डीडीसीका दुग्धजन्य पदार्थको गुणस्तरमा कुनै कमजोरी छैन «

डीडीसीका दुग्धजन्य पदार्थको गुणस्तरमा कुनै कमजोरी छैन


सरकारी स्वामित्वमा सञ्चालन भएको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट दूध खरिद गरेर प्याकेजिङ गरी बजारमा वितरण गर्ने गरेको छ । निजीस्तरमा धेरै डेरी उद्योगहरू सञ्चालनमा छन् भने सरकारी स्वामित्वको डीडीसी मात्र हो । गाउँगाउँबाट किसानले उत्पादन गरेको दूध संकलन गरेर डीडीसीले किसानलाई रकम भुक्तानी गर्दै आएको छ । किसानले अहिले प्रतिलिटर ५५ रुपैयाँ दूधको मूल्य पाउने गरेका छन् । बजारमा उपभोक्ताले भने प्रतिलिटरमा ८० रुपैयाँ तिर्नुपर्छ । डीडीसीले अहिले दैनिक उपत्यकामा ७५ देखि ८० हजार लिटर दूध बिक्री गरिरहेको जनाएको छ । उत्पादनको सिजन नभएकाले पनि दूधको संकलन पनि कम भएको डीडीसीको भनाइ छ । मुलुक दूधमा आत्मनिर्भर उन्मुख भएको छ । सरकारले दुई वर्षभित्रमा दूधमा आत्मभिर्नर हुने गरी कार्यक्रम घोषणा गरेको छ । एफएओको सिफारिसअनुसार मुलुकमा वार्षिक २७ लाख मेट्रिक टन दूधको माग रहेकोमा अहिले २३ लाख मेट्रिक टन दूध उत्पादन भएको छ । रुद्रपसाद पौडल डीडीसीको महाप्रबन्धका रूपमा कार्यरत छन् । तीन दशकभन्दा बढी सरकारी सेवा गरेका पौडेल २०७६ फागुनदेखि डीडीसीमा महाप्रबन्धको रूपमा कार्यरत छन् । पशुपालन विज्ञका रूपमा चिनिने उनको किसानको क्षमता अभिवृद्धि, कृत्रिम गर्भाधारण तथा पशु सेवाको क्षेत्रमा विशेष योगदान रहेको छ । डीडीसीले वितरण गर्ने दुग्धजन्य पदार्थको गुणस्तरमा बेलाबेला समस्या आउने गरेको, बजारमा दुग्धजन्य पदार्थको अवस्था के छ ? मुलुक दूधमा आत्मनिर्भर भएको हो त ? यीलगायतका अन्य विषयमा केन्द्रित रहेर संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग कारोबारकर्मी लक्ष्मी सापकोटाले गरेको कुराकानीको सार :

दुग्ध विकास संस्थान (डीडीसी) ले अहिले किसानबाट कति दूध खरिद गरेर बजारमा वितरण गरिरहेको छ ?
अहिले दूध उत्पादन गर्ने सिजन होइन । अहिले अफ सिजन भएकाले दैनिक सबै आयोजनामार्फत ७५ देखि ८० हजार लिटर दूध किसानबाट खरिद गरिरहेका छौं । सिजनको बेला १ लाख ७० हजारदेखि १ लाख ८० हजार लिटर दूध खरिद हुने गरेको थियो । अहिले उत्पादन कम भएकाले संकलन घटेको छ । दूधको बिक्री, काठमाडौं दुग्ध वितरण आयोजनामा दैनिक दही–दूध गरेर ८० देखि ८२ हजार लिटर बिक्री छ । उपत्यकाबाहिर ४० हजार लिटर बिक्री हुन्छ । अहिले दूध उत्पादनको सिजन नभएकाले किसानहरूका गाईभैंसी ब्याउने क्रममा छन् । नेपालीहरूका चाडपर्वहरू आइरहेका छन् । जसका कारणले गाउँमा पनि स्थानीय बजारमा दही, दूधको खपत बढी हुने हुँदा अहिले संकलन कम भएको छ । निजी क्षेत्रका डेरीहरूले पनि दूध संकलन गरिरहेका छन् । आगामी कात्तिक महिनादेखि दूधको संकलन बढेर जान्छ । पछिल्लो समय दूधको खपत बढ्न सकेको छैन । यसको मुख्य कारण डीडीसीबाट संस्थागत रूपमा दूधको बिक्री हुने गरेको थियो । स्कुल, कलेज, ठूला–ठूला होटलमा सम्झौता गरेर ठूलो परिमाणमा दूधको बिक्री–वितरण हुने गरेको थियो । कोभिडका कारणले गर्दा स्कुल–कलेज नखुलेकाले बिक्री कमी भएको हो । पाँचतारे होटलमा पनि दूध बिक्री हुने गरेको थियो । होटलमा ग्राहक नआएकाले खपत पनि बढ्न सकेको छैन । दैनिक १२ देखि १५ हजार लिटर दूध संस्थागत बिक्री हुने गरेको थियो । अहिले नभएकाले पनि खपत घटेको छ । बजारमा आम उपभोक्ताले खरिद गर्ने दूधमा पनि कमी आएको छैन ।

मुलुक दूधमा आत्मनिर्भर भएको छ ?
एफएओको सिफारिसअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर उपभोग गर्नुपर्छ, जसअनुसार दैनिक २५० एमएल उपभोग गर्नुपर्ने हुन्छ । मुलुकको उत्पादनले प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटरसम्म पुगेको छ । मुलुकको कुल जनसंख्यालाई हेर्दाखेरि प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध उपलब्धता छ । जनसंख्याको तथ्याङ्कअनुसार वार्षिक २७ लाख मेट्रिक टन दूध उत्पादन भयो भने एफएओले सिफारिस गरेअनुसार पुग्छ । अहिले वार्षिक २३ लाख एक हजार मेट्रिक दूध उत्पादन छ । १२ प्रतिशतले दूधको उत्पादक अपुग रहेको छ । दूध उत्पादन हेर्दा हामी आत्मनिर्भरउन्मुख छौं । विगतमा हामीले डीडीसीलगायत अन्य निजी डेरीहरूले धूलो दूध आयात गर्नुपरेको थियो । आयात गर्दा धेरै नेपालको पैसा बाहिर जाने गरेको थियो । अहिले धूलो दूध आयात बन्द भएको छ । नेपाली किसानले उत्पादन गरेको दूधबाट पाउडर बनाएकाले बाहिर जाने पैसा रोकिएकाले जुन रकम किसानले पाएका छन् । पशुपालनमा वृद्धि भएको छ । डीडीसीमा हाल १२ सय सहकारी संस्थाहरू आबद्ध रहेका छन् । दुई लाखभन्दा बढी किसानले डीडीसीलाई दूध दिइरहेका छन् । धेरै दुर्गम ठाउँबाट पनि हामीले किसानको दूध संकलन गरी ढुवानी गरेर बिक्री–वितरण गरिरहेका छौं । पछिल्लो समय युवापुस्ताहरू पनि पशुपालनतर्फ अगाडि बढेको देखिन्छ । ग्रामीण क्षेत्रमा नगदे बालीका रूपमा दूध उत्पादन क्षेत्र मुख्य स्रोतका रूपमा रहेको छ । यसले रोजगारी सिर्जना गर्नका साथै ग्रामीण अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याएको छ । कात्तिकदेखि चैतसम्म दूधको उत्पादन पनि बढी हुने गर्छ । त्यतिबेला संकलन र खपत पनि बढ्छ । उत्पादन र खपत बढेर जान्छ । दैनिक झोल दूध बिक्रीभन्दा बढी भएकोलाई पाउडर बनाउन प्रयोग गर्छौं । सिजनको बेला दैनिक दुई लाख लिटर दूध संकलन हुने गरेकामा ५५ देखि ६० हजार लिटर पाउडर बनाउनका लागि प्रयोग गर्ने गर्छौं । अफ सिजनमा दूधलाई पाउडर बनाएर पुनः प्रयोगमा ल्याउने गर्छौं ।

डीडीसीले दूध खरिद गरेवापत समयमा रकम भुक्तानी नगरेको किसानको गुनासो छ नि ?
डीडीसीले किसान र उपभोक्ताबीचको पुलको काम गर्ने गर्छ । किसानको दूध खरिद, प्रशोधन गरेर बजारमा वितरण गर्ने गर्छ । दूध खरिद गर्ने मुख्य किसानहरूको व्यवसायीकरणलाई सहयोग गर्ने काम गरिरहेका छौं । दूध खरिद गरेवापत किसानको रकम हरेक १५÷१५ दिनुपर्ने सेड्युल रहेको थियो । ११ चैत २०७६ देखि लकडाउन भयो । कोभिडका कारणले गर्दा धेरै उपभोक्ताहरू काठमाडौं छाडेर घरमा जाँदा दूधको खपत घट्यो, तर किसानको व्यवसायलाई पलायन हुन दिन हुँदैन भनेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट किसान र व्यवसाय जोगाउनुपर्छ भन्ने निर्देशन आयो । बजारमा बिक्री कम भए पनि निरन्तर रूपमा किसानको दूध संकलन गरियो । बढी भएको दूधलाई पाउडर बनाउँदै गयौं । लकडाउन अवधिमा दूधको बिक्री कम भएकाले पहिल्यैदेखिको असर परिरहेकाले पनि किसानलाई समयमा रकम भुक्तानी गर्न सकेनौं । असार मसान्तसम्म सबै आयोजनामार्फत खरिद गरिएको किसानको दूधको रकम भुक्तानी गरिसकेका छौं । साना–साना आयोजनअन्तर्गत धनगढी, नेपाल, जनकपुर दुग्ध वितरण आयोजनामार्फत १५ भदौसम्मको रकम भुक्तानी गरिसकेका छौं । ठूला आयोजनामा लुम्बिनी दुग्ध वितरण आयोजना, विराटनगर र अलि बढी काठमाडौं दुग्ध वितरण आयोजनाको रकम भुक्तानी गर्न बाँकी रहेको छ । काठमाडौं वितरण आयोजनाले धेरै किसानबाट दूध खरिद गर्ने गर्छ । साउन महिना लागेपछि दूधको संकलन पनि कम छ । बिक्री एक लाख २० देखि ३० हजार लिटर रहेको छ । त्यसले गर्दा पनि दसैंअगाडि भदौसम्मको सबै किसानको रकम भुक्तानी गर्ने तयारी गरेका छौं ।

डीडीसीले वितरण गर्ने दूध राम्रो हुन्छ भन्ने आम उपभोक्ताको विश्वास थियो । पछिल्लो समय गुणस्तरमा बेला–बेला समस्या देखिने गर्छ, किन ?
डीडीसी पूर्ण रूपमा सरकारी स्वामित्वमा भएको संस्थान हो । गुणस्तरमा हामीले कुनै कम्परमाइज गर्दैनौं । नेपाल सरकारले तोकेको मापदण्डअनुसारको दूध उपभोक्तालाई वितरण गर्ने गरेका छौं । बजारमा दूधको धेरै प्रतिस्पर्धा छ । निजी डेरीहरू पनि धेरै छन् । डीडीसीले गुणस्तरीय दूध वितरण गर्दै जानएको छ । काठमाडौं दुग्ध वितरण आयोजनमा पानीको गुणस्तरका कारणले गर्दा दूधमा समस्या आएको थियो । तत्काल सुधार ग-यो । बजारमा हामीले गुणस्तर दूध वितरण गरिरहेका छौं । निजीस्तरबाट सञ्चालित धेरै डेरीहरू छन् । तिनीहरूले थोरै–थोरै परिमाणमा दूध वितरण गरिरहेका छन् । डीडीसीप्रति उपभोक्ताको विश्वास पनि छ ।
गुणस्तर कम गरेर दूध बिक्री गर्ने हाम्रो उद्देश्य पनि छैन । बालकदेखि वृद्धसम्मले दूध उपभोग गर्ने भएकाले पनि हामीले गुणस्तरमा विशेष ध्यान दिएका छौं । डीडीसीले वितरण गर्ने दूध, घिउ, पनिर, मखन, चिज सबै नेपाल सरकारले तोकेको मापदण्डअनुरूपको हुन्छ । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राखेर गुणस्तरलाई विशेष ध्यान दिन्छौं ।

गत वर्ष खाद्य प्रविधि विभागको अनुगमनका क्रममा म्याद नाघेको घिउ बिक्री गरेको फेला परेको थियो । डीडीसीले म्याद नाघेको घिउ बिक्रीका लागि राखेको हो त ?
यस विषयमा भएको समस्या के हो भने सेतो बटर कच्चा पदार्थका रूपमा भण्डारण गरेका थियौं । जुन अन्तिम उत्पादन पनि होइन । २५ केजीको बटर कच्चा पदार्थको रूपमा माइनस १८ डिग्रि सेन्टिग्रेडमा कोल्डस्टोरमा राख्छौं । धूलो दूध र बटर सँगसँगै उत्पादन हुने गर्छ । धूलो दूधको समय अवधि १८ महिनाको हुन्छ । सबै बटरमा पनि गुनासो आएको होइन । डीडीसी र सुजल डेरीबीच जुन सम्झौता भएको थियो, किसानबाट संकलन गरेको दूध सुजल डेरीलाई उपलब्ध गराउने र डेरीले धूलो दूध र बटर बनाएर हामीलाई दिने भन्ने सम्झौता भएको थियो । सुजल डेरीले नै बटरलाई बेस्ट विफोर भनेर लेखेको थियो । अनुगमनका क्रममा बेस्ट बिफोरलाई यो म्याद नाघिसकेको हो भनेपछि समस्या आएको हो । तयारी उत्पादनका लागि मात्र बेस्ट बिफोर भनेर लेखिन्छ । बटर म्याद नाघेको होइन, जुन कच्चा पदार्थ थियो । यसलाई पुनः प्रशोधन गरेर अन्तिम उत्पादन बजार पठाउने गर्छौं । घिउ बन्दाखेरि कोल्डस्टोरमा राखेको बटरलाई १२० डिग्री सेन्टिग्रेडमा फिल्टर गरेर त्यसलाई उमालेर बजारमा पठाउने गर्छौं । त्यो घिउ पनि नेपाल सरकारले तोकेको मापदण्डअनुसार प्रयोगशालामा परीक्षण गरेर बजारमा पठाउने गर्छौं । उपभोक्तालाई गुणस्तर कायम गरेर उपभोक्ताकहाँ बिक्री गर्ने हो । डीडीसीले उत्पादन गरेको घिउका बारेमा उपभोक्ताबाट गुणस्तरहीन भयो भनेर गुनासो पनि आएको छैन । कच्चा पदार्थको रूपमा बटर भण्डारण गरेको थियौं । त्यो सिधै उपभोक्ता कहाँ जाने पनि होइन । त्यसलाई प्रशोधन गरेर बजारमा पठाउँछौं । म डेरी विज्ञ त होइन, तर यस क्षेत्रका विज्ञहरूसँग छलफल गर्दाखेरि सेतो घिउ उद्योगको प्रयोजनका लागि २५ केजीको बटर बनाएर राख्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ । यसको सुरक्षित हुने अवधि हामीले कति चिसोमा भण्डारणमा राखेका छौं । कोल्ड स्टोरेजको तापक्रममा यसको समय अवधि भरपर्ने हुन्छ । माइनस ८ देखि १० डिग्री सेन्टिग्रेड तापक्रममा राखिएको भने १८ महिना राख्न सकिँदैन । कच्चा पदार्थको रूपमा बटर उद्योगबाट आउने गर्छ । त्यसलाई कोल्डस्टोरमा राख्छौं । बजारमा म्याद नाघेको भनेर आयो तर यो सत्य होइन । हामीले कच्चा पदार्थको रुपमा भन्डारण गरेको थियौं तयारी घिउ होइन । घिउ अन्तिम उत्पादन हो, त्यसको उपभोगको समय अवधि यति हुन्छ भनेर मात्र राख्छौं । हामीले उत्पादन गरेका सवै उत्पादन गुणस्तरयुक्त छन् । हामीले जुन बटरबाट घिउ बनाउँछौं । नौनीको पनि घिउ बनाउनुभन्दा पहिला त्यसको गुणस्तर परीक्षण गर्छौं । डीडीसीले न्यून गुणस्तर भएका खाद्य पदार्थहरू बिक्री गर्दैन । हामी गुणस्तरीय उत्पादनबाटै बजारमा उपस्थित हुने हो । हामीले उत्पादन गर्ने दुग्धजन्य पदार्थ गुणस्तरयुक्त उत्पादन हुन्छ ।

चाडपर्वलाई लक्षित गरेर दुग्धजन्य पदार्थमा कति–कति छुट दिनुभएको छ ?
चाडपर्वलाई लक्षित गरेर डीडीसीको बिक्री कक्षबाट घिउमा प्रतिलिटर ५० रुपैयाँ छुट दिएका छौं । आधा लिटरमा २५ रुपैयाँ, पनिरमा प्रतिकेजीमा २० रुपैयाँ, याक चिजमा प्रतिकेजीमा २० रुपैयाँ छुट दिइएको छ । दुग्ध विकास संस्थानका उपत्यकासँगै बाहिरी जिल्लामा रहेका आयोजनामार्फतका बिक्री कक्षबाट छुटमा दुग्धजन्य पदार्थ छुटमा बिक्री गरेका छौं । उपत्यकामा रहेका बिक्री केन्द्र, लैनचौर, न्युरोड, खुमलटारमा बिक्री हुन्छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री कक्षबाट समेत दुग्धजन्य पदार्थ बिक्री गर्छौं । चाडपर्वमा लक्षित गरेर आगामी छठसम्म छुटमा दुग्धजन्य पदार्थ बिक्री गर्छौं ।

वार्षिक रूपमा कत्तिको कारोबार हुन्छ ?
दैनिक रूपमा एक करोड २० लाख कारोबार हुने गर्छ । वार्षिक रूपमा तीन अर्ब ६५ करोड रुपैयाँको कारोबार हुने गर्छ । लकडाउनका कारणले गर्दा पनि डीडीसीको कारोबार घटेको हो । सामान्य अवस्थामा वार्षिक रूपमा चार अर्बभन्दा बढीको कारोबार हुने गर्छ । निषेधाज्ञाको अवधिमा दूध बिक्री नभएर बनाइएको पाउडर ११ सय टन रहेको थियो । अहिले बिक्री भएर बाँकी ६ सय टन रहेको छ । निजी क्षेत्रले पनि खरिद गरेको छ । बिस्कुट फ्याक्ट्री र पोल्ट्री क्षेत्रमा भ्याक्सिनेसनका लागि प्रयोग हुने भएकाले वितरण गरिरहेका छौं । पोल्ट्री उद्योगले पाउडर दूध पहिला भारतबाट ल्याउने गरेकामा अहिले हामीबाट लगिरहेका छन् ।

सरकारी स्वामित्वमा भएको डीडीसी व्यापार गरेर नाफा हासिल नगरी सधैं घाटामा जाने गर्छ, किन ?
डीडीसीको ८÷१० वर्षको तथ्याङ्क हेर्दा ब्रेक इभन भएर चलेको देखिन्छ । निजी उद्योगजस्तो नाफामूलक नभएर डीडीसी सेवामूलक पनि हो । संस्थानले आफ्नो आम्दानीबाट कर्मचारीको तलबभन्दा प्रशासनिक खर्च व्यवस्थापन गर्नुपर्ने । कुनै वर्ष धेरै कर्मचारीहरू अवकाश भएपछि उपदान खर्च पनि धेरै दिनुपर्ने हुन्छ । डीडीसीमा नाफा भए पनि ५ देखि १० करोडसम्म बचत हुने गर्छ । व्यापारलाई विविधीकरण गर्ने, संस्थानको संरचना पनि सानो बनाउने, मेसिनरी सामान पनि धेरै पुराना धेरै छन् । जसका कारणले गर्दा पनि संस्थानको आर्थिक अवस्था अलि कमजोर छ । संस्थानसँग चालू पुँजी कम भए पनि सामानको मौज्दात दूधको पाउडर धेरै रहेको छ । पुँजी स्कट भएर रह्यो, जसले गर्दा पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौं । मौज्दात भएको सामान सवै बिक्री हुने हो भने किसानको रकम भुक्तानी गरेर २० देखि २५ करोड बचत हुन्छ । प्रशासनिक खर्च बढी भएको देखिन्छ । त्यसलाई कम गर्नका लागि मेसिनेरी उपकरणहरू नयाँ ल्याउनुपर्ने हुन्छ । हामीले दूध ग्रामीण ठाउँबाट ल्याउने गरेका छौं । निजी डेरीले नजिकैबाट ल्याउने गर्दा सहज हुन्छ । किसानले प्रतिलिटर ५५ रुपैयाँ दूधको मूल्य पाउने गर्छन् । किसानले उत्पादन गरेको दूध डीडीसीले खरिद गर्ने भएकाले ग्रामीण अर्थतन्त्रमा यसले योगदान पु¥याएको छ । पछिल्लो समय किसानहरू पशुपालन व्यवसायमा आकर्षित बन्दै गएका छन् । दूध बिक्रीवापत तत्काल किसानले नगद हात पार्ने हुँदा उनीहरूको जीवनयापनमा समेत सहज बन्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्