बाजुराका नौ स्थानीय तहका उपप्रमुखको सेवा सुविधा ३८ लाख

बाजुराका स्थानीय तहका उपप्रमुखको सेवा सुविधावापतको रकम वार्षिक ३७ लाख ९७ हजार बढी पुग्ने गरेको छ । बाजुराका नौवटा स्थानीय तहका उपप्रमुखको विभिन्न सेवा सुविधावापतको वार्षिक रकम ३७ लाख, ९७ हजार ९ सय ५० लिएको पाइएको छ । उपप्रमुखहरूले पालिकाअनुसार फरक फरक सेवा सुविधा लिएको पाइएको छ । कानुनले विभिन्न मापदण्ड तोकेर सेवा सुविधा वितरण गर्ने भने पनि बाजुरामा पालिकाबाट फरक फरक तरिकाले रकम बुझिलिएको पाइएको हो ।
नेपालको संविधानको धारा २७७ मा गाउँ तथा नगरसभा सदस्यहरूले पाउने सेवा सुविधा सम्बन्धमा प्रदेश कानुनले तोकेको छ । तर बाजुराका नौवटै स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखहरूको सेवा सुविधाको खर्चमा एक रूपता नदेखिएको पाइएको छ । प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधनसहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुविधा सम्बन्धमा महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदनको आधारमा बाजुराका नौ स्थानीय तहका उपप्रमुखहरूको सेवा सुविधामा एकरूपता नदेखिएको पाइएको छ । सेवा सुविधा बुझ्ने सबैभन्दा बढी बूढीगंगा नगरपालिकाका नगरप्रमुख तारा खातीले पाँच लाख ५९ हजार लिएका छन् ।
बूढीगंगा नगरपालिका
बूढीगंगा नगरपालिकाका उप प्रमुख तारा खाती थापाको नाममा बैठक भत्ता एक हजार दुई सय, यातायात खर्चमा एक लाख २० हजार, टेलिफोन मोबाइल खर्च ७२ हजार रकम लिएको पाइएको छ । त्यस्तै पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण एक लाख आठ हजार, अतिथि सत्कार एक लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाइ ४२ हजार र चाडपर्व खर्च २५ हजार गरी जम्मा पाँच लाख ५९ हजार सेवासुविधा लिएको देखिएको छ ।
बडिमालिका नगरपालिका
बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टको नाममा बैठक भत्ता १२ हजार, यातायात खर्च एक लाख २० हजार, टेलिफोन मोबाइल ७२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार रकम लिएको पाइएको छ । त्यस्तै समन्वय तथा सहजीकरण एक लाख ८ हजार, अतिथि सत्कार एक लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाइ ४२ हजार चाडपर्व खर्च २५ हजार गरी पाँच लाख ४७ हजार लिएको जनाएको छ ।
बूढीनन्दा नगरपालिका
बूढीनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मीको नाममा बैठक भत्ता १५ हजार, यातायात खर्च भने लिएकी छैनन् । टेलिफोन, मोबाइल खर्च ७२ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण एक लाख आठ हजार, अतिथि सत्कार एक लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाइ ४२ हजार र चाडपर्व तथा अन्य खर्च २५ हजार गरी जम्मा चार लाख २७ हजार सेवा सुविधा लिएको देखाएको छ ।
त्रिवेणी नगरपालिका
त्रिवेणी नगरपालिका उपप्रमुख राधिका सुनारको नाममा बैठक भत्ता १४ हजार ४ सय ५०, यातायात खर्च भने लिएकी छैनन । टेलिफोन मोबाइल खर्च ५४ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार, समन्वय तथा सहजीकरण ८१ हजार, अतिथि सत्कार ९० हजार, खानेपानी बिजुली तथा सरसफाइ ३१ हजार पाँच सय र चाडपर्व खर्च २५ हजार गरी जम्मा तीन लाख ४० हजार ९ सय ५० लिएको पाइएको छ ।
खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष कुन्ती बुढाको नाममा बैठक भत्ता १८ हजार, यातायात खर्च ८१ हजार, टेलिफोन, मोबाइल खर्च ४५ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार लिएकी छन् । समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ८१ हजार, खानेपानी बिजुली तथा सरसफाइ २७ हजार र चाडपर्व खर्च २२ हजार पाँच गरी जम्मा तीन लाख ७८ हजार लिएकीे छन् ।
हिमाली गाउँपालिका
हिमाली गाउँपालिका उपाध्यक्ष चन्द्रकला बुढाका नाममा बैठक भत्ता ३० हजार, यातायात खर्च भने लिएकी छैनन । टेलिफोन, मोबाइल खर्च ३५ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ३१ हजार पाँच सय, समन्वय तथा सहजीकरण ४९ हजार, अतिथि सत्कार ६३ हजार, खानेपानी बिजुली तथा सरसफाइ २१ हजार र चाडपर्व खर्च २२ हजार पाँच गरी जम्मा दुई लाख ५२ हजार सेवासुविधा लिएको देखिएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका
स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष मिमा बुढाको नाममा बैठक भत्ता ३७ हजार, यातायात खर्च ८१ हजार रहेको छ । टेलिफोन, मोबाइल खर्च ४५ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४० हजार पाँच सय, समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ८१ हजार, खानेपानी बिजुली तथा सरसफाइ २७ हजार र चाडपर्व खर्च ५० हजार ९ सय ५० गरी जम्मा ३ लाख ९७ हजार सेवासुविधा लिएको जनाएको छ ।
जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका उपाध्यक्ष ऐना गिरिको नाममा बैठक भत्ता तीन हजार, यातायात खर्च नौ हजार लिएको देखिएको छ । टेलिफोन, मोबाइल खर्च पाँच हजार पुस्तक पत्रपत्रिका इन्टरनेट चार हजार पाँच सय, समन्वय तथा सहजीकरण सात हजार, अतिथि सत्कार नौ हजार, खानेपानी बिजुली तथा सरसफाइ तीन हजार चाडपर्व खर्च, १२ महिनाको अन्य खर्च तीन लाख ७८ हजार र २२ हजार पाँच सय गरी जम्मा चार लाख पाँच हजार सेवासुविधा लिएको देखाएको छ ।
गौमुल गाउँपालिका
गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाको नाममा बैठक भत्ता २४ हजार, यातायात खर्च एक लाख आठ हजार रहेको छ । टेलिफोन, मोबाइल खर्च ६० हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ५४ हजार, समन्वय तथा सहजीकरण ८४ हजार, अतिथि सत्कार एक लाख आठ हजार रहेको छ । त्यस्तै खानेपानी बिजुली तथा सरसफाइ ३६ हजार र चाडपर्व खर्च २२ हजार पाँच गरी जम्मा चार लाख ९६ हजार पाँच सय सेवासुविधा लिएको देखिएको छ ।
जीवन कैला