कृषकलाई तत्काल राहत दिनु नै न्याय «

कृषकलाई तत्काल राहत दिनु नै न्याय

देशभर दसैंको खुसीयाली साटासाट हुँदै थियो । असोज ३१ गतेबाट परेको अविरल वर्षा र हावाहुरीले अधिकांश क्षेत्रमा कृषि बालीमा क्षति पु¥यायो । कृषकको पाक्न लागेको धान ढल्यो । काटेर थन्क्याउन तयारी अवस्थामा रहेको धानसमेत पानीले डुबाएपछि किसान अहिले बिचल्लीमा परेका छन् ।
कल्पनै नगरेको मनसुनपछिको वर्षाले देशका अधिकांश स्थानमा पाक्न लागेको बालीमा क्षति पु¥याएको छ । वर्षाले तराई क्षेत्रमात्र नभई पहाडी क्षेत्रमा पनि उत्तिकै क्षति पु¥याएको छ । यो वर्षाले कृषिबालीमा मात्र नभई मानवीय क्षति पनि पु¥याएको छ । अहिलेसम्म एक सय जनाको मृत्यु भएको तथ्यांक आएको छ भने झन्डै ३० जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । वर्षाले कैलाली, कञ्चनपुरमा २० देखि २५ प्रतिसम्म धानबाली नोक्सान भएको छ ।
काटेर सुकाएको, मुठा पारेको र कुन्यु लगाएको धान पूर्ण रूपमा क्षति भएको छ । धान पूर्ण रूपमा कुहिसकेको र उम्रिएको छ । खडा धानमात्रै सुरक्षित देखिएको छ ।
नकाटेर खसेको धान पनि उम्रिन थालेको छ । देशका विभिन्न जिल्लामा बेमौसमी अविरल वर्षाले धान काटेर अब लगाउने हिउँदे बाली लगाउन ढिला हुने देखिएको छ । जसले गर्दा हिउँदे बालीको उत्पादनमा समेत कमी आउने देखिन्छ । अधिकांश किसान धान बेचेर आफ्नो ऋण तिर्ने र वर्षभरिको खानको जोहो गर्ने गर्छन् ।
तर यसपालिको बेमौसमी वर्षाले अनिकाल लाग्ने हो कि भन्ने प्रश्न खडा गरेको छ । अहिले अधिकांश स्थानीय सरकारले वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गरिरहेका छन् । किसानले पनि सरकारबाट राहतको अपेक्ष गरेका छन् । बेमौसमी वर्षाले पु¥याएको क्षतिका बारेमा कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग कारोबारकर्मीहरू मुकेश चौधरी, विप्लव काफ्ले र सागर परियारले गरेको कुराकानीको सार :

किसानलाई बचाइएन भने अनिकाल पर्छ
यज्ञराज जोशी
निर्देशक, कृषि विकास निर्देशनालय, सुदूरपश्चिम प्रदेश
धानबाली क्षतिको अनुगमनमा रहेको निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले गरिरहेको छ । कैलाली, कञ्चनपुरमा २० देखि २५ प्रतिसम्म धानबाली नोक्सान भएको छ । काटेर सुकाएको, मुठा पारेको र कुन्यु लगाएको धान पूर्ण रूपमा क्षति भएको छ । धान पूर्ण रूपमा कुहिसकेको र उम्रिएको छ । खडा धानमात्रै सुरक्षित देखिएको छ । नकाटेर खसेको धान पनि उम्रिन थालेको छ ।
कुन्यु पनि बफाइरहेको देखिन्छ । कुन्युमै पनि हामीले धान उम्रिएको देख्यौं । पानी रोकिएको भए पनि खेतबाट पानी तर्किन समय लाग्ने भएकाले पानीले गर्दा खसेको धान पनि कुहिन थालेको छ । कुहिएको धान खानयोग्य पनि हुँदैन । खाए पनि स्वास्थ्यका लागि हितकर हुँदैन । यसपालि सुदूरपश्चिममा धानको अनिकाल लाग्ने संकेत देखिँदै छ ।
कैलाली, कञ्चनपुरको तल्लो बेल्टमा सबैभन्दा बढी धान क्षति भएको छ । राजमार्ग छेउछाउ र उत्तरी भेगमा क्षति कम छ । टीकापुर, भजनी, जोशीपुर, जानकी, कैलारी, बेलौरी, पुनर्वास, लालझाडी, पुनर्वास, बेल्डाँडीलगायतका स्थानीय तहका किसानले सबैभन्दा बढी क्षति बेहोरेका छन् । बाँकी स्थानीय तहमा रहेका खला खेतहरूको धानसमेत पूर्ण रूपमा क्षति भएको छ ।
हामीले धान क्षतिको विवरण संकलन गर्न कृषि ज्ञान केन्द्रहरू र स्थानीय तहहरूलाई परिपत्र गरेका छौं । पूर्ण रूपमा क्षति भएको, आंशिक क्षति भएको, वर्षाभन्दा पहिले भिœयाइसकेको र काट्न बाँकी रहेको धानको विवरण संकलन गरी निर्देशनालयमा पठाउन परिपत्रमा अनुरोध गरेका छौं । पहाडी जिल्लामा सञ्चार सम्पर्क हुन नसकिरहेको हुनाले ती जिल्लाहरूमा परिपत्र पठाउन कठिनाइ भइरहेको छ । सबै ठाउँबाट तथ्यांक प्राप्त भएपछि तथ्यांक प्रोसेसिङ गरेर हामी निचोडमा पुग्छौं ।
किसानलाई राहत दिने विषयमा तत्काल निर्णय भएको छैन । अनुगमन सकेर प्रदेशको कृषि मन्त्रालय, ज्ञान केन्द्रहरू र निर्देशनालयको बैठक बसी सरकारलाई राहतका लागि सिफारिस गर्छौं । यस वर्ष प्रदेशका किसानमा ठूलो खाद्य संकट देखा पर्छ । त्यसो हुनाले उनीहरूलाई जोगाउन सरकारले राहतको प्याकेज ल्याउनुपर्छ । किसानलाई यसपालि आफैंले खानका लागि अनाज हुँदैन । उनीहरूले बेचेपछि बाँकी उपभोक्ताले खान पाउने हो । किसानलाई नै आफैं खान नपुग्ने भएपछि बाँकी उपभोक्ता पनि खान पाउँदैनन् ।
किसानलाई बचाउन सकिएन भने बिजोग हुन्छ । किसानलाई बचाउनका लागि सरकारले धानको बीउ दिने, चार गुणा बढी फलाउन सक्ने गरी प्रविधि, प्राविधिक सहयोग गर्नुपर्छ । आउँदो गहुँबालीमा मल किन्नका लागि सहयोग गर्नुपर्छ । किनभने किसानले धान बेचेर गहुँबालीका लागि मल किन्ने गरेका थिए । धान नै नरहेपछि अब किसानले मल किन्न सक्दैनन् । तत्काल राहतका लागि र खाना किन्नका लागि प्रत्येक किसानलाई ५०÷६० हजार रुपैयाँ दिँदाखेरि केही फरक पर्दैन ।

किसान हरेक क्षेत्रबाट पीडित छन्
चन्द्रप्रसाद अधिकारी
अध्यक्ष, प्राङ्गारिक कृषि उत्पादक सहकारी, भरतपुर
दसैंको खुसीयाली साटासाट हुँदै थियो । धानका बालाहरू झुलिरहेका पहेंलपुरे फाँटमा दसैंलगत्तै पाकेको धान काटेर केही बेचेर दसैंको ऋण तिर्ने किसानहरूको योजना थियो । तर, त्यो सबै सपनाजस्तो हुन पुग्यो । असोज ३१ गतेबाट परेको अविरल वर्षाले र हावाहुरीले अधिकांश पाकेको धान ढल्यो । ढलेको पाकेको धान माथिबाट पानी बगिरहेको छ ।
धान र पराल दुवैको आस मारिएको छ । मेरो ४ बिघा १० कट्ठा जमिनको प्राङ्गारिक धानमध्ये २ बिघा १० कट्ठा जमिनको धान ढलेको छ । माथिबाट पानी बगेको छ । मेरा छिमेकी वसन्तराज आचार्यको झन्डै १ बिघाको धानको हालत पनि यस्तै छ । विष्णु अधिकारीको पाकेको धान माथिबाट पानीको भल बगेको छ । यस्तै विष्णु शर्माको १० कट्ठाको धानमा पनि क्षति पुगेको छ । अर्जुन श्रेष्ठ, मनबहादुर शाहीको काटेको धान पनि पानीभित्र ढुबेको र उम्रन थालेको छ । मेरा छिमेकीको मात्र हैन, चितवनका धेरै किसानले यस्तै पीडा खेप्नुपरेको छ । किसानहरू हरेक क्षेत्रबाट पीडित छन् ।
यसपालि प्रकृतिले पनि किसानलाई नराम्ररी ठगेको छ । किसानको बाली लिएर पेट पाल्ने र आफ्नो गर्जो टार्ने सपना बिलाएको छ । थन्क्याउने बेलाको धानमा क्षति पुगेपछि अब कति युवा बिदेसिन बाध्य हुनुपर्ने हो ? कतिले कट्ठा बेचेर ऋण तिर्नुपर्ने हो ? कति किसानलाई कृषि व्यवसायको विकल्पको खोजी गर्नुपर्ने बाध्यता आइलागेको छ ? सरकारले सहयोग गर्ने आशा छ । सरकारी तवरबाट निष्पक्ष निरीक्षण गरेर जतिसक्दो छिटो राहतको व्यवस्था गरी पीडित किसानको पीडामा मल्हमपट्टी गरोस् । अब के हुन्छ, हेर्न बाँकी नै छ ।
चितवनमा बेमौसमी अविरल वर्षाले धान काटेर अब लगाउने हिउँदे बालीहरू पनि लगाउन ढिला भई उत्पादनमा कमी आउने निश्चित छ । भरतपुर–१५ को श्रीपुर, विष्णुपुर, गणेशगन्ज, गोपालगन्ज र फूलबारी गाजर उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादन गरिएको साधारण र प्राङ्गारिक गाजर नेपालको धेरै जिल्ला बिक्री हुँदै आएको थियो ।
गहुँ, जौ, राजमा, आलु, काउली, केराउ आदि हिउँदे बालीहरू लगाउन पनि ढिला हुने अवस्था देखिएको छ । धान मात्र होइन, अब लगाउने बालीमा समेत यो वर्षाको नकारात्मक प्रभाव पर्न जाने देखिन्छ । किसानलाई झन् समस्या बढ्ने निश्चित छ । सम्बन्धित पक्षको ध्यान आकर्षण हुन जरुरी छ ।

धानको उमारशक्ति परीक्षणसँगै राहत योजना बनाउँदै छौं
बालकराम देवकोटा
कार्यालय प्रमुख, कृषि विकास कार्यालय, जुम्ला
अविरल वर्षाले जुम्लाको कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । धान भिœयाउने कात्तिकको समयमा पहिलो पटक यसरी ठूलो वर्षा भयो । बाढीले सबैभन्दा जुम्लाको मार्सी धानमा क्षति भएको छ । साथै पशुचौपाया, विद्यालय भवन, केही घरहरूसमेत बाढीले बगाएको छ । परिपक्व भएर भिœयाउने तयारीमा रहेको मार्सी धान बगरमा परिणत भएपछि किसानको आठ महिनाको मेहनत बालुवामा पानी भएको छ ।
करिब १ सय ५० भन्दा बढी भेडा तातोपानी–७ बाट बगेको प्रारम्भिक तथ्यांक छ । त्यस्तै तिला–४, सापुल्लीमा ३ घर बगेका छन् । तातोपानी–४ मा २ सय रोपनीको मार्सी धानसँगै नेत्रज्योति मावि बगेको छ भने तातोपानी–२ र ३ मा पर्ने जुम्लामै पहिलो मार्सी खेती भएको लाछु ज्युलो डुबानमा परेको छ । सुरक्षा निकाय र कृषि प्राविधिक टोलीले सर्भे गरेको प्रारम्भिक तथ्यांकअनुसार जुम्लाको १८ हेक्टर मार्सी धान रोपेको जग्गामा क्षति पुगेको पाइएको छ ।
जसमा तातोपानीका विभिन्न वडामा पर्ने ५ हेक्टर मार्सी फाँट डुबान परेको छ भने तिला गाउँपालिकाको सापुल्ली, नुवाकोट, रावतबाडा, कुडारीलगायतका ठाउँको १३ हेक्टर मार्सी धान रोपेको जग्गा बाढीले पूर्ण रूपमा बगरमा परिणत भएको छ । नामनिसान नरहने गरी १३ हेक्टर जमिन पूरै बगेर गइसकेको छ ।
त्यसका साथै काटेर खेतमै राखेका अधिकांश किसानको धान पनि बगाएको छ । गुठीचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका विभिन्न ज्युलोमा काटेर राखेका करिब ५÷६ रोपनी धान बाढीले बगाएको छ भने ७÷८ सय रोपनी खेतका धान भिजेका छन् । के कसो गर्ने, भिœयाउने कि नभिœयाउने भनेर किसान अन्योलमा छन् ।
बर्सात जारी भएकाले किसान आत्तिएका छन् । तर, काटेको धान नउठाउन किसानलाई अनुरोध गरेका छांै । किसानले उठाउन खोजेका छन् । भिजेको धान थोरै हल्लाउँदा पनि झर्ने समस्या हुन्छ । त्यसैले राम्ररी नसुकेसम्म धान उठाउनु हुँदैन । नकाटेको धानलाई भने वर्षाले कुनै असर गर्दैन ।
साथै किसानलाई आवश्यक राहत योजना बनाउँदै छांै । प्रदेश सरकारसँग योजना बनाएर पठाउँदै छौं । अन्य राहतभन्दा पनि उमारशक्ति परीक्षणपछि किसानलाई आवश्यक बीउ राहत उपलब्ध गराइनेछ ।
केही किसानले सुरक्षाकर्मी प्रयोग गरेर पनि काटेको धान लिन खोजेको भेटिएको छ । हामीले काटेर राखेको धानलाई यथास्थानमै राख्न भनेका छौं । तर, किसानले मानिरहेका छैनन् । यकिन क्षतिको विवरण आएको छैन । तर, प्रारम्भिक तथ्यांकअनुसार जुम्लाको १८ हेक्टर मार्सी धान क्षेत्रमा क्षति पुगेको छ । जसमा तातोपानीको ५ हेक्टर मार्सीफाँट डुबानमा परेको छ भने तिलाको १३ हेक्टर मार्सी धान रोपेको क्षेत्रफल पूर्ण रूपमा बगेर गएको छ । डुबान भएको ५ हेक्टर जमिनमा पछि खेती गर्न सकिन्छ ।
तर, १३ हेक्टर जमिन बगर बनिसकेको छ ।
साथै भिजेको धान के गर्ने, कसो गर्ने भन्नेबारेमा धेरै सोधिएको छ । भिजेको धान बीउका लागि राख्न मिल्छ कि, स्वाद फरक हुन्छ कि भन्नेमा किसान अन्योल छन् । यसबारे हामी आउँदो फागुनमा भिजेको धानको उमारशक्ति परीक्षण गर्छाैं । चैतमा बीउ राख्नुपूर्व उमारशक्ति परीक्षण गरिनेछ ।
अहिले भिजेको धानलाई घाम लागिसकेपछि केही दिन सुक्न दिएर मात्रै घरमा छुट्टै भण्डार गर्न रेडियो, पत्रपत्रिकाबाट किसानलाई सूचना जारी गर्ने तयारी छ । भिजेको धानमा उमारशक्ति ह्रास हुने सम्भावना हुन्छ । त्यसैले चैतमा धानको बीउ राख्नुपूर्व फागुनमा भिजेको धानको उमारशक्ति परीक्षण गर्छाैं । उमारशक्तिबिना भिजेको धानको बीउ नराख्नसमेत अनुरोध गरिनेछ । जुम्लाका आठै तहको धान संकलन गरी परीक्षण गर्दा उमारशक्ति ८० प्रतिशतभन्दा माथि देखिएमा मात्रै बीउको रूपमा प्रयोग गर्न मिल्छ । यद्यपि ८० प्रतिशतभन्दा तल उमारशक्ति देखिए भिजेको धानलाई बीउ राख्न उपयुक्त मानिँदैन ।
यद्यपि भात खानका लागि भने स्वादमा कुनै फरक आउँदैन । विश्व बजारमा जुम्ली मार्सीको माग बढ्दै गएकाले यसको उत्पादन र गुणस्तरीयतामा विशेष ध्यान दिनुपर्ने बहस चलेको बेला भिजेको जुम्ली मार्सीको स्वाद के–कसो हुने हो भन्ने चिन्तामा किसान छन् । तर, खेतमै राम्ररी सुकाएर घरमा एक हप्ता घाममा सुकाएको खण्डमा स्वादमा कुनै फरकपन आउँदैन ।
काटेको तथा नकाटेको धान भिज्दा किसान चिन्तित भएका छन् । आत्तिन भने जरुरी छैन । किसान धैर्य हुन आवश्यक छ । भिœयाउन लागेको बेलाको धानमा क्षति हुँदा किसानले ठूलो घाटा बेहोरेका छन् । तीनै तहका सरकार विषयगत कार्यालयले आवश्यक राहत उपलब्ध गराउन जरुरी छ ।
कृषि कार्यालयको तर्फबाट राहत योजना बनाएर प्रदेश सरकारलाई पठाउँछौं । जुम्लाको यकिन विवरण आइसकेपछि बीउ राहत उपलब्ध गराउन विशेष योजना बनाएर पठाउँछौं भने अन्य निकायले पनि विशेष राहत प्याकेज बनाएर कार्यान्वयनमा ल्याउन जरुरी छ ।
जुम्ली मार्सीको पहिचान जोगाउन, उत्पादन वृद्धि गर्न र किसानको जीवनस्तर उकास्न विशेष खालको राहत प्याकेज र स्थानीय तहमा ठोस कृषि नीति बनाउन आवश्यक छ । प्रकृतिले पनि किसानलाई बर्सेनि पीडा दिने, क्षति गर्ने भएकाले राहत उपलब्ध गराउने ठोस कृषि नीति बनाएपछि भविष्यमा सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्