Logo

दसैं लक्षित छुटैछुटको बजार

दसैं भन्नासाथ हर्ष र खुसीको चाड हो । वर्षको एकपटक आउने यो महान् चाडका अवसरमा अहिले हरेक व्यापारिक प्रतिष्ठानहरूमा मानिसहरूको घुइँचो देख्न सकिन्छ । अहिले नेपालीहरूको महान् चाड बडादसैंको आगमनको समय पनि हो । यही असोज ५ गते मंगलबारबाट सोह्रश्राद्ध सुरु भएको छ । दिवंगत पितृहरूका लागि सोह्रश्राद्धभित्र स्वर्गवासी भएका आफन्तको वियोगको सम्झनामा मानिसहरूले पितृहरूको सम्झनामा तिथिअनुसार मिलाएर पितृको नाममा श्राद्ध गर्ने गर्छन् । यसैको १६ दिनपछि घटस्थापना आउँछ र बडादसैं सुरू हुन्छ । यसैको मौका पारेर धेरै सपिङ मलहरूमा, बजारहरूमा विभिन्न वस्तु तथा सेवाको अत्यधिक बिक्री गर्नका लागि धेरै सामानहरूमा व्यापारीहरूले दसैं लक्षित उपहार तथा छुटहरू दिएका हुन्छन् । यही छुटका लागि सर्वसाधारणहरूले दसैं नै पर्खिरहेका हुन्छन्, किनकि दसैंमा हरेक सामानको खरिदमा छुट पाइन्छ ।
तपाईं–हामी आफैं अनुमान लगाउन सक्छौं कि बजारमा देखिएका हरेक सामान, लत्ताकपडा, ग्याजेट, भाँडाबर्तन, इलेक्ट्रिक सामान, सवारी साधनलगायत धेरै वस्तु तथा सेवाहरूमा यो समयमा व्यवसायीहरूले छुटैछुट तथा उपहारको योजना राखेका हुन्छन् । यसरी उपहार तथा छुट दिनाले केही कम मूल्यमा भन्दा पनि अघिपछिभन्दा केही सस्तो र छुट पाइने हुनाले सर्वसाधारण तथा उपभोक्ताहरू दसैं लक्षित बजारमा आकर्षित हुन्छन् र बजारमा यो समय भीडभाड पनि लाग्ने गर्छ ।
यो समयमा व्यापारीहरूको व्यवसाय पनि फस्टाउँदै जाने देखिन्छ । विशेष गरी सपिङ मलहरूमा दसैं लक्षित यस्ता छुटहरू लेखिएका हुन्छन् । ‘दुइटा किन्दा एउटा सित्तैंमा’, ‘लत्ताकपडाहरूमा ४० प्रतिशत छुट’, ‘पुरानो सामान ल्याउनुहोस् नयाँ लानुहोस्’, ‘पुरानो सवारी साधन ल्याउनुहोस् नयाँ चढेर जानुहोस्’, ‘शून्य प्रतिशत ब्याजदरमा सवारी सााधन चढ्नुहोस्,’ ‘पुरानो मोबाइल ल्याउनुहोस्, नयाँ लानुहोस्’, ‘क्यास छुट’ जस्ता नारा लेखिएका हुन्छन् भने साना सवारी साधनहरू किन्ने कुनै–कुनै ठाउँमा त ‘५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजमा मोटरसाइकल चढ्नुहोस्’ आदि लेखिएका हुन्छन् ।
यसैगरी दसैं लक्षित बैंक–वित्तीय संस्थाहरूले पनि मुद्दती खाता वा बचत खातामा सर्वसाधारणहरूलाई पनि सरल ब्याजदरको सुविधादेखि धितो कर्जा लिँदा पनि सहुलियत ब्याजदर निर्धारण गरेका हुन्छन् भने बिमा गर्ने संस्थानहरूले पनि दसैंको समयमा बिमक तथा बिमा गर्न आउने नयाँ बिमकहरूलाई भारी छुटको योजना राखेका हुन्छन् । त्यति मात्र होइन, विज्ञापन व्यवसायमा उस्तै छुट, खानेकुरा खाने होटल रेस्टुराँमा उस्तै छुट, आन्तरिक पर्यटकका रूपमा घुम्न तथा मनोरञ्जनका लागि जाँदा आकर्षक छुटको प्याकेजलगायत जताततै दसैं लक्षित छुटैछुटको व्यवस्था रहेको हुन्छ ।
हिन्दूहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावली नजिकिँदै गर्दा यति बेला मानिसहरूको चहलपहल हरेक व्यापारिक प्रतिष्ठानहरूमा रहेको हुन्छ । कोरोना भाइरस र लकडाउनले थला परेको मुलुकको अर्थतन्त्र पुनरुत्थानका लागि भए पनि यो दसैंले केही राहत दिने आमव्यवसायीहरू बताउँछन । तर, अझै पनि मुलुक कोरोनाको तेस्रो भेरियन्टसँग जुधिरहेको हुनाले गर्दा बालबालिकाहरू अत्यन्तै जोखिममा रहेका छन् । प्रायः सबै उमेर समूहले कोरोनाविरुद्धको खोप लगाए तापनि बालबालिकाहरूले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । त्यसैले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्थानीय निकायले संयमित भएर दसैंलगायत चाडबाड मनाउन आग्रह गरेको छ भने सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर मानिसहरू बजार, सपिङ मललगायत दैनिक उपभोग्य वस्तुहरू खरिद–बिक्री गर्न जाँदा अनिवार्य मास्क लगाएर जाने, सामाजिक दूरी कायम गर्ने जस्ता कुराहरू अनिवार्य पालना गर्नुपर्ने कुराहरू पनि प्रत्येक दिन बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्