मेलम्चीको पानी आपूर्ति निश्चित गर्न खानेपानीमन्त्रीको निर्देशन «

मेलम्चीको पानी आपूर्ति निश्चित गर्न खानेपानीमन्त्रीको निर्देशन


खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आपूर्ति निश्चित गर्न निर्देशन दिएका छन् । ३ सातादेखि आन्दोलनरत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का कर्मचारीहरुले राखेको माग सम्बोधन गर्दै पानी आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाउँदै उनले सहज आपूर्ति व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।
केयुकेयलका कर्मचारीहरु सेवा सुविधा बढाउनुपर्ने, मेलम्चीको पानी आपूर्ति व्यवस्थापन सहज बनाउनुपर्ने माग राख्दै कर्मचारीहरु आन्दोलनरत थिए । खानेपानी मन्त्रीले उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि आन्दोलन फिर्ता लिएका हुन् ।
केयुकेयलका कार्यकारी निर्देशक मिलन शाक्यले सहमतिपछि आन्दोलन फिर्ता भएको जानकारी दिए । “मेलम्चीको पानी आपूर्ति निश्चित गरिने सहमति भएको छ,” उनले भने, “सहमति भएका बुँदा छिट्टै नै कार्यन्वयन गरिने छ ।”
गत असार १ गते मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्बको क्षति पुगेको छ । क्षतिसँगै मेलम्चीको पानी आपूर्ति पनि अनिश्चित बनेको छ ।
खानेपानी मन्त्रालयका अनुसार आगामी चैत महिनामा मेलम्ची आयोजना मर्मतको काम सम्पन्न हुनेछ र धारामा पानी आउने छ । मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा पुगेको क्षतिसहित आयोजनासम्म पुग्ने ८ किलोमिटर सडकका साथै ३ वटा हेडवक्र्स नजिक पुल र २ प्रवेशमार्गका पुल भत्किएको छ भने ढुंगा गिट्टी माटो तथा बालुवाले हेडवक्र्स नै पुरिएको छ । यसलाई सफा गर्न करिब २ अर्ब रुपैयाँ लागत लाग्ने पूर्वानुमान गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेडक्र्स पुरिएपनि ठूलो क्षति भने भएको छैन । बाढीका कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितीको अनुमान छ । समितीले करिब १ वर्ष आयोजना मर्मत गर्न समय लाग्ने बताए पनि अझै कति लागत लाग्ने र ठ्याक्कै समय कति लाग्ने भन्ने विषयमा विस्तृत अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्