पार्क निर्माणमा सहयोग गर्न महानगरपालिकाद्वारा आह्वान «

पार्क निर्माणमा सहयोग गर्न महानगरपालिकाद्वारा आह्वान

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् । शनिबार मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाभित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो समेत गरे । पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन नसकिएको मेयर शाक्यको भनाइ छ । उनले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको पनि बताए । मेयर शाक्यले भने, “कम्तिमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं । सार्वजनिक जग्गाहरु धेरै छन । हिजो भएका पार्कहरुलाई अपग्रेड गर्ने, जहाँ पार्क छैनन् नभएका ठाउँमा नयाँ पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरेका छौं । बजेटको समस्या होइन् तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन । जहाँ स्थानीयबासीले सहयोग गर्छ, त्यहाँ स्वाभाविक रूपमा काम गर्न सजिलो हुन्छ । जहाँ स्थानीयको सहयोग हुँदैन, अवरोध हुन्छ, त्यहाँ काम गर्न गाह्रो हुन्छ ।”
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले भृकुटीमण्डपभित्र ठूलो प्रदर्शनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए । उनले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे । समाज कल्याणको क्षेत्रमा काम गर्ने र परिषद मातहत रहेको भृकुटीमण्डपमा प्रदर्शनीस्थल बनाउने काममा ढिलाइ गर्न नहुने पूर्वमेयर स्थापितको भनाइ छ ।
कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गरेका थिए । बागमती प्रदेशसभा सदस्यसमेत रहेका उनले बागमती प्रदेश सरकारको एक करोड ३८ लाख सहयोगमा निर्माण गरिएको सो करिडोरको उदघाटन गरे । मेयर शाक्यले उद्घाटन गरेको झिंगु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्