मौद्रिक नीति कार्यान्वयनमा ध्यान दिनुपर्छः अर्थविद् «

मौद्रिक नीति कार्यान्वयनमा ध्यान दिनुपर्छः अर्थविद्


नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरुले ढिलोगरी आएको मौद्रिक नीति कार्यान्वयनाम विशेष ध्यान दिन सुझाव दिएका छन् । उनीहरुले कोरोना महामारीको अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले कोभिडको असरलाई पूर्ति गर्न राहत प्याकेजको रुपमा आएको बताएका छ्न । उनीहरुले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको पनि बताए ।


पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले कोभिडले निजी क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधानका लागि मौद्रिक नीति फलदायी हुने बताए । तल्लो वर्गलाई सम्बोधन गर्नेगरी अबको बजेट आउनुपर्नेमा उनको जोड छ । कोभिडको तेस्रो लहरमा मौद्रिक नीतिले आर्थिक पूर्नस्थानमा सहयोग पुग्ने पूर्व गभर्नर नेपालको भनाइ छ ।


उनले भने, “केन्द्रीय बैंक सुविधा/सहुलियत दिने संस्था होइन । सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले बजेटमार्फत नै हो ।” उनले अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकत्ता महशुस भएको स्मरण गराए ।
डा. नेपालले पुँजी वृद्धिको कारण जोखिम वहन गर्ने क्षमता वृद्धि भएको स्मरण गराए । उनले सरकारले आर्थिक वृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने बताए । तर, केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय मापदण्ड हेरेर सबै क्षेत्रलाई छुन खोजेको उनको भनाइ छ ।


पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले ढिलै भएपनि आएको मौदिक नीति कार्यान्यवनको पाटोमा ध्यान दिनुपर्ने बताएका छन् । उनले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताए । उनले भने, “अर्थतन्त्रमा धेरैभन्दा धेरै पैसा आउँछ, वस्तु र सेवाभन्दा बढी पैसा आउँछ, त्यतिवेला मुद्रा स्फिती चर्किएर जान्छ । सरकारले त्यतिवेला जिम्मा लिन चाहँदैनन् ।”


मौद्रिक नीतिमा राहत र पूनःस्थापनाबारे कुरा गरिएपनि सोअनुरुप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उनको भनाइ छ । मौद्रिक नीतिमा गत सालको तुलनामा केही जाँगर चलाएर आफूहरु अघि बढ्छौं भनेर आश्वासन दिइएको पनि क्षेत्रीको भनाई छ । उनले अर्थमन्त्री जनार्दन शर्मा जनयुद्धको कमाण्डर भैसकेको व्यक्ति भएकाले र उनले ‘म पैसाको लालच गर्दिन्, काम गर्नुहोस, म विभेद गर्दिन’ भनेर कर्मचारीलाई भनेकाले मन्त्री शर्मा अनुशासनमा रहे राम्रो काम हुने विश्वास व्यक्त गरे ।

उनले भने, “उहाँ आफूले भनेजस्तै राम्रो अनुशासनमा रहनुभयो भने काम राम्रो हुन्छ ।” उनले मौद्रिक नीति कार्यान्वयनको पक्ष जटिल हुने भएकोले कार्यान्वयनमा नै ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्