समग्र बैंकिङ क्षेत्रको आरओई घट्दै गइरहेको अवस्था छ «

समग्र बैंकिङ क्षेत्रको आरओई घट्दै गइरहेको अवस्था छ

करिब तीन दशक लामो बैंकिङ अनुभव भएका सुनिल केसी एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । बैकिङ क्षेत्रमा राम्रो विश्लेषण गर्न सक्ने व्यक्तिका रूपमा चिनिएका केसी तत्कालीन ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) का उत्पादन हुन् । कोरोना महामारीबाट बैंकहरूले धेरै कुरा सिकेको बताउने केसी बैंकहरूको समग्र मुख्य व्यापारमूलक आयमा कोरोनाका कारण हाल निकै ह्रास आएको बताउँछन् । कोरोनाका कारण डिजिटल बैंकिङतर्फ गइरहेका वित्तीय प्रणाली फेरि सुस्ताउन लागेको हो कि भन्ने शंका नगर्न अनुरोध गर्दै उनले प्रविधि र डिजिटाइजेसनले बैंकहरूलाई आफ्ना ग्राहकका लागि उत्तम सेवा तथा सुविधा प्रदान गर्न सक्षम बनाएको बताए । कारोबारले केसीसँंग गरेको संवादको सारसंक्षेप :

कोरोनाको संकटमा पनि नेपालका बैंकहरूको नाफामा उल्लेख्य प्रभाव परेन, बैंकहरू अल्पकालीन रूपमा जस्तो अवस्थामा पनि नाफा मात्रै कमाउँछन् भन्ने आरोप पनि छ । के साँच्चिकै बैंकहरू अर्थतन्त्र तथा बजारभन्दा टाढा र फरक छन् र ?
बैंकहरू कहिले पनि अर्थतन्त्र तथा बजारभन्दा टाढा रहेर कुनै कार्य गर्न सक्दैनन् । कोरोनाको संकटमा पनि बैंकहरूले नाफा मात्रै कमाए भन्ने साधारण जनताको बुझाइ होला र अहिलेको वित्तीय अवस्था हेर्दा निश्चित रूपमा पनि बैंकहरूको व्यवसायमा उल्लेखनीय वृद्धि देख्न सकिएला, तर यसको बाबजुद बैंकहरूको समग्र मुख्य व्यापारमूलक आयमा भने निकै ह्रास आएको छ । बैंकहरूले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणलाई विश्लेषण गर्ने हो भने केही बैंकहरूको नाफा वृद्धिमा सेयर लगानीको बिक्री आदिजस्ता गैरव्यापार गतिविधिहरूको योगदान प्रस्ट रूपमा पनि देख्न सकिन्छ ।
विगत १० वर्षको तथ्यांक हेर्ने हो भने समग्र बैंकिङ क्षेत्रको ‘रिटर्न अन इक्विटी’ (आरओई) घट्दै गइरहेको अवस्था छ भने गत वर्षको औसत आरओई पनि झन्डै ११ प्रतिशत मात्रै रहेको छ, जुन अन्य स्थानीय उद्योग–व्यवसायहरूसँग तुलना गर्दा अपेक्षाकृत रूपमा कम हो । अघिल्लो आवमा समग्र बैंकहरूको औसत कर्जा ब्याजदर लगभग २ प्रतिशतले घटेको छ भने स्प्रेडमा पनि एक प्रतिशतभन्दा बढीले कमी आएको छ । त्यसैले बैंकले नाफा केन्द्रित भएर अर्थतन्त्रबाट अलग भएर काम गरिरहेको भन्ने आरोप निराधार छ जस्तो लाग्छ ।

पछिल्लो समय फेरि बैंकहरूमा शाखा खोल्ने होडबाजी छ । अझै बैंकहरू डिजिटल बैंकिङमा जान हिचकिचाएका हुन् ? कोरोनाका कारण डिजिटल बैंकिङतर्फ गइरहेका वित्तीय प्रणाली फेरि सुस्ताउन लागेको हो ?
संघीय संरचनामा देशको आर्थिक गतिविधि विस्तारै विकेन्द्रिकृत भइरहेको छ । संघीय संरचनाले गर्दा प्रादेशिक तथा स्थानीयस्तरमा नयाँ आर्थिक बजार तथा सहरहरू पनि उदाइरहेका छन्, जसले बैंकहरूलाई नयाँ व्यवसाय विस्तारका अवसरहरू पनि प्रदान गरिरहेको छ । मध्यमवर्गीय जनसंख्या पनि यस अवधिमा बढ्दै गइरहेको छ । यसै अवसरलाई आत्मसात् गर्न र बजारको आवश्यकता पूर्ति गर्न बैंकहरूले नयाँ शाखाहरू खोलिरहेका छन् ।
कोरोनाका कारण डिजिटल बैंकिङतर्फ गइरहेका वित्तीय प्रणाली फेरि सुस्ताउन लागेको पटक्कै होइन । एनएमबि डिजिटलीकरणमा अग्रणी बैंकहरूमध्ये एक हो । हामीले ओम्नी च्यानल, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित कर्जा, डिजी लोन आदिजस्ता विभिन्न डिजिटल अभियानहरूमा ठूलो लगानी गरेका छौं ।
प्रविधि र डिजिटाइजेसनले बैंकहरूलाई आफ्ना ग्राहकहरूका लागि उत्तम सेवा तथा सुविधाहरू प्रदान गर्न सक्षम बनाउन निकै नै महŒवपूर्ण भूमिका खेलेका छन् । तैपनि यसको केन्द्रबिन्दुमा भने ग्राहक नै हुने गर्छन् । त्यसैले आफ्ना ग्राहकहरूलाई चिन्नु, उनीहरूका आवश्यकताहरू बुझ्नु, उनीहरूका अप्ठ्याराहरूको बारेमा सचेत हुनु अझै पनि प्रासंगिक छन् र जसका लागि भौतिक शाखाहरू पनि सान्दर्भिक रहनेछन् ।

के शाखा बढ्दा मात्र वित्तीय पहुँच बढ्ने हो र ?
ग्रामीण बजारहरूको प्रवेशका लागि बैंकहरूलाई अझै पनि भौतिक शाखाहरूमै निर्भर हुनुपर्ने बाध्यता छ भने त्यस क्षेत्रका जनतालाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न-गराउन अझै केही समय लाग्छ भन्ने हाम्रो बुझाइ हो ।
हाल नेपालमा लगभग ६५ प्रतिशत जनसंख्यामा वित्त पहुँच रहेको अनुमान गरिएको छ । यसको अर्थ अझै पनि ३५ प्रतिशत जनसंख्या बैंकिङ सेवा–सुविधाहरूबाट वञ्चित छन्, जसलाई बैंकिङ परिधिभित्र समेट्नका लागि डिजिटल च्यानलहरूका साथै भौतिक शाखा सञ्जालको पनि एकदमै ठूलो आवश्यकता रहेको छ ।
साथै, हालसम्म गरिएका विभिन्न अध्ययन, सर्भेहरूका आधारमा ठूलो संख्यामा ग्राहकहरू अझै पनि आफ्नो दैनिक बैंकिङ कारोबारका लागि भौतिक शाखाहरूलाई नै प्राथमिकता दिने गर्छन् ।

नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने भन्छ, तर पछिल्लो समय मर्जर नीति बैंकहरूले कर छुट लिन मात्र प्रयोग गरे भन्ने आरोप पनि महालेखाले उठायो, यसमा के समस्या भएको हो ?
करको विषयमा मर्जरका लागि दिइएको एकमात्र लाभ भनेको मर्जरपछि दुई वर्षका लागि लाभांश करमा सुविधा हो । यसअतिरिक्त मर्जर वा अधिग्रहणमा करसँग सम्बन्धित कुनै अन्य लाभ छैन । बैंकहरू एनएफआरएस र कर गणनाका लागि केन्द्रीय बैंकको दिशानिर्देशहरूलाई कडाइका साथ पालना गरिरहेका छन् । मर्जर हुँदा सेयरको हस्तान्तरण र रिजर्भको निर्माण मात्र हुने हुँदा यसमा कुनै किसिमको कर दायित्वको सिर्जना नहुनुपर्ने हो ।

एनएमबि बैंकको मर्जरका योजना के छन् ?
पछिल्लो पाँच वर्षमा मात्रै एनएमबि बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई अधिग्रहण गरी सबैलाई सफलतापूर्वक मर्जर गरेको छ । मर्जरका लागि हामी अझै पनि बजार कसरी विकसित भइरहेको छ र त्यहाँ केकस्ता अवसरहरू प्राप्त हुनेछन् भनी नजिकबाटै नियालिरहेका छौं ।

कोरोना महामारीबाट बैंकहरूले के सिके ?
विगतको विनाशकारी भूकम्प, नाकाबन्दी आदि संकटहरूमा जस्तै नेपाली बैंकिङ क्षेत्रले यसपालि पनि नेपाल राष्ट्र बैंकको सहयोगमा उत्कृष्ट तरिकाले कोरोना महामारीको प्रबन्ध गरी समग्र अर्थतन्त्रलाई पुनरुत्थानको मार्गमा छिटो फर्काउन विशेष योगदान गरेको छ ।
यसका बाबजुद कोरोना महामारीबाट बैंकहरूले धेरै कुरा सिकेका पनि छन् भन्ने मलाई लाग्छ । झट्टै भन्नुपर्दा अहिलेको अवस्थामा बैंकहरूले प्रभावकारी व्यवसाय निरन्तर योजनाको महत्व, निर्बाध सेवाहरू सुनिश्चित गर्न वैकल्पिक डिजिटल च्यानलहरूको भूमिका, बलियो जोखिम व्यवस्थापन प्रणालीको आवश्यकता, युक्तिसंगत लागतको अवधारणा, साझा सञ्जालको फाइदा, ‘कन्सोलिडेसन’, अनिश्चितताका लागि पूर्वतयारीका साथै दीर्घकालीन परिपे्रक्ष्यका लागि दिगो बैंकिङ तथा मूल्यमान्यतामा आधारित बैंकिङ सिद्धान्तहरूको महत्व का बारेमा सिक्ने मौका पाएजस्तो मलाई लाग्छ ।

कोरोना महामारीपछि एनएमबि बैंकको व्यवसायमा कस्तो परिवर्तन आयो ?
कोरोना महामारीपछि एनएमबि बैंक आफ्नो व्यवसायमा अझ बढी केन्द्रित रही फरक दृष्टिकोणका साथ अघि बढिरहेको छ । बैंकले महामारीपश्चात् डिजिटाइजेसनमा लगानी बढाउनुका साथै नयाँ डिजिटल सेवासुविधाहरू जस्तै आर्टिफिसियल इन्टिलिजेन्समा आधारित कर्जा, डिजिटल माध्यमबाट ग्राहकहरूको अनबोर्डिङ तथा ओम्नी च्यानलको विकास पनि गरिसकेको छ । यस अवधिमा बैंकले खुद्रा निक्षेपकर्ताहरूबाट पनि राम्रो समर्थनका साथै अधिक विश्वास पाएको छ, जसस्वरूप बैंकको बचत निक्षेपमा उल्लेखनीय वृद्धि भएको छ । बैंकले वान–टु–वाच तथा अन्य संस्थाहरूसँग साझेदारी गरी साना व्यवसायको पुनरुद्धारमा समेत विशेष योगदान गरेको छ । यस दौरान एनएमबि बैंक अझ बढी बलियो, अझ बढी जिम्मेवार एवं उत्तरदायी पनि भएको छ, जसले आफ्नो प्रत्येक क्रियाकलापहरूमा आत्मनिर्भर नेपालको अभिभारालाई निर्वाह गर्दै देशको युगान्तकारी परिवर्तनका लागि प्रत्येक क्षेत्रमा अन्तर्निहित अनन्त सम्भावनाहरूमा लगानीको स्रोत जुटाउन तत्पर भएर आएको छ ।

एकातिर विकास बैंकहरू पनि आक्रामक ढंगले व्यवसाय विस्तारमा लागेका छन् भने अर्कातिर वाणिज्य बैंकहरूमा पनि प्रतिस्पर्धा बढ्दो छ, यसले बजारमा कर्जा लिनेलाई वा निक्षेपकर्ता कसलाई फाइदा हुन्छ ?
कर्जा र निक्षेप दुवैको ब्याजदरहरू तरलता, मुद्रास्फीति दर, शोधनान्तर स्थिति, आर्थिक गतिविधि आदिद्वारा निर्धारित हुन्छ र यो चक्रीय प्रणालीमा चलिरहेको हुन्छ । समग्र स्वस्थ प्रतिस्पर्धाले निक्षेपकर्ता तथा ऋणीहरूसहित सबै सरोकारवालालाई दीर्घकालीन फाइदा हुन्छ ।

मौद्रिक नीतिले गत आर्थिक वर्षको सुविधाभन्दा कम सुविधा दियो भन्ने व्यवसायीको गुनासो छ, बैंकको दृष्टिकोणबाट हेर्दा गत आवमा भन्दा चालू आवको मौद्रिक नीतिले बैंकहरूलाई सहजीकरण ग¥यो कि अप्ठ्यारो पा-यो ?
विषम परिस्थितिमा जारी गरिएको अघिल्लो वर्षको मौद्रिक नीतिका उद्देश्यहरू बजारमा पर्याप्त तरलता सुनिश्चित गरी सन्तुलन कायम राख्नु, औद्योगिक र व्यापारिक पुनरुत्थानका लागि उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नु थियो । फलस्वरूप कर्जाको ब्याजदर पनि केही घटेको थियो र सम्पूर्ण प्रभावित क्षेत्रहरूलाई पुनर्वित्तको सुविधा पनि प्रदान गरिएको थियो ।
यस वर्षको मौद्रिक नीति जोखिम व्यवस्थापन, पर्यटन, यातायात आदिजस्ता अत्यन्तै प्रभावित क्षेत्रहरूमा गरिएको पुनर्वित्त सुविधाको निरन्तरता आदिमा केन्द्रित छ । दुवै नीतिहरू असामान्य परिस्थितिहरूमा जारी गरिएको हुँदा हामीले यसलाई भिन्दाभिन्दै दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

हाल बैंकहरूमा तरलता अभाव देखिएर ब्याजदर बढ्न थालेको छ । यसमा मौद्रिक नीतिको असर कति हो ?
हामीले एनएमबिमा केही महिनाअघि नै तरलताको वर्तमान स्थितिको अनुमान लगाइसकेका थियौं । कारण के भने केही महिना अगाडिदेखि बृहत् अर्थतन्त्रस्तरमै प्रणालीमा तरलता दबाब तथा संकटका स्पष्ट संकेतहरू देखिन थालिसकेको थियो ।
हालको तरलता अवस्थामा निम्न कारकहरूलाई श्रेय दिन सकिन्छ :
आयातमा उल्लेख्य वृद्धि : पछिल्लो केही महिनाहरूको तथ्यांकले आयातमा ७० प्रतिशतभन्दा बढी वृद्धि र ऐतिहासिक रूपमा पछिल्लो पाँच वर्षकै उच्चतम वृद्धि देखाउँछ ।
कर्जाको उच्च माग : व्यावसायिक गतिविधिहरू सामान्य स्थितिमा फर्किरहेको अवस्थामा पनि कर्जाको माग उच्च रूपमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा भएको कर्जाको कुल वृद्धि पछिल्लो १० वर्षमा नै सबैभन्दा उच्च हो ।
विप्रेषण आप्रवाहमा कमी : विदेशबाट नेपाल आउने विप्रेषण आप्रवाहमा पनि कमी आउन थालेको छ । केन्द्रीय बैंकले जारी गरेको यस आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकअनुसार विप्रेषण आप्रवाहमा १८.१ प्रतिशतले कमी आएको देखिएको छ ।
सेवा आयमा कमी : पर्यटनसम्बन्धी गतिविधिहरूमा समग्र गिरावटका कारण सेवा आय प्रवाहमा उल्लेखनीय गिरावट देखिएको छ । चालू आवको पहिलो महिना खुद सेवा आय १० अर्ब १२ करोडले घाटामा रहेको देखिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा उक्त आय तीन अर्ब आठ करोडले मात्र घाटामा रहेको थियो ।
बजेट कार्यान्वयनमा ढिलाइ : वर्तमान राजनीतिक अवस्थाका कारण बजेट कार्यान्वयनमा केही ढिलाइ हुन गएको देखिएको छ । स्थानीय तहको सरकारलाई बजेट हस्तान्तरण गर्न ढिलाइ हुँदा यसले पनि तरलता अवस्थालाई दबाब दिएको देखिन्छ ।

तरलता अभावमा अघिल्लो आवमा बैंकहरूले दु्रत रूपमा गरेको कर्जा विस्तारको असर कति हो ? अघिल्लो आवको आक्रामक कर्जा विस्तारले कति प्रभाव पारेको छ ?
माथि उल्लेख गरेअनुसार तरलता संकटका लागि थुप्रै कारकहरू रहेका छन्, जसमध्ये विगतका केही महिनाहरूमा देखिएको कर्जाको उच्च माग पनि एक कारक हुन सक्छ ।
अघिल्लो आवमा आठ सय अर्बभन्दा बढी भएको कर्जा वृद्धि उच्च भए तापनि कोभिड–१९ ले गम्भीर प्रभाव पारी थलिएका व्यवसायहरूको पुनरुद्धारमा यसको उत्प्रेरक भूमिका रहेको छ ।

मौद्रिक नीतिले कर्जा–निक्षेप अनुपात परिवर्तन नगर्दा पनि अघिल्ला आवहरूमा हरेक वर्षजस्तै तरलता संकुचन हुन्थ्यो नि ? यसपटक फरक के हो र ?
अघिल्ला आवहरूमा कोभिड–१९ का कारण तुलनात्मक रूपमा कम कर्जा माग भएको थियो भने आयातमा कमी भएका कारण शोधनान्तर स्थिति पनि सकारात्मक रहेको थियो । हाल कर्जा निक्षेप अनुपात गणना पद्धतिमा गरिएको परिवर्तनले मात्र समग्र तरलतामा कुनै असर पर्दैन, किनकि यसले प्रणालीमा उपलब्ध कुल कोषमा कुनै परिवर्तन ल्याउँदैन । यसले ल्याउने परिवर्तन भनेको कोषको लगानीका लागि उपलब्ध कोष र कर्जा वितरणका लागि उपलब्ध कोषको वर्गीकरण मात्र हो ।

एनएमबि बैंकलाई कोरोनाका कारण कत्तिको असर प-यो ? कोरोनाका कारण गत आवमा गर्न नसकेको तर चालू आवमा गर्ने केही योजना छ ?
एनएमबि पनि अर्थतन्त्र प्रणालीको एक हिस्सा हो । कोभिड–१९ महामारीले पर्यटन, यातायात आदिजस्ता व्यवसायहरूमा परेको मन्दीको प्रभाव, भौतिक सेवामा बारम्बार पु-याएको अवरोध, कर्मचारीको स्वास्थ्य तथा सुरक्षामा अपनाउनुपर्ने मापदण्डहरूमा वृद्धि, ग्राहक तथा कर्मचारीहरूमाझ कम अन्तरक्रिया तथा क्रियाकलापहरूमा कम संलग्नता, सेवा गुणस्तरमा ह्रास, खराब कर्जामा वृद्घि इत्यादि कारणहरूले बैंकको समग्र वित्तीय प्रदर्शनमा असर पुगेको छ ।
कोरोनाका कारण गत आवमा गर्न नसकेको तर चालू आवमा गर्ने योजनाका बारेमा भन्नुपर्दा हामीले उदीयमान बजारमा शाखा विस्तार तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिहरूमा वृद्धि गर्दै लाने र नयाँ प्रविधि तथा डिजिटाइजेसनमा अझ लगानी विस्तार गरेर लाने जस्ता दूरगामी योजनाहरू रहेका छन् ।

एनएमबि बैंकको हालको वित्तीय अवस्था कस्तो छ ?
एनएमबि बैंक सम्भवतः नेपालमा यस्तो एक मात्र बैंक हो, जुन वर्षौंदेखि व्यवसाय विस्तारका साथसाथै दिगो वृद्धिलाई समेत अँगाली अघि बढिरहेको छ । पर्यावरण र सामाजिक जोखिम, जलवायु परिवर्तन, हरित वित्तपोषण, आदिहरूमा हाम्रो पहल निरन्तर रूपमा जारी नै रहेको छ । एनएमबि बैंक नेपालमा उर्जा बन्ड जारी गर्ने पहिलो तथा एकमात्र बैंक पनि हो । यस बैंकलाई दि फाइनान्सियल टाइम्स लन्डनले सन् २०१७, २०१८ र २०२० का लागि बैंक अफ दि इयरको रूपमा सम्मान गरिसकेको छ । साथै, यस बैंकलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स म्यागेजिनले सन् २०२१ का लागि ग्रिन डिल अफ दि इयरको रूपमा पनि सम्मान गरेको छ । एनएमबि बैंकलाई प्रदान गरिएका यस्ता अन्तर्राष्ट्रियस्तरका सम्मानहरूले हाम्रो बैंकको उचाइ बढाउन मात्र नभई समस्त नेपाली बैंकिङ क्षेत्रकै कद बढाउन तथा दिगो बैंकिङमा नेपालको भूमिकालाई पनि विश्व समुदायमाझ चिनाउन सफल भएको छ ।
हामीले उठाएको दिगो वृद्धिको नारालाई अहिले अन्य बैंकहरूले पनि पछ्याइरहेको देख्दा हामीलाई बडो गौरव महसुस हुन्छ । मूल्यमान्यतामा आधारित बैंकिङ हाम्रो व्यवसायको मूल नीति हो र यसैलाई अंगीकार गरी हामी हाम्रो आर्थिक तथा सामाजिक गन्तव्य तय गर्ने गर्छौं । आफ्नो नाफामा संकुचन आए तापनि बैंकले कोभिड–१९ का कारण प्रभावित व्यवसाय तथा व्यक्तिगत ऋणीहरूलाई ब्याजमा राहत दिनुका साथै कर्जालाई सरल भुक्तानीका लागि पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा प्रदान गरेको छ ।
बैंकले गत आवमा २.७३ अर्ब नाफा गरेको छ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३३ करोड छ भने यसको वासलातको आकार २ सय ३२ अर्बको रहेको छ । आ.व २०७६-०७७ मा बैंकको निक्षेप ३२ अर्बले बढी १ सय ६६ अर्ब कायम रहेको छ भने सोही अवधिमा कर्जा ३६ अर्बले विस्तार भई १ सय ५८ अर्ब कायम भएको छ । बैंकले हाल डिजिटल माध्यमहरूका साथै १ सय ८१ शाखा, ३६ शाखारहित बैंकिङ सञ्जाल तथा १ सय ३८ एटीएमहरूबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवासुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्