पर्यटन व्यवसायलाई तत्काल पुनर्जीवन दिने उपाय «

पर्यटन व्यवसायलाई तत्काल पुनर्जीवन दिने उपाय


कला, संस्कृति, वेशभूषा, सांस्कृतिक संरचनाहरू र प्राकृतिक सम्पदाहरूको अवस्था पहिलेको जस्तो विशिष्ट नरहे पनि तिनै सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकन गर्न पर्यटकहरूको आगमनमा बर्सेनि वृद्धि भइरहेकै थियो ।

तर, कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण वि.सं. २०७६ को चैतदेखि अन्य देशहरूमा झैं हाम्रो देशको पर्यटन व्यवसायमा पनि ग्रहण लाग्यो । कोभिडको प्रकोप विश्वभर भए पनि विभिन्न देशहरूले अन्य आर्थिक गतिविधिलाई सुरक्षित रूपले जारी राखे । परिस्थितिअनुसार स्वास्थ्य र सुरक्षा मापदण्डहरू अपनाउँदै आर्थिक गतिविधिहरू र अर्थतन्त्रको तौरतरिका बदलेर कतिपय देशहरूले यही प्रकोपको दौरानमा ठूलो फड्को मारेका छन् । तर, हाम्रो देशमा भने उद्योगधन्दा, व्यापार–व्यवसाय, पूर्वाधारसहितका निर्माणजन्य गतिविधिहरू, स्थानीय स्रोत सम्पदामा आधारित कृषिसहितका उत्पादनशील क्षेत्रहरू, पर्यटन गतिविधि र जनजीविकालाई एकाएक पूर्ण रूपमा रोक्दै तीव्र रूपमा कोभिडको व्यावसायिक खेती गरियो । जिम्मेवार निकायका गैरजिम्मेवार पदाधिकारी तथा तिनका आसेपासेहरू गाँस, बास र लासमाथि व्यापार गरेर अथाह कमाउन व्यस्त रहे ।


स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनजीविका तथा देशको अर्थतन्त्र चलायमान गराउने सुरक्षित वैकल्पिक तरिका अवलम्बन गर्न÷गराउन सकिन्थ्यो । प्रभावित क्षेत्रहरूमा स्मार्ट लकडाउन गरेर व्यावसायिक कृषि, जडीबुटीको अध्ययन, अनुसन्धान, यसबाट औषधि उत्पादन तथा बजारीकरण, जलस्रोतको सदुपयोग, पूर्वाधार निर्माण र सुरक्षित रूपमा पर्यटकीय गतिविधिहरू सुचारु गर्न सकिन्थ्यो । स्वास्थ्य सुरक्षाका मापदण्डहरू नेपाल सुरक्षित रहेको जानकारी गराउँदै सहज र सुरक्षित आगमनको व्यवस्था गरेको भए विश्वभरका पर्यटकहरू नेपाल हिमालय क्षेत्रमा ओइरिन सक्थे । यही समयमा पर्यटनकै माध्यमबाट देशले काँचुली फेर्न सक्थ्यो ।


तर अन्धो–बहिरो घिचाहा–मिचाहा सरकार र यसका सम्बद्ध निकायहरू अहोरात्र देशको अर्थतन्त्र तहसनहस पार्ने दुष्कर्ममा मात्र तल्लीन छन् । राज्यले पर्यटन व्यवसायी, पेसाकर्मी तथा तिनका परिवारहरूलाई जीवनमरणको दोसाँधमा पार्ने दुष्कर्म गरेको छ । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायमा राज्यले नै तालाबन्दी गराएको छ । देशको अर्थतन्त्र पूर्ण रूपमा धरापमा पार्दै नियोजित रूपमै देशलाई पराश्रित र पराधीन गराउने दुष्कर्म तथा राज्यापराध गरिएको छ ।


अन अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावासहरूबाट भिसा लिँदा पनि विविध औपचारिकताको अनावश्यक झन्झट, खोप लगाएका पर्यटकहरूले पनि क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर टेस्ट गर्नुपर्ने व्यवस्थाले टाइट सेड्युल भएका तथा छोटो अवधिको भ्रमणमा आउने अधिकांश स्तरीय पर्यटकहरूलाई नेपाल भ्रमणको समय नपुग्ने, देशका अधिकांश भागमा अझै पनि आआफ्नै किसिमको पर्यटक निषेधको अवस्था, अध्ययन तथा फिल्मिङ आदि विशिष्ट पर्यटकीय गतिविधिको अनुमतिका लागि प्रक्रियागत झन्झट, काठमाडौंबाट पदयात्रा अनुमति लिएर गए पनि त्यसलाई मान्यता नदिएर कतिपय ठाउँहरूमा छुट्टै अनुमति लिनुपर्ने आदि झन्झटले नेपालको पर्यटन व्यवसाय उँभो लाग्ने देखिँदैन ।


पहिले नै सलामी दस्तुर बुझाइसकेका र विशेष सहजताका कारण पर्वतारोहण क्षेत्र नगण्य रूपमा चलेको भए पनि बाँकी सबै पर्यटकीय गतिविधिहरू हाल शून्यको अवस्थामा छ । पर्यटकको सुरक्षित सहज आगमन र सहज भ्रमणको व्यवस्था नहँुदा होटल, रेस्टुरासहितका क्षेत्रमा गरिएको ठूलो लगानी डुब्ने अवस्थामा रहेको छ । सन् २०२० को नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने सरकारी घोषणामा साथ दिन पर्यटन यातायात व्यवसायीहरूले पनि अर्बौं ऋण लगानीमा खरिद गरिएका सुविधासम्पन्न गाडीहरूमा खिया लागेको छ भने यातायात व्यवसायीहरू ऋणको बोझमा थिचिएका छन् । पर्यटन व्यवसायीहरूले यस क्षेत्रबाट हात धुनुपर्ने अवस्था सिर्जना गरिएको छ । देशको चौथो ठूलो रोजगारीको आधार रहेको यस क्षेत्रका कतिपय दक्ष जनशक्ति र व्यवसायीहरू पलायन भइसके भने कतिपय वैकल्पिक जीविकाको खोजीमा रहेका छन् ।


झन्डै दुई वर्षदेखि नेपाल भ्रमणको प्रतीक्षामा रहेका पर्यटकहरूको सहज आगमनको व्यवस्था गर्नुको सट्टा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनको नाटक गरिरहेको छ । वर्तमान परिस्थितिमा पर्यटन प्रवद्र्धन हाम्रो पहिलो प्राथमिकता होइन । पहिले नेपाल भ्रमणको योजना बनाएका इच्छुक पर्यटकहरूको सुरक्षित सहज आगमन र देशभर सुरक्षित भ्रमणको व्यवस्था गर्नुप¥यो । त्यसपछि मात्र पर्यटन प्रवद्र्धनका प्रभावकारी उपायहरू अपनाउन सकिन्छ । यदि पर्यटक आगमनमा विविध अड्चन गरिएको अहिलेको विद्यमान व्यवस्था यथाशीघ्र परिवर्तन गरिएन भने पछि यस क्षेत्रमा दक्ष जनशक्ति पाउन गाह्रो हुनेछ । दक्ष जनशक्तिबिना गुणस्तरीय पर्यटकीय सेवा प्रदान गर्न सकिँदैन । गुणस्तरीय पर्यटकबिना देशको अर्थतन्त्रमा ठूलो योगदान हुन सक्दैन ।


यति मात्र होइन, पर्यटक आगमन तथा भ्रमणको हालको विद्यमान व्यवस्थामा तत्काल सुधार नगरेमा यहाँ आउन खोज्ने पर्यटकहरू यहाँकै जस्तो सांस्कृतिक र भौगोलिक विशेषतासँग मिल्दोजुल्दो देशहरू इन्डिया, भुटान तथा तिब्बतमा जान सक्छन् । पर्यटकहरूबाट भित्रिन सक्ने ठूलो परिमाणको विदेशी मुद्रा यहाँको प्रक्रियागत झन्झटका कारण हाम्रा छिमेकी देशहरूमा जान सक्छ । त्यसैले अनावश्यक भाषणबाजी वा हावाका भरमा कुरा गरेर समय तथा अर्थतन्त्रको थप बर्बादी गर्नुको सट्टा विद्यमान प्रक्रियाहरूलार्ई यथाशीघ्र सरल र सहज गर्नुका साथै अनलाइन, द्रुत, एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्छ ।

पर्यटन क्षेत्रको विकास र यसबाट समृद्धि हासिल गर्ने स्मार्ट उपायहरू
विभिन्न देशहरूमा हिंसात्मक द्वन्द्व, रोगको महामारी, राजनीतिक अराजकता आदि अस्थिर र असुरक्षित गतिविधि भइरहेका भए पनि पर्यटनसहितका आर्थिक गतिविधिहरू सुरक्षित रूपले जारी राखिएका छन् । हाम्रो देशमा पर्यटनको अथाह सम्भावना भएको, कोभिड खोप लगाएका विश्वभरका लाखौं पर्यटकहरू नेपाल भ्रमणको सहज व्यवस्थाको प्रतीक्षामा रहेको र यहाँ कोभिड रोग राज्यको नियन्त्रणमै रहेको अवस्था भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर पर्यटकहरूकोे सहज आगमन तथा भ्रमणको व्यवस्था गर्न सकिन्छ ।

व्यक्तिगत तथा दलीय फाइदाका लागि रातारात संविधान, ऐन, कानुन बदल्न सकिन्छ भने देशको हितका लागि आवश्यक व्यवस्था तथा कार्यविधि बदलेर सहजता अपनाउन किन ढिलाइ गर्ने ? अब एक महिनामा सुनौलो पर्यटकीय सिजन सुरु हुँदैै छ । यो पर्यटकीय सिजनबाट तत्काल फाइदा लिन र दीर्घकालीन रूपमा पर्यटन क्षेत्रको माध्यमबाट समृद्धि हासिल गर्न राज्यले यथाशीघ्र निम्नानुसार स्मार्ट उपायहरू अपनाउनुपर्छ :
१. कोभिडको खोप लगाएका पर्यटकहरूलाई विश्वसनीय अनलाइन पेपर भिसा तथा अन अराइभल भिसाको व्यवस्था गर्ने ।
२. कोभिड खोप लगाएको प्रमाणका आधारमा भिसा प्राप्त गरेका पर्यटकहरूलाई योजनानुसार सीधै पर्यटन भ्रमण तथा पर्यटन गतिविधि सञ्चालनको व्यवस्था गर्ने ।
३. पर्यटन क्षेत्रमा सम्बद्ध सम्पूर्ण व्यवसायी, जनशक्ति तथा समुदायलाई यथाशीघ्र कोभिड खोप लगाउने । हाम्रो देशमा पर्वतारोहण, टे«किङ, ¥याफ्टिङ, माउन्टेन फ्लाइट मात्र नभएर समुदायमा आधारित सांस्कृतिक पर्यटन पनि भएकाले समग्रमा सबै नेपालीलाई सरकारको उच्च प्राथमिकताअनुसार यथाशीघ्र खोप लगाउने व्यवस्था गर्ने ।
४. निषेधित वा नियन्त्रित क्षेत्रको पदयात्रा आदि अनुमति दस्तुर अनलाइन भुक्तानीका साथै पर्यटकको पासपोर्ट र नेपाल भिसा नम्बरका आधारमा अनलाइन अनुमति दिने व्यवस्था गर्ने ।
५. विभिन्न किसिमका जोखिमहरूबाट बच्न, सम्भाव्य गैरकानुनी र अनैतिक गतिविधिहरूलाई निरुत्साहित गर्न, सुरक्षित जिम्मेवार पर्यटकीय गतिविधि गर्न तथा रोजगारीको सिर्जनाका साथै राष्ट्रिय आयमा थप टेवा पु¥याउन अनिवार्य रूपमा ट्रेकिङ ट्राभल्स कम्पनीहरूमार्फत मात्र भ्रमणको व्यवस्था गर्ने गराउने ।
६. काठमाडौंबाट टिम्ससहितका यात्रा अनुमति लिएर गएका पर्यटकहरूलाई कतिपय प्रदेश तथा स्थानीय स्वायत्त सरकारहरूले केन्द्रको अनुमतिलाई मान्यता नदिई छुट्टै अनुमति लिनुपर्ने अवस्था छ । संघीय सरकार र यसका सम्बद्ध निकायले आवश्यक समन्वय गरी एकीकृत अनुमतिको व्यवस्था गर्ने । राष्ट्रिय निकुञ्जझंै एक्याप, एमक्याप आदि संरक्षण क्षेत्रहरूको अनुमति नियमित शुल्कमा प्रवेश बिन्दुमै लिन सक्ने व्यवस्था गर्ने ।
७. विश्वका प्रमुख पर्यटक स्रोत देशहरूमा यथाशक्य नेपाली वायुसेवा कम्पनीहरूको सीधा भरपर्दो अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्ने ।
८. आन्तरिक हवाई सेवालाई सुरक्षित, भरपर्दो र स्मरणीय तुल्याउन विमानस्थलसहितका पूर्वाधारहरूको स्तरोन्नतिका साथै नयाँ तथा अत्याधुनिक विमानहरूबाट नियमित समय तालिकाअनुसार उडानको व्यवस्था गर्ने गराउने ।
९. पर्यटनको माध्यमबाट देशका सबै क्षेत्रको सन्तुलित विकासका लागि विराटनगर र धनगढी वा नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरेर ती क्षेत्रमा पर्यटकहरूको सीधा पहुँच गराउने ।
१०. व्यक्तिगत रूपमा मोबाइल एप तथा अनलाइन इन्टरनेट बैंकिङमार्फत रकम भुक्तानीको सहज व्यवस्था भए पनि हालसम्म कम्पनीहरूलाई यो सुविधा नभएकाले कम्पनीको बैंक खाताबाट व्यक्तिगत खातामा रकम जम्मा गरी सम्बद्ध पक्षलाई ट्रान्सफर गर्नुपर्ने वा चेकबाटै भुक्तानी गर्नुपर्ने अवस्था छ । अनलाइन डिजिटल भुक्तानीको आजको युगमा सुरक्षित कार्यविधि बनाएर कम्पनीको अफिसियल बैंक खाताबाट नेपाली वा विदेशी मुद्रामै सहज भुक्तानी गर्ने व्यवस्था मिलाउने ।
११. एउटै व्यक्ति वा समूहको ट्रेकिङ ट्राभल्स कम्पनीलाई छुट्टाछुट्टै दर्ता तथा इजाजत लिनुपर्ने व्यवस्थाको सट्टा एउटै कम्पनी दर्ता गरी एउटै इजाजत पत्रमा सेवाको प्रकार अनुसार ट्रेकिङ वा ट्राभल्स वा दुवै अप्सन राखी सोहीअनुसार बैंक ग्यारेन्टी राख्न र अनुमति शुल्क लिन सकिने व्यवस्था गर्ने ।
१२. नियमित पर्यटकहरूका साथै शैक्षिक अध्ययन भ्रमण र कुनै विशेष भ्रमणमा आउने कतिपय पर्यटकहरूले २ केजीसम्म तौल भएका साना ड्रोनको उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणले अनलाइनबाट अनुमति दिने व्यवस्था गर्ने वा सम्बन्धित स्थानीय निकाय वा प्रशासन कुनै एक निकायबाट अनुमति लिई सम्बन्धित सबै निकायलाई बोधार्थ दिने व्यवस्था गर्ने ।
१३. उपर्युक्त बमोजिमका व्यवस्थाहरू गर्नुका साथै गुणस्तरीय पर्यटकहरू भिœयाउन आवश्यक दक्ष जनशक्तिको उत्पादन, गुणस्तरीय पर्यटकीय सेवा सुविधाहरूको व्यवस्था, गुणस्तरीय पर्यटकीय संरचनाको निर्माण गरी गुणस्तरीय पर्यटकहरू भिœयाउन विश्वभरका ख्यातिप्राप्त न्युज मिडियाहरू, ट्राभल बुक राइटरहरू, डकुमेन्ट्री तथा फिल्म उत्पादकहरू तथा पर्यटन व्यवसायीहरूलाई आह्वान गरेर पर्यटन प्रवद्र्धन गर्ने: गराउने ।
१४. स्थानीय ताजा स्वस्थ्यकर उत्पादनबाटै नेपाली तथा विदेशी खानाका परिकारहरू बनाएर पर्यटकहरूलाई पस्कने गरेमा यहाँको स्थानीय उत्पादनमा वृद्धि हुनुका साथै स्थानीय स्तरमा रोजगारी वृद्धि भई देशको अर्थतन्त्रमा दिगो सुधार हुनेछ ।
१५. केही पर्यटन व्यवसायीहरूले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकहरूबाट स्वतःस्फूर्त रूपमा विशेष आर्थिक सहुलियत पाएको भए पनि तत्काल अर्थतन्त्र उकास्न सकिने यस क्षेत्रका व्यवसायी तथा पेसागत जनशक्तिलाई जोगाइराख्न राज्यले पनि विशेष आर्थिक सहुलियतको व्यवस्था गर्नुपर्छ । यसमा दिइएको सहुलियत र पर्यटक आगमन तथा पर्यटकीय गतिविधिको सहज व्यवस्थाले पर्यटकहरूको आगमनमा निकै वृद्धि भई ठूलो मात्रामा विदेशी मुद्रा देशमा भित्रिनेछ र तत्कालै देशको अर्थतन्त्रमा सकारात्मक असर देखिनेछ आदि ।

भीम चन्द

प्रतिक्रिया दिनुहोस्