Logo

व्यवस्थित बन्दै भलामचौर होमस्टे


आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने लमजुङमा होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । सार्क नमुना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ गाउँसहरको काउलेपानी र राइनासकोटपछि पर्यटक आकर्षण गर्ने सम्भावना बोकेका गाउँहरू होमस्टे व्यवसायतर्फ आकर्षित भएका हुन् ।
मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा ग्रुपअन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे प्रवद्र्धनका लागि करिब चार करोडको लगानीमा भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना नै सञ्चालन गरेको हो ।
कम्पनीले कृषि तथा पर्यटन प्रवद्र्धनका लागि करिब एक सय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको हो । कम्पनीले स्थानीयसँग सम्झौता गरेसँगै होमस्टे व्यवस्थापन र कृषि उत्पादनका काम सुरु गरिसकेको जनाएको छ । पहिलो वर्ष करिब ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी तरकारी उत्पादनसमेत सुरु भइसकेको कम्पनीका उपाध्यक्ष कृष्ण न्यौपानेले बताए ।
“हामीले दीर्घकालीन सोचका साथ एग्रो टुरिजमको विकास र प्रवद्र्धनका लागि लगानी गरेका छौँ,” न्यौपानले भने, “यसका लागि भलामचौर प्रकृति, माटो, भूगोल सबै कुराको अनुकूल छ ।” व्यावसायिक कृषि उत्पादनसँगै स्थानीय ३० घरमा प्रतिघर दुई कोठाका दरले होमस्टे व्यवस्थापन भएको छ । एक रातमा कम्तीमा एक सयजना पाहुना राख्न सकिने तयारी गरेको प्रवद्र्धक नविनराज कुइँकेलले बताए । प्राकृतिक सुन्दरता र गुरुङ सस्कृतिको खानी भलामचौरको प्रवद्र्धन गरी पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने प्रवद्र्धकको तयारी छ ।
“लमजुङमा धेरै होमस्टे छन्, धेरै होमस्टेमा बजारकै थोक लगेर पाहुनालाई खुवाउने गरिन्छ,” उनले भने, “हामी पाहुनाका लागि नुन, तेलबाहेक कुनै पनि थोक बजारबाट ल्याउँदैनौ, आफ्नै बारीको खुवाउँछौ ।”
गाउँमा आउने पर्यटक लक्षित अर्गानिक तरकारीमात्रै नभई धान कोदो, कुखुरासमेतको व्यावसायिक उत्पादन गरी गाउँमा आएका पाहुनालाई गाउँकै स्वादमा रमाउने गरी पर्यटन व्यवसाय सञ्चालन सुरु गरिएको प्रवद्र्धकहरूले बताएका छन् । कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ । रोजगारी नपाएर गाउँमै बेरोजगार बसेका पनि परियोजना सञ्चालन भएसँगै रोगजार पाएका छन् ।
परम्परागत खेती किसानीले मात्रै दीर्घकालीन जीविकोपार्जन सम्भव नहुने देखिएपछि स्थानीय उत्पादनलाई जोडेर पर्यटन व्यवसायमा लागेका स्थानीय अहिले आफ्नो गाउँमा भएको कृषि कायपलटबाट छक्क परेका छन् । भलामचौरमा शुरु भएको व्यवस्थित होमस्टे र नमुना कृषि उत्पादनले स्थानीय मात्रै नभई जिल्लाकै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीयको प्रतिक्रिया छ ।
खुदीबाट भलामचौर साढे पाँच किलोमिटर पर्छ । होमस्टे सुरु नगर्दै पनि फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक भलामचौर पुग्ने गरेका थिए । भलामचौर पुगेका पर्यटकले गाउँमै पालिएका गाई–भैंसीको दूध, घ्यू, दही, रोटी, मकै, कोदोका परिकार, अर्गानिक तरकारी, लोकल रक्सी, लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, निउरो, कुरिलो, बेथेलगायतका अर्गानिक खानाको स्वाद लिने गरेका थिए ।
पर्यटकको चाहनाअनुसार गाउँलेहरूले साँस्कृतिक मनोरञ्जनका लागि झ्याउरे, कृष्णचरित्र र स्थानीय पौराणिक नाचगान देखाउने गर्दछन् । भलामचौरबाट हिमाली दृष्य स्पष्ट देख्न सकिन्छ । मनास्लु, डा. हर्क हिमाललगायत दर्जन हिमशृंखला, मस्र्याङ्दी र खुदखोलाको नागबेली, गाउँपालिकाको सुन्दर बस्ती हेर्न सकिन्छ ।
बाइसे–चौबीसे राज्यकालको गढी, गढीनजिकै रहेको रानी ओडार, जुवा, त्रिपासा खेल्ने ढुंगा, सुन्दरी तलाउ, मान्द्रे ढुंगा, तीन कन्या देवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर हेर्न लायक ठाउँ हुन् । उक्त ठाउँमा गुफा पनि छ ।

प्रतिक्रिया दिनुहोस्