दोलखाका निजी अस्पताल मापदण्डविपरीत सञ्चालन

दोलखामा सञ्चालित निजी अस्पतालहरू मापदण्डविपरित नै सञ्चालन भइरहेका छन् । अस्पताल सञ्चालनका लागि सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना भएका छैनन् ।
जिल्लामा तीनवटा निजी अस्पताल, पोलिक्निक, केही डेण्टल अस्पताल र मेडिकलहरू सञ्चालनमा रहे तापनि ती सबै मापदण्डविपरीत भएको सरोकारवाला निकायले नै बताएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ मा पर्ने दोलखा सदरमुकाम चरिकोटमा दुईवटा निजी अस्पताल छ भने वडा नम्बर २ मा पर्ने दोलखा बजारमा एउटा निजी अस्पताल छ । त्यसैगरी बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा सहकारी संस्थाले सञ्चालन गरेको एउटा अस्पताल छ । त्यसैगरी सदरमुकाम चरिकोट र विभिन्न गाउँपालिकामा पोलिक्निकहरू सञ्चालनमा छन् ।
सदरमुकाम चरिकोटमा ५५ बेडको च्छो रोल्पा जनरल अस्पताल र १५ बेडको दोलखा सामुदायिक अस्पताल प्रालि रहेको छ । दोलखा बजारमा ५५ बेड बनाउने तयारीमा रहेको गौरीशंकर सामुदायिक अस्पताल छ । त्यसैगरी मैनापोखरीमा २५ बेडको बनाउने तयारीमा रहेको हिमालय कियर हेण्डसले सञ्चालन गरेको सामुदायिक अस्पताल रहेको छ ।
यी अस्पतालहरूले सरकारी मापदण्ड पूरा गर्न कागजमा सबै कुरा उल्लेख गरेको भए पनि काम गर्न भने १÷२ जना एमबीबीएस डाक्टर, केही स्टाफ नर्स, एचए, अनमीलगायत मात्र राखेका छन् । अस्पतालको कम्पाउण्ड र भवन पनि सरकारी निर्देशिका अनुसार नभएको र भूकम्पप्रतिरोधी समेत नरहेको अस्पताल सञ्चालकहरू नै स्वीकार गर्छन् ।
सरकारले लागू गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को १९ को १ मा २५ बेडसम्मको अस्पताललाई एमबीबीएस ४ जना, बीएन नर्सिङ १ जना, स्टाफ नर्स ५ जना र विशेषज्ञ डाक्टर नभए पनि एमडीजीपी एकजना अनिवार्य गरेको छ । त्यसैगरी ५० बेडसम्मको अस्पताललाई फिजिसियन १, सर्जन १, बालरोग विशेषज्ञ १, स्त्रीरोग विशेषज्ञ १, एनेस्थेसिया १, एमबीबीएस ६, बीएन नर्सिङ २ र स्टाफ नर्स १० जना अनिवार्य गरेको छ ।
त्यसैगरी ७५ बेडसम्मको अस्पताललाई फिजिसियन २, सर्जन १, हाडजोर्नी विशेषज्ञ १, बालरोग विशेषज्ञ १, स्त्रीरोग विशेषज्ञ २, प्याथालोजिस्ट १, रेडियो लोजिस्ट १, एनेस्थेसिया १, डेण्टल १, एमडीजीपी १, एमबीबीएस ७, बीएन नर्सिङ ३ र स्टाफ नर्स १५ जना अनिवार्य गरेको छ ।
सरकारले २५ बेडसम्मको अस्पतालको स्थापना अनुमति र नवीकरण गर्ने अधिकार जिल्ला स्वास्थ्य कार्यालयलाई दिएको छ भने त्योभन्दा माथिको क्षमता भएको अस्पतालको अनुमति र नवीकरण गर्ने अधिकार क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई दिएको छ ।
दोलखा सामुदायिक अस्पताल प्रालिका सञ्चालक अमृत बुढाथोकी जिल्लामा सञ्चालित निजी अस्पतालहरू सरकारी मापदण्डअनुसार नरहेको स्वीकार गरे । उनले आफू दोलखा सामुदायिक अस्पताललाई मापदण्डअनुसार सञ्चालन गर्न जनशक्ति र आवश्यक प्रविधि थप गरिरहेको बताउँछन् । समयसापेक्ष सेवा विस्तारमा अस्पताल व्यवस्थापन लागि परेको उनले दाबी गरे ।
धुलिखेल अस्पतालबाट सञ्चालित गौरीशंककर सामुदायिक अस्पताल भूकम्पपछि सरकारी मापदण्डअनुसार नभएको अस्पतालकै कर्मचारीहरूले बताएका छन् । अहिले अस्पतालको नयाँ भवन बनिरहेको र अब दुई वर्षभित्र एमडीजीपीको ट्रेनिङ सेन्टरसहितको ५५ बेडको अस्पताल सरकारी मापदण्डअनुसार सञ्चालन हुने काठमाडौं विश्वविद्यालय स्कुल अप्m मेडिकल साइन्सका सहायकडिन दीपक श्रेष्ठले बताए ।
जिल्लामा सञ्चालनमा रहेका अस्पतालहरू मापदण्डअनुसार नरहेको र बिरामीले आवश्यक सेवा पाउन नसकेको गुनासो बढेपछि जिल्ला स्वास्थ्य कार्यालयमार्फत डाक्टरहरूसमेत संलग्न रहेको टोलीले निजी अस्पतालहरूको अनुगमन गरेको थियो । टोलीले सबै अस्पताल मापदण्डविपरीत रहेको भनी प्रतिवेदन दिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालको भनाइ छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. मदन उपाध्यायले दोलखाका निजी अस्पतालहरू अहिलेसम्म नवीकरणको लागि या अन्य प्रयोजनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा नआएको उल्लेख गर्दै सरकारी मापदण्डविपरीत रहेका अस्पतालहरूको नवीकरण या नयाँ अनुमति कुनै पनि हालतमा नदिइने बताए ।