भीडमा राहदानी लिन नागरिक बाध्य «

भीडमा राहदानी लिन नागरिक बाध्य

सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् ।
मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको प्रतिक्रिया दिएका हुन् ।

छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले आफैले भौतिक दूरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गरे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।


उता, धनुषाबाट आएका धिरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दूरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरू अलमलमा परेको पनि बताए ।


राहदानी नवीकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले कोरोनाको जोखिम मोलेर पनि आफूहरू राहदानी लिन भीडमा बस्न बाध्य हुनुपरेको पनि स्पष्ट पारे । सरकारले भौतिक दूरीको कुरा गरे पनि सेवा लिने बेलामा भीडको व्यवस्थापनसमेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उनीहरूले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्