संक्रमणको नयाँ रूप अझ जोखिमपूर्ण «

संक्रमणको नयाँ रूप अझ जोखिमपूर्ण

विगतमा खोप व्यवस्थापनमा गरिएको ढिलाइ र आम मानिसले जनस्वास्थ्यका मापदण्ड पालन नगरेका कारण तेस्रो लहरको संक्रमण आउने सकेत देखिएको छ । स्वास्थ्य मापदण्ड पालना नगरी बजार चलायमान भएसँगै कोरोना संक्रमणदर समेत बढेर बुधबारमात्र साउन महिनाकै उच्च पाइएको छ ।
कोरोना संक्रमण केही समय सुस्त देखिए पनि साउन महिनापछि क्रमशः वृद्धि भएर बुधबार यो महिनाकै उच्च भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढने जनाउँदै अक्सिजन ग्यास, आईसियू शैय्या र भेन्टिलेटर व्यवस्थापन गर्न अनुरोध समेत गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुदपनि कोभिड–१९ को संक्रमण दरमा कमि आएको देखिएको जनाउँदै थप सजग हुन अनुरोध गर्न थालेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न मन्त्रालयले सातै प्रदेश सरकारलाई कम्तिमा १ हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको बताए । यसका साथै मन्त्रालयले मौजुदा सिलिन्डरहरु पनि खालि नराख्न र अक्सिजन पिएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेसनहरु चालु र चुस्त अवस्थामा राख्न निर्देशन दिएको छ ।
संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाईरसको परिवर्तित स्वरुपमा कारण नेपालमा तेस्रो लहर आउन सक्ने सम्भावना रहेको बताए । अब आउने नयाँ भेरियेन्टबाट बालबालिका बढी प्रभावित हुने हल्ला भएपनि त्यो सबै उमेर समूहका लागि संक्रमक देखिने जनाईएको छ । हालसम्म भएका अध्ययनहरुले कोभिड–१४ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुन्छ भन्ने कुरा देखाएको मन्त्रालयले जनाएको छ । कतिपय विकसित मुलुकमा बालबालिका मात्र खोप लगाउन बाँकी भएकाले उनीहरु बढी प्रभावित हुन सक्ने भनिएको छ । तर नेपालमा अहिलेसम्म पनि अधिकांशले खोप नपाएकाले गम्भीर संक्रमण हुने जोखिम बालबालिकासहित खोप नलगाएका सबै व्यक्तिहरुलाई उत्तिकै रहेको बिज्ञको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको पछिल्लो तथ्यांक अनुसार बिगत ४ दिनयता संक्रमणदर १६.१७ प्रतिशतबाट बढेर २४.२९ प्रतिशत पुगेको छ । साउन १० गते २ हजार २३७ रहेको संक्रमण संख्या बुधबारसम्म ३ हजार ८४० पुगेको छ । मंगलबार यो संख्या ३ हजार ८९९ थियो । यसैगरी मृत्युदर पनि बिगत २ हप्ता यताकै उच्च रहेको पाइएको छ । हाल गण्डकी प्रदेशमा परिक्षण गरिएका ३ जना मध्ये २ जना अर्थात ६० प्रतिशत भन्दा बढीम संक्रमण देखिएको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । हाल २९ हजार ४६२ कोभिडका संक्रिय संक्रमित रहेका छन ।

नयाँ भेरिएन्ट देखिएसँगै जोखिम उच्च
जेठको मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूह व्यक्तिहरूवाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू विश्व स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आईडिन्टिफाईड् सेन्टर फर एक्सेलेन्स इन जिनोमिक्स र इन्ट्रिग्रेटिब बायोलोली (आईजिआईबि) मा सिक्वेन्सिङका लागि असार ३० गते पठाइएको थियो । उक्त नमुनाहरूको जिनोमिक पहिचान गर्दा सबै नमुनाहरूमा डेल्टा भेरियन्ट पुष्टी भएको छ । जसमध्ये ३ वटामा थप उत्परिवर्तन भेटिएको छ । यी सहित हालसम्म नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा पछिल्लो रूपमा कप्पा भेरियन्ट पुष्टी भएको छ । यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाईएको मन्त्रालयले जनाएको छ । त्यसैले संक्रमणको जोखिम बढीरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन अनुरोध गरेको छ ।
चार दिनको संक्रमण, मृत्यु र परीक्षण गरिएको संख्या

प्रतिक्रिया दिनुहोस्