वित्तीय साक्षरता फ्रेमवर्क र गाइडलाइन बनाइँदै

धनगढी-नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयले वित्तीय साक्षरता गाइडलाइन बनाइरहेको छ ।
वित्तीय साक्षरता फ्रेमवर्क बनाएर लागु गरेको कार्यालयले फ्रेमवर्कलाई थप परिस्कृत गर्दै वित्तीय साक्षरता गाइडलाइन पनि बनाउन लागेको हो । कार्यालयले फ्रेमवर्क र गाइडलाइन निर्माणका लागि सात वटै प्रदेशमा सुझाव संकलन गरिरहेको छ । कार्यालयले हालै धनगढीमा नागरिक समाज संस्था र बैंक तथा वित्तीय संस्थाहरुसँग छुट्टा छुट्टै छलफल गरी सुझाव संकलन गरेको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयका निर्देशक नारायणप्रसाद पोखरेलले २०७६ मा वित्तीय साक्षरता फ्रेमवर्क तयार भएपछि जारी हुन नपाउँदै कोरोना महामारी आएको हुनाले यसलाई थप परिस्कृत गरेर जारी गर्ने उद्देश्यले सुझाव संकलन गरी रहेको बताए । उनले फ्रेमवर्कसँगै वित्तीय साक्षरता गाइडलाइन समेत बनाइरहेको बताए ।
विगतमा फ्रेमवर्क नभएपनि किसान, विद्यार्थी, गृहणी, कर्मचारी, युवा, रेमिट्यान्स प्राप्तकर्ता लगायतलाई लक्षित गर्दै वित्तीय साक्षरता सन्देश प्रवाह गरिरहेको बताए । उनले टेलिभिजन, रेडियो, पत्रिका, राष्ट्र बैंकको वेबसाइट, एप र आधारिक समाजिक सञ्जालहरु युट्युब, फेसबुक र ट्वीटरमार्फत् ती सन्देशहरु प्रवाह गर्दै आएको बताए । उनले वित्तीय साक्षरता सम्बन्धी सन्देशहरु थप व्यवस्थित तरिकाले प्रवाह गर्नका लागि फ्रेमवर्क र गाइडलाइन बनाइरहेको बताए ।
बैंक तथा वित्तीय संस्थाहरुले नाफाको एक प्रतिशत रकम अनिवार्य रुपमा सामाजिक विकासमा खर्च गर्नुपर्ने र सो एक प्रतिशत रकमको पाँच प्रतिशत अनिवार्य रुपमा वित्तीय साक्षरताका लागि खर्च गर्नुपर्ने व्यवस्था वित्तीय साक्षरता फ्रेमवर्कले गरेको निर्देशक पोखरेलले बताए । उनले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षामै गएर वित्तीय साक्षरता सन्देश दिने गरेको बताए ।
कार्यक्रममा सहभागीले ज्याला मजदुरीलाई समेत वित्तीय साक्षरताको लक्षित वर्ग बनाउनुपर्ने, मिडियाको माध्यमद्वारा मात्रै नभई प्रत्यक्ष छलफल र मोबालइको कल र ट्वीट मार्फत् पनि सन्देश प्रवाह गर्न सकिने सुझाव दिएका थिए । उनीहरुले लघुवित्त तथा वित्तीय संस्था र सहकारीहरुले नियम भन्दा बढी व्याज लिने गरेको गुनासो गर्दै बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय साक्षरताका लागि लगानी गरेका सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए ।