अनुदानको चामल भक्तपुर पठाउनेलाई जरिवाना «

अनुदानको चामल भक्तपुर पठाउनेलाई जरिवाना

नेपाल खाद्य तथा व्यापार कम्पनी सुर्खेतको गोदामबाट मुगुका लागि ढुवानी गरिएको अनुदानको चामल भक्तपुर पठाउने शर्मा ढुवानी सेवालाई कालो बजारी ऐनअन्तर्गत जरिवाना गरिएको छ ।
गत वर्ष मंसिर ७ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको उक्त मुद्दामा प्रशासनले गत साउन २१ गते फैसला गर्दै ३ लाख ७५ हजार रुपैयाँ जरिवाना गरेको हो । शर्मा ढुवानी सेवाका सञ्चालक बासुदेव शर्मालाई २ लाख, उनकी पत्नी एवं फर्म सञ्चालक शर्मिला शर्मालाई १ लाख, लेखापाल शिवराजलाई ५० हजार र ट्रक चालक वीरेन्द्रकुमार थापालाई २५ हजार जरिवाना गर्ने फैसला भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायव सुब्बा राजु चौधरीले जानकारी दिए । कालो बजारी तथा अन्य केही सामाजिक अपराज तथा सजाए ऐन २०३२ को दफा ४ बमोजिम शर्मा ढुवानीलाई कारबाही गरिएको चौधारीले बताए ।
न्यायधिवक्ताको कार्यालय सुर्खेतले अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । तर जिल्ला प्रशासन कार्यालयले भने जरिवाना मात्रै गरेको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाले मुगुका लागि कम्पनीको गोदामबाट लोड गरेको २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा सुब्बाकुनाबाट गत वर्ष कात्तिकमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बासुदेव शर्मासहित ट्रक चालकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले प्रारम्भिक सुनुवाइपछि शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक थापालाई त्यसको आधा रकम धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्