रक्तसञ्चार सेवाको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक «

रक्तसञ्चार सेवाको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक

नेपालमा रक्तसञ्चार सेवाको प्रारम्भिक वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ
आर्थिक वर्ष २०७७–०७८ मा नेपाल रेडक्रसबाट दुई लाख ४२ हजार ४८ यूनिट रगत संकलन गरिएको र तीन लाख ३१ हजार चार सय ५६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको छ । २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १५७ युनिट रगत संकलन गरिएको थियो ।
नेपालमा रक्तसञ्चार सेवाको ५५ औँ स्थापनाको दिनमा हिजो नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित मूल कार्यक्रममा यो जानकारी दिइएको हो । अघिल्लो बर्ष देशभरीमा २,३८,८३६ युनिट रगत संकलन भई ३,२१,७७६ युनिट रगत र रक्ततत्व वितरण भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघ–संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुहुँदै रक्तसञ्चार सेवालाई दिर्घकालिन विकासको लागि सबैक्षेत्रसँगको हातेमालोमा अगाडि बढ्नु पर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालको जनसंख्याको २ प्रतिशत मानिसले नियमित रक्तदान गर्न सके आवश्यक परेको समयमा रगत सहजै पाउन सकिने भएकाले थप रक्तदान उत्प्रेरणा बढाउनुपर्नेमा जोड दिए ।
नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकायहरू, युवा, विद्यार्थी, मजदुर, पेशा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनैतिक दल र भ्रातृसंगठनलगायत आम रक्तदाता, शैक्षिक संस्था, सहकारी, वित्तीय संघसंस्था, नियमित रक्तदान कार्यक्रम गर्ने संघ संस्था, रक्तदाताहरूका सञ्जालहरू, रक्तदान कार्यक्रम आयोजकहरू, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सक्रिय सहयोगको हार्दिक आभार व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको छ । यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको छ । विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्