संसद् सचिवालयको सबै कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट हुने «

संसद् सचिवालयको सबै कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट हुने

संघीय संसद् सचिवालयका सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत सुरु गरेको छ ।
सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरेको भन्दै सांसदहरुले पहिल्यैदेखि आवाज उठाउँदै आएका थिए । सार्वजनिक रुपमा विरोध भएपछि र सांसदहरुले नै आवाज उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गम्भीर ध्यानाकर्षण जनाउँदै निर्देशन दिएका थिए ।


उनको निर्देशनअनुसार सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । २०७७ माघ ११ को पत्रबाट आर्थिक वर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जनकारी अर्थ मन्त्रालयबाट प्राप्त भएको थियो ।


सचिवालयले २०७८ असार ३१ गते पुनः ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो। त्योसँगै अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकलाई समेत सिंहदरवार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागि समेत अनुरोध गरिएको सचिवालयको भनाइ छ । यसअघि सरकारी खाताहरु एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्