पानीले पुर्याएको क्षतिको तथ्यांक संकलन गर्दै स्थानीय तह «

पानीले पुर्याएको क्षतिको तथ्यांक संकलन गर्दै स्थानीय तह

वर्षाले धानबाली क्षति कञ्चनपुर, १ कात्तिक : शुक्लाफाँटा नगरपालिका–१, वन्साहमा लगातारको वर्षाले बगाएको धानबाली । खेतमा काटेको धानबाली पानीले बगाउँदा किसानले क्षति व्यहोरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस


केही दिनदेखि लगातार परेको पानीले कृषकहरूको खेतीमा क्षति पुर्याएको छ । यसरी पाकेर भित्र्याउन तयार भएको बालीमा क्षति पुर्याउँदा कृषकलाई धेरै पीडा भएको छ । तर स्थानीय सरकारले अहिलेसम्म कुनै राहतका कार्यक्रम ल्याउन सकेका छैनन् । पु¥याएको क्षतिको तथ्यांक संकलन गर्ने स्थानीय तहहरूले सुरु गरेका छन् । स्थानीय तहहरूले वडास्तरबाट तथ्यांक संकलन गर्न थालेको हो । तथ्यांक संकलन गरेपछि कृषकलाई स्थानीय तहबाट के कसरी राहत प्रदान गरिने भनेर निर्णय गरिने स्थानीय तहहरूले जनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले अहिले पानीले कृषकको के कति खेतीमा क्षति पु¥याएको छ भने तथ्यांक संकलन सुरु गरेको जनाएको छ । वडा वडाबाट तथ्यांक संकलन गरिएको तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमले जानकारी दिए । “एक दुई दिनभित्र तथ्यांक संकलन गरिसकिने छ त्यसपछि के गर्ने भनेर उपमहानगरपालिकाले निर्णय गर्ने छ,” प्रमुख गौतमले भने । क्षतिको विवरण कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारलाई पठाइने छ ।
राप्ती गाउँपालिकाले पनि क्षतिको विवरण संकलन सुरु गरेको जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख अनिल अधिकारीले तथ्यांक संकलन सुरु गरेको बताए । तथ्यांक संकलन सकिएपछि के कसरी राहत प्रदान गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ । कृषकलाई बीउ निःशुल्क दिने कि रकम दिने भन्ने बारेमा निर्णय गाउपालिकाले गर्ने छ ।
“तथ्यांक संकलन गरिसकेपछि कृषकलाई राहत हुने गरी गाउँपालिकाले निर्णय गर्नेछ,” अधिकारीले भने । लमही नगरपालिकाले पनि विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । लमही नगरपालिका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले क्षति पुगेको तथ्यांक संकलन गर्ने काम भइरहेको जानकारी दिए । “केही दिनमा विवरण संकलन गरेर सकिने छ त्यसपछि कृषकलाई राहतको निर्णय गरिने छ,” चौधरीले बताए । नगरपालिकाले टोलटोलमा विवरण संकलन गर्न काम भइरहेको जनाएको छ । जिल्लाका अन्य पालिकाले पनि तथ्यांक संकलन गर्ने काम गरिरहेको जनाएका छन् ।

प्रदेशमा ३६ हजार हेक्टर बढी धानमा क्षति
लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो । प्रदेशभर कुल खेती भएको ३ लाख १७ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफको धान भने किसानले भित्र्याएका छन् । ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलको धान काट्न बाँकी छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियामा १० हजार हेक्टर जमिनको धानमा क्षति पुगेको प्रदेश कृषि विकास निर्देशनालयकी बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् । बर्दियामा २५ हजार २ सय हेक्टर जमिनको काट्न बाँकी छ । कपिलवस्तुमा काटेर खेतमै राखिएको ८ हजार ८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । जिल्लामा २७ हजार ४ सय ५५ हेक्टर खेतमा धान काट्न बाँकी छ ।
दाङमा काटेर खेत मै राखिएको ३ हजार ४ सय हेक्टर जमिनको धानमा क्षति पुगेको छ । दाङमा ४ हजार ३ सय हेक्टर जमिनको धान काट्न बाँकी छ । बाँकेमा काटेर खेतमै रहेको ७ हजार ५ सय हेक्टर जमिनको धानमा वर्षाले क्षति पु¥याएको छ । त्यस्तै १० हजार हेक्टर जमिनको धान काट्न बाँकी छ भने १ हजार १ सय हेक्टर जमिनको धान भित्र्याइएको छ । रुपन्देहीमा काटेर खेतमा रहेको ३ हजार ४ सय ६८ हेक्टर जमिनको धानमा क्षति पुगेको छ । जिल्लामा २० हजार ७ सय ९३ हेक्टर खेतको धान काट्न बाँकी छ ।
प्यूठानमा काटेर खेतमै रहेको ३ हजार ७ हेक्टर जमिनको धानमा क्षति पुगेको छ भने ७ सय ८८ हेक्टर खेतको धान काट्न बाँकी छ । नवलपरासी पश्चिममा काटेर खेतमै रहेको ४ सय १० हेक्टर जमिनको धानमा वर्षाले क्षति गरेको छ भने ४ हजार १ सय हेक्टर खेतको धान काट्न बाँकी छ । रुकुमपूर्वमा काटेर राखेको ४ सय १२ हेक्टर खेतको धान डुबानमा परेको छ । गुल्मीमा काटेर खेतमै रहेको ८ हेक्टर खेतको धान वर्षाले भिजाएर क्षति पु¥याएको निर्देशनालयले जनाएको छ । पाल्पामा काटेर खेतमै रहेको २ सय ७० हेक्टर जमिनको धानमा क्षति पुगेको छ । पाल्पामा २ सय ६५ हेक्टर खेतको धान काट्न बाँकी छ । रोल्पामा २५ हेक्टर खेतको धान बालीमा क्षति पुगेको छ । त्यस्तै ३५ हेक्टर जमिनमा लगाइएको मकै र १३ हेक्टरमा गरिएको सिमी बालीमा पनि वर्षाले क्षति पु¥याएको छ ।
अर्घाखाँचीमा वर्षाले धान बालीमा धेरै क्षति नपु¥याएको निर्देशनालयले जनाएको छ । वर्षाले धान डुबानमा परेको र भिजेको भए पनि कति क्षति भयो भन्ने यकिन भई नसकेको बाली विकास अधिकृत सुनैना बराइलीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्