थप २५ वस्तुको गुणस्तर निर्धारण गरिँदै

हालसम्म ६७ प्रकारका वस्तुलाई मात्र नेपाल गुणस्तर चिह्न प्रदान गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले थप २५ विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने तयारी गरेको छ ।
वस्तुको गुणस्तर कायम गर्न विभागले थप नयाँ वस्तुको गुणस्तर निर्धारण गर्न लागेको हो । विभागले वस्तुको गुणस्तर निर्धारण गरेर इजाजतपत्र दिएपछि मात्र बजारमा उद्योगले उत्पादन सुरु गर्छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न २५ वटा नयाँ वस्तुको गुणस्तर निर्धारण गर्न लागिएको जानकारी दिए ।
मिनरल वाटर, निर्माण सामग्री, पेन्ट, पानी ट्यांकी, एलपीजी सिलिन्डर, विद्युतीय सामान लगायतका अन्य नयाँ वस्तुहरुको गुणस्तर निर्धारण गर्न लागिएको उनको भनाइ छ । विभागका अनुसार हस्तकलाका उत्पादन अन्तर्गत ज्वेलरीमा बढी केन्द्रित भएर गुणस्तर निर्धारण गर्न लागिएको छ । यस्तै फुटवेयर (जुत्ता), अल्लोका उत्पादन, प्राकृतिक रेशाका वस्तुहरुमा गुणस्तर निर्धारण लागिएको पनि महानिर्देशक पुडासैनीले जानकारी दिए ।
अहिलेसम्म ६७ प्रकारका वस्तुहरुमा नेपाल गुणस्तर चिह्न प्रदान गरिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार गुणस्तर चिह्न प्रदान गरिएका वस्तुहरुमा निर्माणजन्य सामग्रीहरु पाइप, ट्यांकी, ट्याकीको सिट, जिआई पाइप, जिआई वायर, पिपिपि पाइप, प्लाइउड, रेगुलेटर लगायतका अन्य वस्तुहरुमा गुणस्तर चिह्न प्रदान गरिएको छ । नियमित रुपमा प्रत्येक वर्ष नयाँ वस्तुको गुणस्तर निर्धारण गर्ने काम भएपछि त्यसमा इजाजतपत्र प्रदान गर्दै आएको विभागले जानकारी दिएको छ । पछिल्लो पटक मेडिकल फेस मास्क र स्यानिटरी प्याडमा समेत गुणस्तर प्रदान गरिएको विभागले जनाएको छ ।
यस्तै पिबिङ ब्लक, फोहोरमा ओछ्याउने ब्लकहरुमा गुणस्तर निर्धारण भइसकेपछि विभिन्न उद्योगहरुले इजाजपत्र लिइसकेका छन् । विभागले सडकमा प्रयोग हुने निर्माणजन्य सामग्रीहरुमा पनि गुणस्तर निर्धारण गरेको छ । विभागबाट ५० वटा ग्यास उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । अझै १० वटा उद्योगले गुणस्तर चिह्न लिन बाँकी रहेको विभागले जानकारी दिएको छ । गुणस्तर चिह्न प्रदान गरेरमात्र उद्योगले उत्पादन सुरु गर्नुपर्ने व्यवस्था भए पनि कतिपय उद्योगले नलिईकन उत्पादन गरिरहेको विभागको भनाइ छ ।
विभागले सोैन्दर्य सामग्रीका वस्तुहरुमा गुणस्तर निर्धारण गरे पनि औषधी व्यवस्था विभागभित्र यसको नियमनकारी भूमिका राखिएका कारण नियमन गर्न कठिन भएको बताएको छ । विभागले प्रत्येक वर्ष करिब ४ सय वस्तुमा इजाजत प्रदान गर्दै आएको छ ।
ती वस्तुमध्ये ५ देखि १० प्रतिशतको हाराहारीमा कैफियत पाइएको विभागले जानकारी दिएको छ । विभागले अनुगमन गरेर तोकिएको मापदण्ड पूरा नगर्ने उद्योगलाई कारबाही गदै आएको छ । अनुमगनका क्रममा बजारमा सिमेन्ट, डन्डी र छडको गुणस्तरमा बेला बेला समस्या आउने गरेको छ । बजारमा वस्तु तथा सेवाको गुणस्तर र नापतौलमा समस्या रहेको उपभोक्ताअधिकारकर्मीले बताउँदै आएका छन् ।