मौद्रिक नीति सकारात्मक : घरेलु तथा साना उद्योग महासंघ

नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।
गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न सफल भएको अनुभव रहेको जनाउँदै महासंघले झण्झटिलो संयन्त्रका कारण पनि यसो भएको हुनसक्ने जनाएको छ ।
गत वर्षको मौद्रिक नीतिमा गरिएको केही व्यवस्थालाई निरन्तरता दिइएकाले विगतको भन्दा चुस्त संयन्त्र मार्फत कर्जा दिने व्यवस्था हुन जरुरी भएको महासंघका अध्यक्ष श्याम गिरीले बताए ।
मौद्रिक नीतिले महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था, कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनरकर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको भन्दै महासंघले स्वागत गरेको हो ।
लघु, घरेलु, साना तथा मझौला उद्यम/व्यवसायलाई प्राथमिकता दिने नीति, कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाउँपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा कृषि, लघु तथा घरेलु कर्जा सम्बन्धी फोकल डेस्कको स्थापना हुने व्यवस्था वास्तविक कृषि व्यवसायीलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई सकारात्मक आशा जगाएको महासंघले जाएको छ ।