Logo

दसैं र अर्थराजनीति

हाम्रो देश नेपाल १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरू रहेको देश हो । यसरी हेर्दा दसैं नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो, किटेर यसै भन्न नसकिने भएको छ, किनभने कोही दसैं चाडलाई हिन्दूहरूको मात्रै चाड हो भन्छन् । कोही–कोही वास्तवमा दसैं हिन्दूहरूको चाड पनि होइन भन्छन् । लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैं–तिहार हिन्दूहरूको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख नै लेखेका थिए । उता १२ असोज २०७६ मा पनि एक दैनिक पत्रिकामा डा. मदन रिमालले ‘हिन्दूको मात्रै होइन दसैं’ शीर्षकमा अर्को लेख लेखेका थिए, जसको आशय दसैं सबै नेपालीहरूको चाड हो भन्ने थियो । त्यस्तै एक जना राई सरले चाहिँ दसैं किराती राईहरूको चाड भनी एक अनलाइनमा ‘अन्टसन्ट’ खाले (खासै तथ्य, तर्क र प्रमाणबिना नै लेखेका) लेख लेखेका थिए । यसरी हाल आएर दसैं चाडबारे नेपालमा खुबै बहस र छलफल भइरहेको छ । दसैं कसको हो, कसको होइन भन्ने सम्बन्धमा ठूलै गलफत्ती भइरहेको छ, सम्भवतः भविष्यमा पनि यसबारेमा गलफत्ती भइ नै रहनेछ ।
तथ्य, प्रमाण, उदाहरण, परम्परा आदि हेर्दा दसैं भनेको बिना कुनै धकचक हिन्दू धर्मावलम्बीहरूको महान् चाड हो भन्न सकिन्छ । जस्तै आर्य÷खस समूहका मान्छेहरू (खासगरी बाहुन, क्षत्री, ठकुरी, दशनामी, शाह, राणा, हमाल, राणाभाट आदि) ले दशमीको दिन रातो रंगले मुछेको चामलको टीका लगाउँछन् भने उनीहरू दशमीलाई विजयादशमी भन्छन् । जो आदिवासी जनजातिहरूले बाध्यताले वा रहरले दसैं मनाउँथे÷मनाउँछन् । तर, उनीहरूले बाहुन–क्षत्रीले जस्तो रातो टीका नलगाई दहीले मुछेको सेतो टीको लगाउने गर्छन् । अझ नेपालका कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातजातिले त विगतदेखि नै दसैं मनाउँदैनथे । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । अर्थात् आर्य÷खसहरूले रातो माटो (रंग) ले घर लिपपोत गर्छन् भने आदिवासी जनजातिहरू सेतो माटो (कमेरो माटो) ले घर लिपपोत गर्छन् । त्यति मात्रै होइन, हिन्दूहरूले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा मुख्य दसैं मान्ने गरिन्थ्यो भन्ने भनाइ पनि बलियो गरी गढेको छ । किनभने चैत महिनामा सो दसैं मान्ने गरिन्थ्यो । अहिले पनि सो तिथिलाई चैते दसैं नै भन्ने गरिन्छ ।
त्यस्तै दसैं आर्य खस वा बाहुन क्षत्रीहरूले मनाउने चाड हो कि आदिवासी जनजातिलगायत सबै नेपालीहरूले मनाउने चाड हो ? भनी बेजोडले बहस र छलफल चल्दै गरेको त माथि नै उल्लेख भएको छ । तर पनि दसैं कसरी सबै नेपालीको चाड हुन सक्ला ? किनभने यहाँ इस्लाम धर्मावलम्बीहरूको पनि बसोबास छ । किरात धर्मावलम्बीहरूको पनि बसोबास छ । बौद्ध धर्मावलम्बीहरूको पनि बसोबास रहेको छ । क्रिस्चियन धर्मावलम्बीहरू पनि छन् । अझ बौद्ध धर्मावलम्बीहरू त काटमार नै गर्दैनन् भने किरात धर्मावलम्बीहरू आफ्ना पिता–पुर्खालाई ‘गाई–गोरु’को मासु चढाउँछन् । नेपालका कतिपय जाति त प्रकृति पूजक पनि छन् ।
जसले जे भने तापनि दसैं चाडको अवसरमा दसैं आसपासको तीन महिनामा मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको ४२ देखि ४५ प्रतिशत (लगभग आधा) रकमबराबरको व्यापार हुने गरेको भनी यसै ‘कारोबार दैनिक’मा दुई वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दसैं केवल एक शुद्घ रूपको चाड वा पर्व मात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार’ पनि हो भन्नुपर्ने हुन्छ । किनकि यसले छोटो समयमा अर्थतन्त्र चलायमान हुने अर्थ–राजनीतिका रूपमा पनि प्रयोग हुने गरेको छ भन्दा कसैले विमति नराख्लान् कि ?

प्रतिक्रिया दिनुहोस्