सेयर बजार : सिकाइ, कमाइ र गुमाइ «

सेयर बजार : सिकाइ, कमाइ र गुमाइ

सेयर बजार उच्च जोखिमको बजार हो । यहाँ कमाउने र गुमाउने दुवै उच्च सम्भावना हुन्छ । झ्वाम्मै एकैपटक कमाइ र गुमाइ दुवै हुन सक्ने भएकाले यसलाई एक प्रकारको जुवाको रूपमा पनि लिने गरिन्छ । तास खेल्दा अनुभवी, धैर्यवान् र जान्नेले जित्ने तथा नवप्रवेशी, सिकारु र अधैर्यवान्ले हार्ने सम्भावना बढी हुन्छ । सेयर बजारमा पनि त्यस्तै नै हुने हो । यो सत्यलाई आत्मसात् गरेर खेलियो भने नराम्रो केही हुँदैन ।
म जसरी पनि जित्छु भनेर तास खेल्नु वा सेयर खेलियो भने हार्दा पीडा, आक्रोश र रिस उठ्छ । म सिक्दै छु, सिक्दा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्छ । सिक्दा हारेको चिजलाई हार मानिँदैन, लगानी मानिन्छ । गुमाइबाट ज्ञान, सीप, क्षमता र अनुभव प्राप्त हुन्छ । त्यसको उपयोग गरेर पछि जितिन्छ, कमाइन्छ ।
सित्तैंमा त केही कुरा पनि सिकिँदैन । उमेर, समय र पैसा लगानी गर्नैपर्छ । उमेर पनि महŒवपूर्ण हुन्छ । कसैले २५ वर्षमा सिक्ने कुरा कसैले २२ वर्षमै सिक्ला, तर १२ वर्षमा सिक्न सक्दैन । सेयरबारे क्याम्पसमा पढेको छैन, अनौपचारिक शिक्षा पनि लिएको छैन र काम गरेर अनुभव पनि लिएको छैन भने गुमाउन नै तयार हुने हो ।
पढ्दा, शिक्षा लिँदा, काम गर्दा सबै अवस्थामा उमेर, समय र पैसाको लगानी भएकै हुन्छ । कतिपयले सित्तैंमा सिकेको पनि भन्लान् । प्रत्यक्ष कुनै प्रशिक्षक वा गुरुलाई पैसा नदिएको होला । तर, सिक्ने समयमा अरू काम गरेको भए केही आम्दानी हुने थियो । त्यो आम्दानी गुमाएर सिकेको हो । त्यसैले सिक्दा खर्च भएकै मान्नुपर्छ ।
पुराना पुस्ताका मानिसहरू साइकल सिक्दा चोटपटक लगाउँथे र औषधोमूलो गर्दा खर्च हुन्थ्यो । अहिलेका केटाकेटी प्रायः चोटपटकबिना नै साइकल सिक्छन् । पहिले सबैका लागि एउटै अर्थात् अग्लो साइकल हुन्थ्यो । केटाकेटीले नपल्टाई, चोट नलगाई सिक्न सम्भव थिएन । अहिलेका केटाकेटीले सानै साइकल सिक्छन् । ठूलो साइकल सिक्दासम्म उपचार खर्चभन्दा धेरै खर्च साना साइकलमा भइसकेको हुन्छ ।
सेयर बजारबारे अनभिज्ञ मानिसहरू प्रायः सेयरको मूल्य उच्च भएको बेला बजार प्रवेश गर्छन् । किनकि मूल्य तल रहेको वा स्थिर रहेको बेला बजारको चर्चा भएको हुँदैन र उनीहरूलाई थाहा हुँदैन । सिकारु बजारमा जति प्रवेश गर्छन्, पुराना अनुभवीका लागि उति कमाउने अवसर हुन्छ ।
अरूले कमाएको देखेर मानिसहरू बजारमा हाम फाल्छन् । कमाएको मानिसले नयाँलाई बजारमा आउन उक्साउने, प्रोत्साहन गर्ने गर्छ । नयाँ मानिस पुरानाका लागि सिकारजस्तै हो । तर, यहाँ अरूले कमाउँछ भने मैले गुमाउनुपर्छ र मैले कमाउँछु भने अरूले गुमाउनुपर्छ भन्ने सत्य बुझ्नुपर्छ ।
पढेर, तालिम लिएर, समय लगाएर बजारमा प्रवेश गर्नु र यत्तिकै बजार प्रवेश गर्नुमा अन्तर हुँदैन । पढेर सिक्दा पनि पैसै खर्च गर्ने हो । त्यसको बदला एकैपटक पैसा लगाउने, पैसा गुम्छ । यसबाट पनि सिकिन्छ । एक जनाले राम्ररी सिकेर अर्को साल मात्र जाँच दिन्छु भनेर यो वर्ष तयारी गर्छ । दोस्रोले यस पटक जाँच दिन्छु, पास नभए अर्को साल पनि दिन्छु भन्छ । अर्को वर्षको परीक्षामा दोस्रोले बढी अंक पाउँछ ।
परीक्षामै सहभागी भएपछि बढी सिकिन्छ । त्यहाँ तनाव, दबाब र एकाग्रता सबै सिर्जना हुन्छ । यसले छिटो सिकाउँछ । फेल भएको परीक्षामा देखेको प्रश्नको उत्तर खोजीमा पछि पनि जति एकाग्रता हुन्छ, कक्षाकोठामा देखेको प्रश्नको उत्तर खोजीमा त्यति हुँदैन । पोख्त भएर परीक्षा दिने कि परीक्षा दिँदै सिक्दै जाने ? जे गर्दा पनि फरक पर्दैन । मात्र उद्देश्य सिक्ने, जित्ने, पास हुने र कमाउने राख्नुपर्छ । सवारी चालक, पाइलट र डाक्टर पेसाजस्तो संवेदनशीलता सबै ठाउँ आवश्यक पर्दैन ।
त्यसैले सिक्नका लागि गुमाउन तयार हुनुपर्छ । सिक्दासिक्दै पनि कमाइ भयो भने यो सोच्नु कि सामान्यतया पढ्दा खर्च नै गर्ने हो, तर राम्रो गर्न सके पुरस्कार र छात्रवृत्ति पाएर कमाइ पनि हुन्छ । अलिअलि बुझ्दैमा कमाउँछु भन्ने मुर्खता गरियो भने डुबिन्छ । पक्का कमाइन्छ भन्ने ओभर कन्फिडेन्स भयो भने भएभरको सम्पत्ति, अझ ऋण गरेर पनि सेयरमा लगाइन्छ । सिक्दा गुम्ने नै सम्भावना बढी छ भन्ने स्वीकार गरियो भने थोरै–थोरै मात्र लगानी गरिन्छ । यसबाट गुम्ने थोरै र सिक्ने धेरै हुन्छ ।
मानौं, १० हजार गुमाएर सिकेको ज्ञानले १ लाख कमाउन सकिन्छ । तर, सुरुमै १ लाख गुमाइयो भने त्यसपछि गुमनाम भइन्छ । बजारलाई गाली गरेर अरूलाई दोष लगाएर हिंड्नुपर्ने हुन्छ । अझ अर्को सत्य त के हो भने तपाईं बुद्धिमान भए थोरै गुमाएर पछि धेरै कमाउनुहुन्छ । तर, त्यो कमाउनका लागि पनि अरू मुर्खहरू बजारमा छिर्नुपर्छ ।
सेयर बजारको कमाइको सम्भावनालाई बमगोलाको उदाहरणबाट बुझ्न सकिन्छ । मानौं, बमगोला पास गर्दा ज्याला पाइन्छ । तर, जसको हातमा बम पड्कन्छ, उसको हात जल्छ । बम त अवश्य पड्कन्छ तर कहिले पड्कन्छ भन्ने थाहा छैन । सेयरको मूल्य बढ्दा फाइदा हुने हो तर बढेपछि एक दिन त अवश्य घट्छ ।
सेयर ठ्याक्कै तासजस्तो होइन । तास खेल्दा सबै गुम्न सक्छ । सेयरमा पैसा जति गुमे पनि किनेको कित्ता त हातमै हुन्छ । जति मूल्य घटे पनि होल्ड गरेर राख्दा त्यसको मूल्य फेरि बढ्न पनि सक्छ । तासमा अर्कोले जति हार्छ, आफूले त्यति जित्ने हो । सेयरमा कम्पनीले दिने लाभांश भनेको अर्कोले नहारे पनि आफूले जित्ने पैसा हो ।
अर्कोले नहारी जितिने पैसा अर्थात् लाभांश एकदमै कम हुन्छ । उदाहरणका लागि युनिलिभर कम्पनीको सेयर मूल्य २० हजार रुपैयाँ छ । अहिले उक्त कम्पनीले १ सय प्रतिशत लाभांश दिएको छ । यसको अर्थ २० हजार रुपैयाँ लगानी गरेर वर्षमा १ सय रुपैयाँ लाभांश आउँछ । विगतमा यसले १ हजार प्रतिशत पनि लाभांश दिन्थ्यो र भविष्यमा पनि दिन सक्छ । १ हजार प्रतिशत दिँदा पनि वार्षिक ५ प्रतिशत मात्र रिटर्न हुन्छ ।
सेयर बजारमा ९०-९५ प्रतिशतले गुमाउँछन् र ५-१० प्रतिशतले मात्र कमाउँछन् भन्ने गरेको सुनिन्छ । यसबाट यहाँ कमाउने अवसर प्रशस्त देखिन्छ । ९०-९५ प्रतिशत मानिस मूर्ख भएर गुमाउने हुन् । आफू बुद्धिमानी भइयो भने तिनले गुमाएकोबाट कमाउन सकिन्छ । सेयरमा ज्ञान नभएकाले गुमाउने होइन । आफूलाई ज्ञान छैन भन्ने थाहा भएकाले सेयर नै किन्दैन वा थोरै थोरै किनेर सिक्छ ।
नेपालको अहिलेको बजार हेर्ने हो भने कम्पनीहरूका सेयर मूल्य धेरै माथि गएका छन् । कहिले झर्छन् भन्न त सकिँदैन । तर जति माथि जान्छन्, जोखिम त्यति बढ्दै जान्छ भन्न सकिन्छ । दूरदराजदेखि सहरबजारसम्म मानिसहरूले मजदुरी, जागिर, व्यापार, उद्यम, वैदेशिक रोजगारी, खेती कृषिबाट बचत गरेको पैसा सेयरमा लगाएका छन् । बजार बियरिसमा गएपछि उनीहरू डुब्छन् भन्ने ठोकुवा गर्दै सेयर विश्लेषक र पुराना लगानीकर्ताहरूले बोलेका भनाइ अहिले ट्रोल भइरहेका छन् ।
सामान्यतया बचतको २०-३० प्रतिशतभन्दा बढी सेयर बजारमा लगाउनु हुँदैन भनेर सर्वसाधारणलाई सचेत पार्ने गरिन्छ । जति नै सचेत पार्दा पनि सोझासीधा मानिसहरू सेयर बजारबाट फस्छन् । मानिसमा लोभ र डर भन्ने तत्व हुन्छ । लोभले गर्दा जोखिम नदेखी खरिद गर्छन् । डरले गर्दा अवसर नदेखी बिक्री गर्छन् ।
सेयरको मूल्य बढ्नुले देशको अर्थतन्त्रमा कुनै लाभ पुग्दैन । कम्पनीको नाफा बढ्नु र पुनः लगानी बढ्नुले मात्र अर्थतन्त्रलाई लाभ पुग्ने हो । त्यसैले धेरै देशमा दोस्रो बजारमा सेयर किन्न ऋण सुविधा उपलब्ध गराइँदैन । नेपाललगायत कतिपय मुलुकमा सेयर धितोमा बजार मूल्यको ७० प्रतिशतसम्म बैंक कर्जा पाइन्छ । सेयर किन्नलाई नै कर्जा दिने नीति भएपछि बचतको यति अंश मात्र सेयरमा लगानी गर्नुहुन्छ भन्ने आदर्शको खासै अर्थ रहँदैन ।

प्रतिक्रिया दिनुहोस्