मनाङमा १८ वर्षमाथिका सबैले पाए कोभिड खोप «

मनाङमा १८ वर्षमाथिका सबैले पाए कोभिड खोप

लमजुङ-हिमाली जिल्ला मनाङमा १८ वर्षमाथिका सबै नागरिकले खोप पाएका छन् । जिल्लामा हाल कोरोना संक्रमण भएका बाहेक खोप लगाउन योग्य सबै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनाङका लागि आवश्यक पर्याप्त खोप उपलब्ध गराएको हो । जिल्लामा चारवटै स्थानीय तहमा विभिन्न चरणमा खोप अभियान सुरु गरी सबै नागरिकलाई खोप सेवा उपलब्ध गराएको स्वास्थ्य कार्यालय, मनाङले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सदरमुकाम चामेमा आइतबार खोप लगाउने काम सम्पन्न भएको हो । यसअघि जिल्लाको विकट नार्पाभूमि, ङिस्याङ र नासोङका सबै नागरिकलाई खोप लगाइएको थियो ।
स्वास्थ्य कार्यालय, मनाङका अनुसार मनाङका ४ हजार १ सय ९८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । सोमध्ये जिल्लाको ङिस्याङ गाउँपालिकाअन्तर्गत १ हजार २ सय ९१ जनाले खोप लगाएका छन् ।
यस्तै नार्पाभूमि गाउँपालिकाअन्तर्गत ४ सय, सदरमुकामसमेत रहेको चामे गाउँपालिकाअन्तर्गत १ हजार ४ सय ३७ र नासोङ गाउँपालिकाअन्तर्गत १ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
मनाङमा सुरुको चरणमा दुई डोज लगाउनुपर्ने कोभिसिल्ड र भेरोसिल्ड खोप पु¥याइए पनि पछिल्लो चरणमा एक डोज मात्रै लगाए पुग्ने जोन्सन खोप उपलब्ध भएको थियो ।
जिल्लामा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी पनि १ सय ६५ जना मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २ हजार २७ जनाले जोन्सन खोप लगाएका छन् । त्यसअघि जिल्लामा भेरोसिल्ड खोप जम्मा ७५ जनाले मात्रै लगाएका थिए । जोन्सन र भेरोसिल्डबाहेकका अन्यले भने कोभिसिल्ड खोप लगाएका हुन् ।
मनाङमा हाल बाढीपहिरोको प्रभावसँगै विपद् संकट क्षेत्र घोषणा गरिएकाले सबै नागरिकलाई पुग्ने गरी खोप उपलब्ध गराइदिन प्रदेश सरकारसँग अनुरोध भएको थियो । सोहीअनुरूप १८ वर्ष उमेरमाथिका सबै नागरिकलाई खोप उपलब्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्