चाडबाडमा चिनीको आपूर्ति सहज गराउन माग

राष्ट्रिय उपभोक्ता मञ्चले दसैं तिहारको चाडबाडमा चिनीको आपूर्ति व्यवस्था सहज गराउन माग गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखिएको पत्रमा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अत्यन्त विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान गठबन्धन सरकारलाई देश र समाजमा विद्यमान बिगतका समस्याहरु समाधान गर्ने जटिल उतरदायित्व रहेको भन्दै आपूर्ति सहजताका लागि अनुरोध गरिएको छ ।
प्रधानमन्त्रीको तर्फबाट बुद्दिमानीपूर्वक समाधानका उपायहरु अवलम्बन गर्ने अपेक्षाका साथ आम नागरिकको दैनिक जीवन सहज बनाउने, महंगी नियन्त्रण गर्ने तथा आपूर्ति व्यवस्था सहज गर्ने ५ दलीय गठबन्धनको सरकारको दायित्व पनि रहेको स्मरण गराइएको छ ।
“विगत चार वर्षदेखि आपूर्ति व्यवस्थामा असहजता आइरहेको दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको छैन” पत्रमा लेखिएको छ, “समस्या झनै जटिल बन्दै गएको छ र चाडबाडको क्रमसँगै दसैं, तिहार तथा छठलगायतका अन्य चाडबाडले बजारलाई पूर्णरुपमा छोपी सकेको छ ।”
हाल बजारमा चिनीको अभावले अहिले चिनीको बजार मूल्य प्रतिकिलो १०० रुपैयाँ पुगिसकेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३०० मेट्रिक टन र निजी क्षेत्रसँग ६५०० ट्रेडिङ टन चिनी मात्र मौज्दातमा रहेको छ । चाडपर्वको बेलामा नेपालमा प्रतिमहिना ३० हजार ट्रेडिङ टन चिनी खपत हुने वाणिज्य विभागको आंकलन छ ।
“यस्तो अवस्थामा बजारमा चिनीको ठूलो हाहाकार मच्चिने प्रवल सम्भावना रहँदा रहँदै अर्थमन्त्रालयका जिम्मेवार उच्चपदस्थ पदाधिकारीहरु बजारमा प्रतिकिलो ७२ रुपैयाँमा चिनी उपलब्ध भई, निजी क्षेत्रबाट चिनीको पर्याप्त आयात भइरहेकोले चिनीको अभाव हुनुपर्ने कुनै कारण नभएको भन्ने भनाइ बाहिर आइरहेको छ” पत्रमा भनिएको छ ।
जेठ महिनाको अन्तसम्ममा निजी क्षेत्रसँग २१ हजार ट्रेडिङ चिनी स्टकमा रहेको र भन्सार विभागको अहिलेको नयाँ तथ्यांकअनुसार १० हजार पाँच सय मेट्रिक टन चिनी आयात भएको छ ।