छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा ११ सय बढी लाभान्वित «

छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा ११ सय बढी लाभान्वित


कर्णाली प्रदेशमा सञ्चालन भएको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट हालसम्म एक हजार एक सयभन्दा बढीले छात्रवृत्ति पाएका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरेको उक्त कार्यक्रमबाट १० जिल्लाका एक हजार १५२ जना लाभान्वित भएका हुन् । साामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय तथा यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ ।
कार्यक्रममार्फत कर्णाली प्रदेशका छोरी तथा बुहारीहरू प्राविधिक शिक्षातर्फ आकर्षित भएको शिक्षा विकास निर्देशनालयका निर्देशक निर्देशक दीपा हमालले जानकारी दिइन् । उनका अनुसार छात्रवृत्तिका लागि छनोट भएकालाई अध्ययन अवधिभर एक पटकमा एक लाख रुपैयाँ दिइन्छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको कार्यक्रमलाई प्रदेश सरकारले यो वर्ष पनि निरन्तर गर्ने जनाएको छ । निर्देशनालयले प्राविधिकतर्फ विभिन्न विषयमा आवेदन माग गरी त्यसको आधारमा छात्रवृत्ति वितरण गर्ने गरेको छ । निर्देशक हमालले यो वर्ष पनि कात्तिक महिनाभित्र सूचना आह्वान गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
छोरी–बुहारी छात्रवृत्ति, प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा सहिद भएका सन्ततिका लागि छात्रवृत्तिका कार्यक्रमहरू ल्याएको निर्देशक हमालको भनाइ छ । प्राविधिक शिक्षामा महिलाको पहुँच बढाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ । कर्णालीका छोरी बुहारीहरुलाई प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्य पनि कार्यक्रमको छ । कार्यविधिअनुसार छात्रवृत्ति रकम २४ हजारदेखि एक लाखसम्म दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्