योग गर्नुका अचुक फाइदा «

योग गर्नुका अचुक फाइदा

विश्वभरि नै कोरोना भाइरसको सन्त्रास फैलिरहेको छ । अहिलेको मुख्य ध्येय भन्नु नै कोरोना भाइरस फैलिनबाट रोक्नु हो । यसका लागि आफू सजग भएर बस्नुपर्छ । सुरक्षाको मापदण्ड अपनाउनुपर्छ । यसका साथै सन्तुलित आहार अनि दैनिक रूपमा आफूले शारीरिक व्यायाम पनि गर्नुपर्छ । अहिलेको समय यति धेरै आधुनिक भइसक्यो कि मानिसहरू एक पाइला पनि हिँड्न नपरे हुन्थ्यो झैँ गर्ने गर्छन् । जति धेरै प्रविधिको विकास भएको छ, त्यति नै धेरै नयाँ–नयाँ रोगहरूको पनि उत्पत्ति भइरहेको छ । यसको उदाहरणका रूपमा यही कोभिडलाई लिन सकिन्छ । किनकि रुघाखोकी, ज्वरो, निमोनियाँजस्ता रोग पहिले पनि लाग्ने गथ्र्योे । तर, अहिले आएर यसलाई कोरोनाको संज्ञा दिइएको छ । त्यसमाथि अहिलेको खानपिन पहिलेको जस्तो स्वच्छ अनि शुद्ध नहुनुको कारणले गर्दा पनि कम उमेरमा मधुमेह, उच्च रक्तचाप, थाइराइड, कोलेस्ट्रोल, मुटु रोगजस्ता विभिन्न स्वास्थ्य समस्याहरू देखा परिराखेको छ ।
पहिलेको जमानामा ढिडो र साग खाएर, मेलापात अनि पहाड चढेर हुर्केका मानिसहरू धेरै निरोगी हुन्थे, तर अहिले हरेक चिज फलाउन विषादीको प्रयोग गरिन्छ । अनि कहाँबाट प्राप्त हुन्छ शरीरमा रोगसँग लड्ने ऊर्जा ? त्यसैले खानपिनका साथसाथै बिहान सबेरै उठेर दिनहुँ शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ । बिहानीको स्वच्छ हावामा हामी हिँडडुल गर्न सक्छौं, बाहिर निस्कने समय नमिलेमा घरभित्रै भ¥याङमा तलमाथि गर्न सकिन्छ, ब्याडमिन्टन, फुटबल, फुटसलजस्ता खेलहरू खेल्न सकिन्छ, योग गर्न सकिन्छ । अझै अहिले सबैको घरघरमा इन्टरनेटको सुविधा हुने हुनाले हामीले युट्युबको सहायता लिएर पनि योग सिक्न सक्छौं ।
योग गर्नका लागि योग केन्द्र नै धाउनुपर्छ भन्ने छैन । किनकि कतिपय डाक्टर तथा वैद्यले निको पार्न नसकेका रोगहरू योगले पनि निको पार्ने गर्छ । पैसा तिरेर थेरापी, जिम गरेर मात्र शरीर फिट अनि स्वस्थ हुन्छ भन्ने छैन । आफूमा जाँगर अनि लगनशीलता हुनुपर्छ, घरमै बसीबसी पनि योग अनि व्यायाम गर्न सकिन्छ । र, योग गर्नुका अनेक फाइदाहरू पनि रहेका छन् । योगले हाम्रो शरीरलाई रबरजस्तै लचिलो बनाउन मद्दत गर्छ । हाम्रो शरीरको मांसपेशीलाई बलियो बनाउने काम गर्छ । दैनिक रूपमा योग गर्नाले ढाड दुख्ने, आथ्र्राइटिस तथा बुढ्यौलीपनलाई कम गर्नुका साथै हाम्रो बस्ने आसनलाई निश्चित समेत गर्छ ।
निरन्तरको योगाभ्यासले हाम्रो बस्ने, सुत्ने वा केही काम गर्ने सही आसनहरू निश्चित गर्न सघाउँछ । हाड, नशा तथा जोर्नीको समस्याका लागि पनि योग गर्नु ठीकै मानिन्छ । किनकि योग गर्दा हरेक कोषको साथै मुटु, फोक्सो, नशालगायत अंगहरूको सही अभ्यास भएको हुन्छ अनि हाम्रो शरीर खुम्च्याउने र तन्काउने गर्दा मांसपेशीको कोष तन्तु चल्ने गर्छन् र यसले रक्तसञ्चार प्रक्रियालाई समेत मजबुत बनाउँछ, जसले हाम्रो सुषुप्त प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्छ । जसले सामान्यतया साधारण रोग लाग्ने सम्भावना कम गराउँछ भने अन्य रोगको प्रवेशमा पनि गुणात्मक कटौती गर्छ । हामीभित्रैको शक्ति जगाउने भएकाले योगले मुटुरोग लाग्न दिँदैन भने सामान्य चिन्ता, डिप्रेसनलगायत रोगबाट टाढै राख्छ । त्यसैले दिनहुँ योग गर्नाले आफ्नो शरीर हलुका महसुस हुनुको साथै शरीरमा भएको अनावश्यक बोसो घटाउन मद्दत गर्छ ।
मेरी आमाको गर्धनको हड्डी खिएको हुनाले उहाँलाई हात दुख्ने घाँटी दुख्ने समस्या भइरहन्थ्यो । डाक्टरको औषधि खाउन्जेल मात्र निको हुने, त्यसपश्चात् फेरि उस्तै दुखाइ हुने गथ्र्यो । तर, अहिले उहाँ बिहान ५ बजेदेखि दैनिक रूपमा घरनजिकैको योग केन्द्रमा गएर योगध्यान गर्न थालेपश्चात् त्यस समस्याबाट धेरै मात्रामा राहत मिलेको स्वयम् आफैं बताउनुहुन्छ । त्यसैले हामीले आफ्नो व्यस्त समयबाट केही समय आफ्नो स्वास्थ्यका लागि पनि निकाल्ने गरौं ।

प्रतिक्रिया दिनुहोस्