कुलुङका कथाव्यथा! «

कुलुङका कथाव्यथा!

नेपालका प्राचीन जातिमध्ये किरात महाजातिभित्रको एक जाति (समुदाय) कुलुङ जाति पनि हो । कुलुङ जातिको ऐतिहासिक भूमि उत्पत्ति थलो ‘महाकुलुङ’ हो । हालको भौगोलिक विभाजनअनुसार ‘महाकुलुङ’ एक नम्बर प्रदेशको सगरमाथा अञ्चलको सोलखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्छ भने ‘महाकुलुङ’ क्षेत्रमा तत्कालीन छेस्खाम, बुङ, गुदेल, सत्तो-सोताङ, पावै गाविसहरू पर्छन् । पछिल्लो राज्य संरचनाअनुसार यो भू–क्षेत्र महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पर्छ ।
कुलुङ समुदायको जीवनचक्रअनुसार गएको पुस १५ (वि.सं. २०७७) देखि किरात संवत् यले दोङ–५०८१ सुरु भयो । यसले पनि किराती कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्ये एक रहेको जनाउँछ । विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भनेझैं कुलुङ समुदायको जीवन–चक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । त्यसो त स्वदेशी तथा विदेशी इतिहासकार तथा विद्वान्हरूले लेखेको विभिन्न किताबहरूमा पनि सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित तत्कालीन संरचनाअनुसार छेस्खाम, बुङ, गुदेल, सत्तो-सोताङ र पावै गाउँ पञ्चाय (पछि गाविस) लाई ‘महाकुलुङ’ भनेर लेखेको भेटिन्छ । अरू जातिको भन्दा भिन्न र फरक जातीय स्वपहिचान, विगत लामो समयदेखि पितापुर्खाहरूले चर्ची आएको ऐतिहासिक भूमि, मातृभाषा, वेशभूषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन, परम्परागत कानुन, मूल्य–मान्यता, हामी भन्ने भावना आदि भएको कुलुङ जातिलाई राज्यले भने हालसम्म कुलुङ जातिलाई अलग्गै जातिको रूपमा मान्यता दिएको छैन, एक किसिमले भन्ने हो भने ‘राई’ जातिमा जबरजस्ती गाभिएको अवस्था छ ।
कुलुङलाई राज्यले राई जातिमै गाभ्नुमा सहायक कारणहरू धेरै भए तापनि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत राई जातिको नाममा खुलेको सामाजिक संस्था ‘किरात राई यायोक्खा (समाज कल्याण परिषद् दर्ता नम्बर–२६५६, कथामंदु जिल्ला प्रशासन कार्यालय दर्ता-रजिस्टर्ड नम्बर–३२८-०४९-०५०)’ को हर्ताकर्ताहरूको मुख्य र ठूलो हात रहेको छ । तापनि जातीय स्वपहिचान, मातृभाषा, वेशभूषा, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन आदिमा सचेत नेपालका केही जातिहरूमा कुलुङ जाति वा समुदाय पनि पर्छ भन्दा अतिशयः नहोला । तथापि वास्तविक कुरो नलुकाई र नढाँटी भन्ने हो भने ‘महाकुलुङ’का ‘कुलुङे’हरूको सुखदभन्दा पनि दुःखद कथाव्यथाहरू नै धेरै छन् । त्यसो त आधुनिकतासँगै पछिल्लो पटक आएको विज्ञान, प्रविधि, भौतिक पूर्वाधार, नयाँनयाँ चिजबिज र वस्तुहरूलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरू जे कुरोमा रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्दैन ।
कुलुङ जातिका अगुवाहरूले आफ्नो समुदाय (कुलुङ) ‘राई’ जाति नभएर अलग्गै कुलुङ जाति हो भनी आफ्नो जातीय स्वपहिचानका लागि लागिपरेका छन्÷हुन् । उनीहरू वि.सं २०५७-०५८ देखि आफ्नो असली जातीय स्वपहिचान ‘कुलुङ’लाई चिनाउन र अरू जातजातिमाझ स्थापत गराउन लागिपरेका हुन् । त्यसैले कुलुङ जातिलाई अलग्गै ‘कुलुङ जाति’ भनी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) अनुसार छुट्टै जातिका रूपमा सूचीकृत गरियोस् भनी सरकारसँग माग गरेको एवम् जनवकालत सुरु गरेको पनि २१÷२२ वर्ष बितेको छ । स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो । यस हिसाबले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जात वा जातिहरूको जस्तै अलग्गै मातृभाषा छ । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरू (‘महाकुलुङ’ क्षेत्रको छेस्खाम, बुङ, गुदेल, सोताङ, पावैबीचमै भाषागत फरकपन छ भने भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङलगायतका कुलुङहरूले बोल्ने भाषामा धेरै फरक छ ।
कुलुङ जातिका अगुवाहरूको जातीय स्वपहिचानको आन्दोलन र जनवकालतको फलस्वरूप वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ आएको छ भने कुलुङ मातृभाषाका वक्ता संख्या भने ३३ हजार १ सय ७० आएको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणना (वि.सं. २०७८) मा पनि कुलुङ जातिका लागि अलग्गै जातिगत र भाषागत कोड उपलब्ध गराएको छ । केन्द्रीय तथ्यांक विभागले १२ औं जनगणनामा कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने कुलुङ ‘भाषागत कोड–२९’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्