उच्च सतर्कता आजको आवश्यकता «

उच्च सतर्कता आजको आवश्यकता

अचेल सहरबजारमा विभिन्न खाले नाराजुलुस, भीडभाडजस्ता गतिविधिहरू भइरहेको देखिन्छ । त्यस्ता भीडभाड तथा नाराजुलुसले कोरोना संक्रमणको फैलावटलाई जोड दिने भएकाले कसैले पनि कुनै प्रकारको भीडभाड तथा नाराजुलुस गर्नु हुँदैन । नेपालमा पछिल्लो समयमा बढ्दै गरेको कोरोना महामारीको संक्रमण नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म सबैले ध्यान दिनु जरुरी छ । यसका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ भने नागरिकस्तरमा कुनै पनि प्रकारको लापरवाही हुनु हुँदैन । सरकार र नागरिक दुवै पक्ष समन्वय र सहकार्यका साथ जिम्मेवार र अनुशासित रूपमा अघि बढ्न सकेमा मात्रै कोरोना महामारीलाई जित्न सकिन्छ ।
विज्ञहरूले नेपालमा कोरोना महामारीको तेस्रो लहर देखा पर्ने र त्यसले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् । कोरोना महामारी नियन्त्रणका लागि एकपछि अर्को प्रयास जारी नै छ । तर, हालसम्म पूर्ण रूपमा कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन । संक्रमण नियन्त्रण हुनुको सट्टा झन् बढ्दै गइरहेको छ । त्यसैले हामी सबैले समयमै उच्च सतर्कता अपनाउन नसके कोरोनाको पहिलो र दोस्रो लहरको भन्दा भयावह र जटिल अवस्था तेस्रो लहरमा आउने सक्नेछ । यसलाई मध्यनजर गरी समयमै नियन्त्रणका थप उपायलाई अवलम्बन गर्न सबै जना सचेत बन्नैपर्छ । कोरोनाको तेस्रो लहर रोकथामका लागि खोपको मात्रा विस्तार, स्थानीय स्तरमा लागू हुन सक्ने गरी मास्क, सेनिटाइजर तथा अन्य आवश्यक उपकरणको अनिवार्य रूपमा व्यवस्था गर्नुपर्छ । व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्ने खालका उपायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । त्यसैले यसलाई मध्यनजर गरी रोकथामका उपायलाई बढी व्यावहारिक बनाउन जरुरी रहेको छ ।
प्राथमिकताका आधारमा नेपालमा नागरिकहरूले धमाधम कोरोनाको खोप लगाइरहेका छन् । तर पनि कोरोना संक्रमणमा भने अझै कमी आउन सकेको छैन । खोप लगाएकाहरूसमेत पुनः संक्रमित भएका छन् । नयाँ संक्रमितको संख्या पनि थपिँदै छ । त्यसकारण कोरोना महामारी अझ गम्भीर बन्ने सम्भावना देखिन्छ । अहिले देशमा कोरोना महामारी नियन्त्रणका लागि धेरै प्रयासहरू भए पनि यी प्रयासहरूले सार्थकता पाउन सकिरहेको देखिँदैन । कोरोना महामारीको संक्रमण विश्वव्यापी भएकाले यसको नियन्त्रणमा प्रभावकारिता आउन सकेको छैन । तथापि, कोरोना महामारी नियन्त्रणका लागि पहल भएका विभिन्न प्रयासहरू सफल बनाउन सरकारदेखि नागरिकसम्म सचेत र सतर्क बन्नुपर्छ । केन्द्रदेखि गाउँसम्म गरिने विभिन्न प्रयास र प्रयत्नले मात्र कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्नमा सघाउ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्