स्वास्थ्य बिमाका लागि १४ जिल्ला छनोट «

स्वास्थ्य बिमाका लागि १४ जिल्ला छनोट

चालू आर्थिक वर्षमा सरकारले थप १४ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने भएको छ । दोस्रो चरणको कार्यक्रम लागि सरकारले उक्त जिल्ला छनोट गरेको हो । थपिएका जिल्लासहित चालू आवको अन्त्यसम्ममा ३९ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुनेछ । 

चालू आवका लागि सरकारले पूर्वी नपालदेखि सुदुर पश्चिमका जिल्लाहरू छनोट गरेको छ । जसमा बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकुम, अर्घाखाँची, प्युठान, कपिलबस्तु, रामेछाप, सिरहा, खोटाङ र भोजुपर परेका छन् । यी जिल्लाहरूमा चालू आवमा नै कार्यक्रम सञ्चालन गर्ने तयारी भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका लेखा प्रमुख शालिकराम पराजुलीले जानकारी दिए । 

पहिलो चरणको कार्यक्रमका लागि सरकारले गत आवमा २५ जिल्ला छनोट गरेको थियो । जसमध्ये गत मंगलबार थप चार जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । यससँगै कार्यक्रम सञ्चालन भएका जिल्लाको संख्या २२ पुगेको छ । उक्त जिल्लामध्ये १५ वटा जिल्ला स्वास्थ्य उपचार सेवा नै सुरु भएको छ भने बाँकी रहेका ७ जिल्लामा असोजदेखि दर्ता प्रक्रिया सुरु भएको हो ।

जसमा आगामी मंसिरदेखि नै उपचार सेवा सुरु हुनेछ । तर, निर्वाचनका कारण भने महोत्तरी, रौतहट र पर्सामा कार्यक्रम सञ्चालन गर्न नसकिएको समितिका लेखाप्रमुख पराजुलीले बताए । स्वास्थ मन्त्रालयद्वारा आयोजित स्वास्थ्य बिमा कार्यक्रम कैलाली जिल्लादेखि सुरु भएको हो । पहिलो चरणको कार्यक्रमअन्र्तगत नमूना परीक्षणका लागि कैलाली, बाग्लुङ र इलाम छनोट गरिएको थियो ।

२०७२ साल चैत २५ देखि कैलालीमा कार्यक्रम सञ्चालन गरिएको थियो । बाग्लुङ र इलाममा २०७३ असार १५ देखि कार्यक्रम सञ्चालन गरिएको थियो । २०७३ पुसदेखि अछाम, बैतडी, कास्की, पाल्पा र म्याग्दी जिल्लामा पनि समितिले बिमा कार्यक्रमलाई विस्तार ग¥यो ।

यस्तै, २०७४ असार महिनामा भक्तपुर, गोर्खा, तनहँु, चितवन, जुम्ला, जाजरकोट र मकवानपुरमा कार्यक्रम विस्तार गरिएको थियो भने असोज महिनामा झापा, सुनसरी, सोलु, बर्दिया, रोल्पा, सुर्खेत, सिन्धुली पनि कार्यक्रम विस्तार गरिएको थियो । आगामी तीन वर्षभित्र यसलाई मुलुकभर विस्तार गर्ने सरकारको योजना रहेको छ । 

कार्यक्रमअनुसार प्रत्येक परिवारमा पाँच जनासम्मले स्वास्थ्य बिमा गराउन सक्नेछन् । पाँचजना सदस्य बराबर २ हजार ५ सय बिमाशुल्क भुक्तानी गरेबापत उक्त परिवारले ५० हजारसम्मको स्वास्थ्य बिमा प्राप्त गर्नेछन् । तर अति गरीब वर्गमा परेका नागरिकलाई भने उक्त बिमा शुल्क शतप्रतिशत छुट हुनेछ ।

यस्तै, मध्यम गरिब र गरिब वर्गका नागरिकले क्रमश ७५ र ५० प्रतिशतसम्मको छुट पाउनेछन् । सरकारले गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचयपत्रको आधारमा गरिबीको पहिचान गरी छुट प्रदान गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्