसकेको र सेवाग्राहीहरुले सेवा लिन नसकेको भन्दै विभागले सेवा प्रवाहको प्रकृति हेरेर ३० दिनसम्मको सुविधा उपलब्ध गराएको हो ।
विभागका अनुसार कात्तिकबाट सुरु भएको यो सुविधा सेवाग्राहीले मंसिर मसान्तसम उपयोग गर्न पाउनेछन् । उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद पूर्वनिर्धारित प्रतिवद्धता भन्दा अब थप ३० दिन रहने जनाइएको छ ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम यस्तो सुविधा थप गरिएको हो । यस्तै, सञ्चालनमा रहेको र विदेशी लगानी स्वीकृत भएको उद्योगले त्यस्तो स्वीकृत रकम भित्र्याई नसकेको भएमा विदेशी लगानी सम्बन्धी कार्ययोजना स्वीकृति सम्बन्धमा पनि यो सुविधा पाइने छ । विभागका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को नियम ९ को उपनियम ४ अनुसार फाइल अघि बढाएका लगानीकर्ताले यो सुविधा प्राप्त गर्ने छन् ।
विभागले पेटेन्ट, डिजाइन र ट्रेडमार्कको प्रमाणपत्र नवीकरण पनि अब कात्तिक मसान्तसम्म गर्न सकिने व्यवस्था गरेको छ । पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ बमोजिम फाइल अघि बढाएकाहरुको हकमा यो सुविधा थप भएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुली बताउँछन् । उनका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राखी सरकारको नीतिअनुसार लगानीकर्तालाई यस्तो छुट दिइएको हो । यस्तै, प्राइभेट फर्म नवीकरण सम्बन्धमा पनि ३० दिन म्याद थप गरिएको छ ।
निर्यातमा नगद अनुदानका लागि आवेदन गर्ने म्याद पनि ३० दिन थप गरिएको छ । निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ को दफा ४ मा व्यवस्था भएअनुसार को उपदफा २ बमोजिम निर्यात गरेको महिना समाप्त भएको ६० दिनभित्र विभाग समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
विभागका सूचना अधिकारी पराजुलीका अनुसार सरकारले गत वैशाख १५ गतेदेखि जारी गरेको निषेधाज्ञाको कारण उद्योग विभागबाट प्रदान गरिने सेवा प्रवाहमा समस्या भएको थियो । जसका कारण आवेदन गर्न नपाएका सेवाग्राहीले कात्तिकबाट ३० दिन भित्र आवेदन गर्ने म्याद तथा समय उपलब्ध गराइएको उनले जानकारी दिए ।
कोभिडका कारण औद्योगिक क्षेत्रमा परेको प्रभावबारे अघिल्लो वर्ष ठोस अध्ययन भए पनि दोस्रो लकडाउनपछि भने ठोस अध्ययन हुन सकेको छैन । राष्ट्र बैंकले गत वर्ष गरेको एक अध्ययनले कोभिड–१९ का कारण लगाइएको निषेधाज्ञाले गर्दा ९६.७ प्रतिशत उद्योगको ७३.८ प्रतिशत औद्योगिक उत्पादन-कारोबार घटेको देखाएको थियो । यसका साथै उक्त अध्ययनअनुसार २२.५ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन्, जसमा अन्य क्षेत्रको तुलनामा लघु, घरेलु तथा साना उद्योगहरूले उल्लेख्य रूपमा श्रमिकको कटौती गरेका छन् । उद्योग क्षेत्रमा सञ्चालकहरूले सञ्चालन खर्चको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाई, बजार मागको कमी जस्ता समस्या रहेको उक्त अध्ययनको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस्