सार्वजनिक संस्थानलाई नाफामा लैजान निर्देशन «

सार्वजनिक संस्थानलाई नाफामा लैजान निर्देशन

File Photo


अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखासँग छलफलमा उनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन् । “के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरुलाई नाफामा लैजान सकिन्छ ? के के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस्,” अर्थमन्त्रीले भने ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले केहीबाहेक धेरैजसो सार्वजनिक संस्थानहरुको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताए । नेपाल सरकारको ६ खर्ब लगानी रहेको सार्वजनिक संस्थानहरुले ३० हजार रोजगारी पनि सृजना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको पनि उनले बताए । नाफामा लैजाने उद्देश्यका साथ निजीकरण गरिएका कतिपय संस्थानहरु समेत नोक्सानीमा रहेको भन्दै उनले सुधारका लागि नीतिगत परिवर्तनको आवश्यकता औंल्याए ।
संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव दीर्घराज मैनालीले सार्वजनिक संस्थानहरुको विद्यमान अवस्थाबारे प्रस्तुति गर्दै नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलगायतका संस्थानहरु नाफामा रहेको जानकारी दिए । सरकारको स्वामित्वमा सञ्चालित ४४ वटा सार्वजनिक संस्थान रहेका छन् । औद्योगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तीय ९, सामाजिक ५ र सेवा क्षेत्रका १० वटा संस्थान रहेका छन् । यसमध्ये चालू आर्थिक वर्ष २०७६-०७७ मा १८ वटा सार्वजनिक संस्थान घाटामा गएका छन् ।
सार्वजनिक संस्थानहरु घाटामा जाँदा सार्वजनिक संस्थानको वार्षिक वृद्धिदरसमेत नकारात्मक बनेको अर्थ मन्त्रालयले जनाएको छ । यसरी घाटामा जाने संस्थानहरुमा औद्योगिक क्षेत्रका ८ वटा संस्थानहरु रहेका छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तथा धौवादी फलाम कम्पनीबाहेक सम्पूर्ण औद्योगिक संस्थानहरु घाटामा गएका छन् । त्यस्तै सामाजिक क्षेत्रका ४ वटा संस्थानहरु पनि घाटामा गएका छन् । समग्रमा नेपाल वायुसेवा निगम, जनक शिक्षा सामग्री केन्द्र, नेपाल टेलिभिजन, हेटौंंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना (बन्द), उदयपुर सिमेन्ट उद्योग, नेपाल औषधी लिमिटेड जस्ता १८ वटा संस्थान घाटामा छन् ।
आर्थिक वर्ष २०७६-०७७ मा सार्वजनिक संस्थानको नाफा ४८ अर्ब २९ करोड रहेको छ । जुन आर्थिक वर्ष २०७५-०७६ को भन्दा ६४ करोडले थोरै हो । अघिल्लो वर्ष २४ वटा संस्थानले ५३ अर्ब ९२ करोड खुद नाफा कमाएका थिए भने १८ वटा संस्थानको ५ अर्ब ६३ करोड नोक्सान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्