कोरोना भाइरसको संक्रमणदर र मृत्यु हालसम्मकै कम «

कोरोना भाइरसको संक्रमणदर र मृत्यु हालसम्मकै कम

विगत १ महिना यता कोरोना संक्रमणदर शनिबार हालसम्मको सबैभन्दा कम १२ प्रतिशतमा झरेको छ ।
साउनमा यो संक्रमणदर २५ प्रतिशत भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले देशभर कोरोनाको समग्र संक्रमणदर घट्दै गइरहेको जनाए । तर, कर्णाली प्रदेशमा भने संक्रमण दर उच्च नै छ । उनले कर्णाली प्रदेशमा पिसिआर र एन्टीजेन्ट परिक्षण भएका मध्ये ७७ प्रतिशतलाई संक्रमण देखिएको बताए ।
यसैगरी दोस्रो बढी कोरोना संक्रमण प्रदेश १ मा २०.८ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार सार्वजानिक गरेको विवरण अनुसार विगत २ महिना यता सबै भन्दा कम मृत्यु भएको छ । सो तथ्यांक अनुसार शनिबार ९ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यसैगरी संक्रमणका कारण आईसियु र भेन्टिलेटरमा रहेर उपचार गराउने संक्रमितको संख्या समेत घटेको छ । शनिबार देशभरमा अस्पतालमा रहेका आईसियूमा ५५४ छन् । विगतमा यो संख्या ८०२ सम्म पुगेको थियो । यसैगरी शनिबार भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितको संख्या १७२ रहेको छ । विगतमा भेन्टिलेटरमा उपचार गराउनेको संख्या दैनिक २०० को हाराहारीमा रहेको थियो ।
विगत २४ घन्टामा ९ हजार ८७५ जनाको पिसिआर तथा एन्टीजेन परिक्षण गरेकोमा १२.८४ प्रतिशत अर्थात १ हजार २६८ संक्रमित भएका छन् । यो संक्रमणदर पनि साउनको अन्तिम हप्ताको तुलनामा १३ प्रतिशत कम हो । यसैगरी विगत २४ घन्टामा निको हुनेको संख्या २ हजार १९५ रहेको छ । यसैगरी शनिबार काठमाडौं उपत्यकामा संक्रिय संक्रमित साउन २५ गतेपछिको सबैभन्दा कम ७ हजार ६६३ रहेको छ ।

अहिलेसम्म १ करोड ३ लाख ७५ हजार ७६४ जनालेदुवै मात्राको खोप लगाइसकेका छन् । सरकारले कुल जनसंख्याको७१.०६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजारले खोप लगाउने लक्ष्य राखेको छ । यस मध्ये पहिलो मात्राको खोप लगाउनेको संख्या १७ प्रतिशत अर्थात ५५ लाख ११ हजार भन्दा बढी रहेको छ भने पूर्ण खोप लगाउनेको संख्या १५ प्रतिशत अर्थात ४८ लाख ६३ हजार रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्