Logo

अझै विपद्को उच्च जोखिममा सिन्धुपाल्चोक


नेपाल सरकारले लगातार दुई वर्ष संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक अझै विपद्को उच्चजोखिममा रहेको निष्कर्ष निकालेको छ । अधिकांश पहाडी भू बनोट रहेको यो जिल्लामा जोखिम क्षेत्र पहिल्याउन अध्ययन नभएकाले विपद्को जोखिम बढेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोसी, भोटेकोसी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ । ठूलाठूला पहरा र भीरले बनेका भूगोल भएकाले पहिरोको जोखिम पनि झनै बढी छ ।


गत असार १ र साउन १७ गते आएको मेलम्चीजस्तै बाढी अझै ठूलो आउन सक्ने विज्ञहरूको निष्कर्ष छ । बाढीको विन्दु रहेको भेमाथाङमा अझै गेग्रानले भरिएको ठूलो चौर रहेको र त्यो कुनै पनि बेला बग्न सक्ने प्रारम्भिक निष्कर्ष विज्ञ टोलीको रहेको थियो । असार १ गतेको बाढीपछि सुरुवाति विन्दु भोमाथाङको चौर २५ प्रतिशतमात्रै खसेको विज्ञहरूले जनाएका थिए । पछि साउन १७ मा सोही बराबरको बाढी फेरि खसेकाले अब अर्काे दुर्घटना ननिम्तिएला भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारी बताउँछन् ।


सिन्धुपाल्चोकमा मात्रै गत आर्थिक वर्षमा मात्रै बाढी पहिरोबाट ७५ ले ज्यान गुमाए । ५७ बेपत्ता भए । गएको वर्ष मेलम्ची, भोटेकोसी, जुगल र बाह्रबिसेमा ठूला पहिरो गएको थियो । ती पहिरोबाट मानवीय क्षति त भयो नै, उत्तिकै भौतिक क्षति पनि भएको थियो । विपद्बाट मानवीय र भौतिक क्षति हुन नदिन पूर्वसूचना प्रणालीको जडान गरिनु आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।


“सिन्धुपाल्चोकमा कहाँ कतिबेला र कस्तो प्रकृतिको विपद् हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन,” उनले भने, “अघिल्ला वर्षहरूको जस्तै क्षति बेहोर्नबाट जोगिनु अहिलेको आवश्यकता हो ।”
यो बर्खामा पानी पर्ने क्रम बढिरहेको छ । जसले विपद् निम्त्याउने सम्भावना छ । अधिकांश स्थानका भू–बनोट जोखिमयुक्त छ भनिएको छ । तर, प्राविधिक नापजाँच नभएकाले आधिकारिक भन्ने छैन ।


जिल्लामा रहेका १२ स्थानीय तहमध्ये जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका र जुगल गाउँपालिकाका अधिकांश क्षेत्र उच्चजोखिममा रहेको निष्कर्ष निकालेको छ । जुगलमा पहिरो जाने समस्या अधिक छ भने बाह्रबिसे र भोटेकोसीमा पहिरोका साथै बाढीको जोखिम रहेको देखिन्छ ।


सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा हिमाल, पहाड र तराईको हावापानी र भूगोलको अनुभव गर्न सकिन्छ । त्यसैले पनि यहाँका कुन स्थानमा कस्तो विपद् हुन्छ भने अनुमान लगाउने निकै गाह्रो छ । स्थानीयबासी, स्थानीय तह र प्राविधिकहरूले सुरक्षित भनेको स्थानमा पनि बाढी आउने, पहिरो जाने भइरहेका छन् ।


अबका वर्षमा यस्ता विपद् अनि क्षति नहुनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सक्रियता बढाएको छ । अहिले जिल्लामा करिब एक हजार एक सय परिवार प्रभावित हुनसक्ने प्रारम्भिक आंकलन गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक अरुण पोखरेलले जानकारी दिए ।

“स्थानीयस्तरबाट कुन बस्ती कति जोखिम भन्ने पहिचान गर्न समस्या देखिएको अहिलेको अवस्था हो,” प्रजिअ पोखरेलले भने, “यसका लागि विपद् जोखिम प्राधिकरणको अगुवाइमा जोखिम क्षेत्र पहिल्याउनका लागि अध्ययन अति जरुरी छ ।” स्थानीय तहमा रहेका प्राविधिक र स्थानीयबासीको सहयोगमा जोखिम क्षेत्र आकलन गरिए पनि स्थानीय विपद् व्यवस्थापन समितिले विपद् जोखिम न्यूनीकरणका लागि सक्रिय नहुँदा समस्या भइरहेको अहिलेको अवस्था रहेको उनले बताए । विपद् व्यवस्थापनका लागि करोडौं रकम जम्मा गरेर पनि काम नगर्दा क्षति हुने गरेको पाइएको समितिको तथ्यांकमा उल्लेख छ ।


विपद् जोखिम न्यूनीकरणमा सिन्धुपाल्चोकका स्थानीय तहले बेवास्ता गरेको पाइन्छ । नेपाल राजपत्रमा उल्लेख भएअनुसार स्थानीय विपद् व्यवस्थापन समितिले आफ्नो काम, कर्तव्य पूरा नगर्ने गरेको पाइएको हो । स्थानीय तहमा रहेको समितिले विपद् पूर्वतयारी र प्रतिकार्यका योजना नबनाउने, आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना नगर्ने, मनसुन पूर्वतयारी र प्रतिकार्ययोजना तयार नगर्ने गरेको पाइएको छ ।


जिल्ला विपद् व्यवस्थापन समितिले अन्य स्थानीय तहको तुलनामा जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई जोखिमको क्षेत्रमा राखेको छ । तर, यी स्थानीय तह पनि पूर्वतयारी, योजना निर्माणमा चुकेको पाइन्छ ।


हालसम्म चौतारा साँगाचोकगढी नगरपालिका, लिसंखुपाखर गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकामा मात्रै यस्ता योजना बनेका छन् । तर आफूहरू तयारीमा रहेको स्थानीय तहका प्रमुखहरूको दाबी छ । “हामीले विपद्को तयारी गरेका छौं, आवश्यक सामग्री भण्डार गरिएको छ,” चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ भने, “आवश्यक टेन्ट, त्रिपाल, जस्तापाता, खाद्यान्न औषधिसहित औजारहरु पनि छन् ।”


जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि विपद कोषसहित गर्नुपर्ने सात बुँदामा बाह्रबिसे, बलेफी, सुनकोसी, पाँचपोखरी थाडपाल, भोटेकोसी, त्रिपुरासुन्दरीले कोषमा रकममात्रै थन्काएर राखेको तर कुनै पनि पूर्वतयारी नगरेको पाइएको छ ।

साउन १७ मा आएको मेलम्ची बाढीको सुरुवाति विन्दु भेमाथाङ । तस्बिरमा हेर्दा पनि बाँकी चौर कुनै पनि बेला खस्न सक्ने देखिन्छ । तस्बिर सौजन्य : निमाग्याल्जेन शेर्पा

प्रतिक्रिया दिनुहोस्