मेलम्ची बाढीपीडितलाई सत्तामा पुगेका नेताको आश्वासनमात्रै «

मेलम्ची बाढीपीडितलाई सत्तामा पुगेका नेताको आश्वासनमात्रै

सिन्धुपाल्चोक-असार १ गते इन्द्रावती र मेलम्ची नदीबाट आएको बाढीले हेलम्बु र मेलम्चीका सयौं घर टहरा बगायो । हजारौं विस्थापित बने । खेतीयोग्य जमिन नदीमा विलय भयो ।
बाढीले मानवीयसहित ठूलो भौतिक क्षति व्यहोरेको मेलम्ची र हेलम्बु क्षेत्रमा तत्काल निरीक्षणका लागि उच्च पदस्थ नेताहरू पुगे । बाढीले पीडित बनाएकालाई सरकारमा पुगेका नेताले विभिन्न आश्वासन दिए ।
बाढीपछि निरीक्षणमा पुगेका प्रधानमन्त्रीसहितका नेतालाई स्थायी पुनर्वास गराउने आश्वासन दिए पनि अझै कुनै पहलकदमी नभएको पीडितहरू बताउँछन् ।
तर, बाढी आएको दुई महिना पुगिसकेको छ । बाढीपछिको अवस्था निरीक्षण गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री राजेन्द्र महतो, सभामुख अग्नीप्रसाद सापकोटा, तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरेश नेपाल पनि मेलम्ची र हेलम्बु पुगेका थिए । सबैले हेलम्बु र मेलम्चीका बाढी पीडितसमक्ष अनेकन प्रतिबद्धता पनि गरे । तर, नेताको पहल र घोषणा दुई महिना बित्दा पनि प्रभावकारी देखिएको छैन । प्रभावित क्षेत्रमा निरीक्षणमाथि निरीक्षण र आश्वासन मात्रैले स्थानीय आजित भइसकेका छन् ।
मेलम्ची पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपीडितका लागि तत्काल जस्ता पाता र अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने प्रतिबद्धता गराएको स्थानीय सोमराज घ्लानले बताए । उनले बाढीपीडीतको स्थायी आवासका लागि हेलम्बुमा प्रतिपरिवार पाँच लाख र मेलम्चीमा चार लाख उपलब्ध गराउने वचन पनि दिएका थिए तर अझै त्यसको कार्यान्वयन भएको छैन ।
अहिले उनी प्रधानमन्त्री छैनन् । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको वचन पूरा गर्छन् या गर्र्दैनन् भन्ने बाढीपीडितलाई चासोको विषय छ ।
उसो त उपप्रधानमन्त्री राजेन्द्र महतो पनि बाढीपीडितको अवस्था बुझ्न मेलम्ची पुगेका थिए । उनले तत्कालका लागि अस्थायी वास प्राथमिकतामा रहेको बताएका थिए । एकीकृत बस्ती बसाल्ने आश्वासन दिँदै उनले सडक निर्माण तत्काल गर्नुपर्ने पनि बताएका थिए ।
बाढीलगत्तै सत्ता र शक्तिमा रहेका अन्य नेता पनि त्यहाँ पुगेका हुन् । सभामुख अग्नी सापकोटा, तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सामाजिक विकास मन्त्रालयका मन्त्री सरेश नेपालले पनि पुनर्वासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, यी सबै आश्वासन बाढी गएको दुई महिनासम्म पनि कतै पहल गरिएको छैन ।
असार १ पछि पनि लगातार आएको मेलम्चीको बाढीले केही घर बगायो, खोला किनारका बस्तीमा कटान ग¥यो । डेढ महिनापछि फेरि सोही प्रकृतिको घटना दोहोरियो । दुई सयभन्दा बढी मेलम्ची किनारका बस्तीका बासिन्दा संकटमा छन् । राहत उद्धार त जरुरी नै यस क्षेत्रका बस्ती स्थायी स्थानान्तरणका लागि योजना नभए जोखिममा रहेका थप घर बग्ने देखिन्छ ।
“नेताहरूको आश्वासन मात्रै आयो, बचेका बस्ती संरक्षणतर्फ पनि कसैको ध्यान गएन,” स्थानीय सागर श्रेष्ठ भन्छन्, “न स्थानीय सरकारले हेरेको छ, न त प्रदेश र संघीय सरकारले नै ।” उनले बस्ती संरक्षणका लागि पीडित आफै जुट्नुपरेको यथार्थ सुनाए । “बाढी हेर्न पर्यटक झैं सत्तामा पुगेका नेताहरु आए,” उनी थप्छन्, “बाढीपीडितलाई आश्वासन दिए, अनि राजधानी पुगेर बिर्सिए ।”
प्रभावित क्षेत्रमा पुगेका सबै नेताले विभिन्न आश्वासन बाँडे । बस्ती जोगाउन आश्वासन दिएर फर्केका नेताहरू त्यसयता बाढीग्रस्त मेलम्ची र हेलम्बुमा क्षेत्रमा फर्केर पुगेका छैनन् न त थप चासो नै राखेका छन् ।
पहिरो थुनिएर लेदोसहित मेलम्ची खोलामा आएको बाढीले घर र खेतीयोग्य जमिन कटान गरिरहेको छ । “मनसुनअघि कुनै पनि सरोकारवालाको ध्यान यता आउँदैन । तर जब बाढी आउँछ सबैले निरीक्षण गर्न थाल्छन्,” स्थानीय भन्छन्, “कति बेला फेरि बाढी आँउछ ठेगान छैन, फेरि बाढी आएपछि हेलिकोप्टरबाट यहाँ आइपुग्ने नेता तथा मन्त्रीको भीड लाग्छ ।”
मेलम्ची बाढीले विस्थापित भएकाहरूको बासको अझै ठेगान छैन । कतिपय आफन्तको शरणमा छन् । केही काठमाडौंलगायतका बजार क्षेत्रमा पसे । अधिकांश डेराको आश्रयमा छन् । सरकारले बासस्थानका लागि कुनै पहल नगर्दा विस्थापितको बेहाल भएको छ ।

प्रतिक्रिया दिनुहोस्