खानेपानी सिँचाइ र ऊर्जामा २६ करोड खर्च, ९९ योजना निर्माण «

खानेपानी सिँचाइ र ऊर्जामा २६ करोड खर्च, ९९ योजना निर्माण


जुम्लामा खानेपानी सिंँचाइ तथा ऊर्जा विकासको क्षेत्रमा करिब २६ करोड बढी बजेट खर्च भएको छ । खानेपानी सिँंचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन बजेटको ८६ दशमल ९ प्रतिशत अर्थात् २६ करोड ५५ लाख ४५ हजार रुपैयाँ सिँचाइ खानेपानी तथा ऊर्जा विकासको क्षेत्रमा खर्च गरेको छ । कार्यालयलाई गत आवमा सिँंचाइ, खानेपानी, ऊर्जा विकास र तटबन्ध गरी चार शीर्षकमा जम्मा ३० करोड ४९ लाख बजेट विनियोजन भएको थियो ।


जसमा कोरोना कहरका बीच पनि असार मसान्तसम्म कुल बजेटको २६ कररोड ५५ लाख ४५ हजार बजेट खर्च भएको खानेपानी सिँंचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अनुष श्रेष्ठले बताए । उनका अनुसार विनियोजित बजेटमध्ये करिब साढे तीन करोड बजेट खर्च नभएर फ्रिज भएको छ । कोरोना करहका बीच पनि कार्यालयको पुँजीगत प्रगति सन्तोषजनक रहेको छ ।


सिँंचाइतर्फ कुल विनियोजित बजेट ११ करोड ३५ लाख रहेकोमा असारसम्म सिँचाइ क्षेत्रको विकासमा १० करोड ४३ लाख ५ हजार खर्च भएको छ । त्यस्तै नदी नियन्त्रणतर्फ विनियोजि कुल बजेट २ करोड ८६ लाखमध्ये खर्च २ करोड ८४ लाख ८१ हजार भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार खानेपानीतर्फ विनियोजित कुल ११ करोड १९ लाख बजेटमध्ये खर्च ८ करोड ४५ लाख १२ हजार भएको छ भने ऊर्जातर्फ विनियोजित कुल दुई करोड १९ लाखमध्ये दुई करोड १८ लाख बजेट खर्च भएको हो । साथै कर्णाली उज्यालो कार्यक्रममा प्रदेशबाट विनियोजित दुई करोड ९० लाख २ करोड ६३ लाख खर्च भएको छ ।

९९ वटा योजना निर्माण
खानेपानी, सिंँचाइ तथा ऊर्जा विकास कार्यालयले गत आर्थिक वर्षमा खर्च गरेको साढे २६ करोड बजेटबाट जुम्लामा ९९ वटा योजना निर्माण भएका छन् । यद्यपि केही योजना क्रमागत छन् भने केही योजना सम्पन्न भइसकेका छन् । गत आवमा कार्यालयमा विनियोजित बजेटका आधारमा योजना निर्माणले पूर्णता पाएको कार्यालय प्रमुख अनुप श्रेष्ठले बताए ।


उनका अनुसार गत आवमा निर्माण भएका ९९ वटा योजनामध्ये सबैभन्दा बढी खानेपानीका ३६ वटा योजना छन् । त्यसअन्तर्गत ट्यांकी निर्माण, धारा निर्माण, मुहान संरक्षणलगायतका काम भएका छन् भने, सिँचाइतर्फका २४ वटा योजना निर्माण भएका छन् । जिल्लाका आठै स्थानीय तहमा माग र आवश्यकताका आधारमा सिँचाइ कुलो निर्माण भएका छन् ।

त्यस्तै नदी नियन्त्रण तथा तटबन्धतर्फ २१ वटा योेजना निर्माण भएको कार्यालय प्रमुख श्रेष्ठकोे भनाइ छ । बाढी, नदी कटानको जोखिम रहेका क्षेत्रमा मात्रै तटबन्ध गरिएको कार्यालयले जनाएको छ भने ऊर्जा विकासतर्फ सातवटा योजना मर्मत सम्भार तथा पुनर्निर्माण भएका छन् । जसमा पावर निर्माण, नहर निर्माण, सामग्री खरिद गरेर दुर्गम गाउँमा रहेका लजविद्युत् आयोजनालाई सञ्चालनमा ल्याइएको छ ।


सबै योजना निर्माणको काम उपभोक्ता समितिबाटै गरिएको छ । कार्यालय प्रमुख अनुप श्रेष्ठले भने, “यसले गर्दा स्थानीयलाई रोजगारीसँंगै गाउँमा विकास भएको छ भने आफूले निर्माण गरेको योजना संरक्षण गर्नुपर्छ भन्ने अपनत्व पनि लिने गरेको पाइएको छ ।”
सिँचाइका क्षेत्रमा करोडौं खर्च गरे पनि हालसम्म जुम्लामा सिञ्चित जमिन कति छ भन्ने एकिन तथ्यांक छैन । प्राविधिक जनशक्ति र बजेट अभावले तथ्यांक संकलनमा समस्या रहेको बताइएकोे छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बनाउँदै गरेको खानेपानी ट्यांकी । तस्बिर : कारोबार

प्रतिक्रिया दिनुहोस्