कुहिएको चामल मिसाएको आशंकामा खाद्यको चामल बिक्रीमा रोक

खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा रहेको बास्मती प्रिमियम चामल बिक्री वितरणमा रोक लगाइएको छ ।
कम्पनीको केन्द्रबाट आएको उक्त चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचना पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामल बिक्री वितरण गर्न रोक लगाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापासहितको संयुक्त टोलीले वीरेन्द्रनगर ६ मा रहेको गोदामको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा साउयता काठमाडौंबाट आएको १९ सय ९० क्विन्टल बास्मती चामलमध्ये १५ क्विन्टल बिक्री गरेको र बाँकी १९ सय ७५ क्विन्टल चामल गोदाममै रहेको पाइएको छ ।
कम्पनीको थापाथलीस्थित डिपोमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको ४ सय ८७ मेट्रिकटन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली पठाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको र उक्त चामल खाद्य कम्पनीको थापाथाली गोदाममा छ वा छैन, भनी जानकारी गराउन भन्दै विभागलाई पत्राचार गरिएको डिभिजन प्रमुख थापाले बताए । “कुहिएको चामल सुर्खेत पाठाइएको भन्ने सूचना पाएपछि हामीले खाद्य डिपोको अनुगम गरेका छौं” थापाले भने, “वास्तकिताबारे कम्पनीले जवाफ पठाएपछि वास्तविकता प्रष्ट हुन्छ ।”
यता कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका सूचना अधिकारी वासुदेव रिजाल भने सुर्खेत आएको चामलमा कुनै कम्जोरी नभएको दावी गर्छन् । “साउन र भदौमा त्यो चामल आएको हो” उनले भने, “त्यसमध्ये १५ क्विन्टल बिक्री भइसकेको छ ।”
कर्णालीमा चाडपर्वका बेला सधैं चामल अभाव
कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, जुम्ला, कालिकोट र जाजरकोटलगायतका जिल्लामा हरेक वर्ष चाडपर्वमा खाधान्न अभाव हुने गर्दछ । तर सहुलियतमा चामल पु¥याउने सरकारबाट जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने त्यसको समाधान गर्न सकेको छैन । कम्पनीले समयमै ढुवानी गराउन नसक्दा हिमाली जिल्लाका नागरिकले दसैं तिहारलगायतका चाडवाडमा खाधान्न अभाव भोग्नु परेको हो ।
यस वर्ष पनि हुम्ला, डोल्पा र मुगुका खाद्य डिपोहरुमा चामल छैन ।
कम्पनीको जिल्ला सदरमुकामस्थित कार्यालयमा केही मात्रामा चामल भएपनि खाद्य डिपोहरुमा ढुवानी गरिएको छैन । कम्पनीकाका अनुसार हाल हुम्लामा ३ हजार २ सय क्विन्टल, मुगुमा ५५० क्विन्टल र डोल्पामा ३६४ क्विन्टल चाम मात्र छ । यता कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा भने करिब १३ हजार क्विन्टल चामल मौज्दाद छ । ढुवानीका लागि ठेक्का प्रक्रिया नटुँगिएका कारण यस वर्षपनि जिल्लाहरुमा दसैंअघि चामल नपुग्ने निश्चित जस्तै भएको छ । “ढुवानीका लागि हाम्रो कम्पनीले ठेक्का प्रक्रिया गरेर लगभग टुङ्गिएको छ” सूचना अधिकारी रिजालले भने, “अहिलेसम्म कुनै पनि कम्पनीसँग सम्झौता नभएकाले दसैंअघि जिल्लाहरुमा पु¥याउन सम्भव छैन ।”
अनुदानमा गिद्धे नजर
सरकारले दुर्गम जिल्लाका लागि चामल र ढुवानीमा अनुदान दिँदै आएको छ । दुर्गम जिल्लाका नागरिकका लागि दिएको उक्त अनुदानमा पनि खाद्य व्यवस्था व्यापार कम्पनी र ढुवानीकर्ता ठेकेदारहरुले गिद्धेनजर लगाउँदै आएका छन् । गत वर्ष मुगुका लागि पठाइएको अनुदानको चामल भक्तपुर लैजाने क्रममा सुर्खेतमा बरामद भएको शर्मा पक्राउ परेको घटनाले यसको पुष्टि गर्छ ।
जापान सरकारले अनुदानमा दिएको चामल नेपाल खाध तथा व्यापार कम्पनीको ढुवानी कर्ता शर्मा ढुवानी सेवाले रिप्याकिङ गरेर भक्तपुरका लागि पठाएको २ सय ५० क्विन्टल चामल जिल्ला प्रहरी कार्यालयले सुर्खेतले कात्तिक १३ गते बरामद गरेको थियो ।