Logo

एनआरएनए निर्वाचनका लागि काम सुुरु


गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्न अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति काम सुरु गरेको छ । परराष्ट्र मन्त्रालयको पत्रपछि निर्वाचन अन्योलमा रहेकोमा अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी सुरु भएको हो ।
निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको समितिले जनाएको छ ।
गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको र स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भइसकेको दावी गैरआवासीय नेपाली संघले गरेको छ ।
अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले समयमै आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने भन्दै संघले सबै मतदाताहरुलाई संघको एमआईएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरेको छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्नेमा सचेत हुन निर्वाचन समितिले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसासहितको आईडी कार्ड पनि आवश्यक भएको हुने भएकाले पछि नवीकरण गरिएका भिसा तथा आईडी कार्ड भए इमेलमा पठाउन सूचित गरिएको छ । आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन भएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेका छन् । यसैगरी निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ (नेपाल) रहेका छन् ।

साधारण सदस्यले मतदान गर्न पाउनुपर्ने माग
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसीमा निर्वाचन प्रतिनिधिको विषयमा विवाद उत्पन्न भएपछि साधारण सदस्यले समेत निर्वाचनमा सहभागी हुन पाउनुपर्ने आवाज उठ्न थालेको छ । एनआरएनएको आसन्न निर्वाचनमा अध्यक्षका आकांक्षी रविना थापाले सबै सदस्यले मतदान गर्न पाउनुपर्ने माग राखेको बताइन् ।
“हाल रहेको डेलिकेट प्रणाली एनआरएनएभित्रै पनि सदस्यबीच छुट्टै व्यवहार गरेको जस्तो भयो,” उनले भनिन्, “यसका लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्छ ।” निर्वाचनमा डेलिकेट प्रणाली रहेसम्म साधारण सदस्यमा संस्थाप्रति अपनत्वको भावना विकास नहुने उनको भनाइ छ । हाल एनआरएनएमा १ लाख ५ हजार साधारण सदस्य छन् ।
यो पटक सबैले मतदान गर्ने व्यवस्था गर्ने उपयुक्त समय रहेको जनाउँदै थापाले नेपाल नआई सम्बन्धित देशबाट चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने अवसरबाट वञ्चित गराउनु मानवअधिकार विपरीत काम भएको दाबी गरिन् । एनआरएनएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आगामी अक्टोबर २० तारिख (कात्तिक ३ गते) हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्