ट्रम्प मानसिक र शारीरिक रूपमा तन्दुरुस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मानसिक र शारीरिक रूपमा स्वस्थ भएको ह्वाइट हाउसका आधिकारिक चिकित्सकले बताएका छन् । मंगलबार ह्वाइट हाउसका रोनी ज्याक्सनले ट्रम्पको मानसिक तथा न्युरोलोजिकलको विषयलाई लिएर कुनै चिन्ता नभएको बताएका थिए । गत साता ३ घण्टासम्म ट्रम्पको परीक्षण चलेको थियो । अमेरिकी राष्ट्रपति भएपछि यो उनको पहिलो परीक्षण थियो ।
केही दिनअगाडि सार्वजनिक भएको विवादास्पद पुस्तकमा राष्ट्रपतिको मानसिक अवस्थाबारे प्रश्न उठाइएको थियो । मंगलबार ह्वाइट हाउसका चिकित्सक ज्याक्सनले राष्ट्रपतिको स्वास्थ्य बिल्कुल दुरुस्त भएको बताएका थिए ।
उनले भने, “सबै कुराले यसतर्फ इसारा गरेको छ कि राष्ट्रपतिको स्वास्थ्य बिल्कुल ठीक छ । यो उनको कार्यकालसम्म राम्रो रहिरहनेछ ।” चिकित्सकले कम बोसो भएको भोजन तथा व्यायामको सुझाव दिएका छन् ।
शुक्रबार भएको तीन घण्टा लामो परीक्षणपछि राष्ट्रपति ट्रम्प आशातीत रूपमै दुरुस्त पाइएको हो । ‘फायर एन्ड फ्युरी: इनसाइड द ट्रम्प ह्वाइट हाउस’ का लेखक मिखाइल वाल्फले ह्वाइट हाउसका सबै सहयोगीले ट्रम्पलाई बालकजस्तै देख्ने गरेको बताएका थिए ।