Logo

एमडीएमएस लागू नगरेकोमा मोबाइल फोन आयातकर्ताको आपत्ति

अबैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाइल फोन आयातकर्ताले आपत्ति जनाएका छन् ।
गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा एशोसिएशनले आपत्ति जनाएको हो ।
अध्यक्ष दिपक मल्होत्राले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन सरकारलाई दवाव समेत दिनुपर्ने बताए । नेपालमा हाल करिव ४५/५० प्रतिशत मोबाइल गैरकानुनी ढंगले बिक्री वितरण भइरहेको एशोसिएशनको दावी छ । त्यसलाई रोक्न सके सरकारले राजस्व असुलीबाट धेरै फाइदा लिन सक्ने र व्यवसायीहरुको व्यापार पनि फष्टाउने एशोसिएशनका अध्यक्ष मल्होत्राको भनाइ छ ।
उनले सो निर्णय सरकारले कसैको स्वार्थमा लागू गर्न नसकेको पनि बताए । राज्यलाई फाइदा हुने र व्यवसाय फष्टाउने भएकाले सो प्रणाली तत्काल लागू गराउन आफूहरुले सरकारलाई फेरि दवाव दिने तयारी गरिरहेको पनि उनले बताए ।
भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैधरुपमा भित्रिएका मोबाइल बन्द गर्न सरकारले गत साउन १ गतेदेखि नै एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । तर त्यसलाई प्राविधिक कारण देखाउँदै ३ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा ल्याउन नसकेकोमा व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्