राजस्व बुझाउने ठाउँमा यति धेरै भीड किन ? «

राजस्व बुझाउने ठाउँमा यति धेरै भीड किन ?

विश्वलाई नै कोरोना भाइरसले आक्रान्त पारिराखेको छ । पहिलो चरणको भन्दा दोस्रो चरणको भाइरसले नेपालमा अत्यधिक मानिसले आफ्नो ज्यान गुमाएका छन् । अब सम्भावित रूपमा आउन सक्ने तेस्रो चरणको भाइरसले कस्तो रूप लिन्छ भनेर किटान गर्न मुस्किल छ । सरकारले पनि स्वास्थ्यको मापदण्ड अपनाउनुपर्छ भनेर जति नै ढ्यांग्रो पिटे पनि ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्राले थिचे पनि जस्ताको तस्तै घुमुर्किन्छ’ भनेझैँ मानिसहरू आफूलाई कोरोनाले नभेटुन्जेल चेत खाँदैनन् । निषेधाज्ञा खुकुलो हुनासाथ जताततै भीड, सरकारका समर्थक तथा विरोधीहरूको जुलुस, विरोधसभा तथा -याली गर्दै हिँड्छन् । इन्धनको मूल्य वृद्धि भयो भनेर यस्तो महामारीको समयमा हड्ताल, हूलदंगा तथा जुलुस गर्छन् । अझ हाँसो लाग्ने तर्क के छ भन्दा जुलुसपश्चात् मूल्य घटाउँछन्, जम्मा प्रतिलिटर १ रुपैयाँ । जबकि १ रुपैयाँ त हामी नागरिकले पम्पमा सधैंजसो बढी नै तिर्ने गरेका हुन्छौं । यसैका लागि अझै रोग फैलाउन जनताले हंगामा मच्चाउनु के उपयुक्त छ त ? स्वयम् स्वविवेक बनौं ।
यस्तो महामारीको समयमा प्रत्येक सरकारी तथा गैरसरकारी कार्यालयहरूमा अत्यधिक भीड देखिन्छ । अझै सरकारी कार्यालयहरूमा त झनै स्वास्थ्यको मापदण्डको के कुरा गर्नु, न त हात धुने व्यवस्था छ, न त स्यानिटाइजर नै । यसै प्रसंगसँग सम्बन्धित, जसको प्रत्यक्षदर्शी स्वयम् म आफैं छु, भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा यही साउन १ गते म आफैं स्कुटरको राजस्व बुझाउन भनेर बिहानको ९.१५ मा त्यहाँ पुगें । भीड तथा लाइन बढी हुन सक्छ भनेर म त्यहाँ छिटै नै गएको थिएँ । त्यहाँका कर्मचारीहरूले सूचनापाटीमा करको रकममा भएको फेरबदलको सूचना टाँसिराखेका थिए । मैले त्यहाँका कर्मचारीलाई लाइन कहाँबाट बस्ने भनेर सोधपुछ गर्दा आज १ गते हो, भीड नहोला, लाइनमा बस्नै पर्दैन भन्नुभयो र रकम बुझाउने काउन्टर १० बजे मात्र खुल्छ भन्नुभयो । तर, १० बजेको समयसम्ममा मानिसहरूको चाप बढ्दै गयो, त्यसपछि त्यहाँ निर्धारित गरेको ठाउँमा लाइनमा बसें । तर, अचानक त्यहाँ करको रकम परिवर्तन गरिएको छ, कति–कति रकम कसरी र कुन तरिकाबाट लिने भनेर १० देखि ११ बजेसम्म अकस्मात् बैठक बस्ने भनेर सूचना प्रसारण गरियो । उक्त सूचना प्रसारण गर्ने समयसम्ममा त्यहाँ अत्यधिक भीड बढिसकेको थियो र स्वास्थ्यको मापदण्डको पालना गर्नका लागि त्यहाँ केही सुविधा थिएन ।
यस्तो विषम परिस्थितिको समयमा कर पनि अनलाइनबाट बुझाउने प्रणाली अपनाउनुपर्ने अवस्थामा अझै काउन्टर खोल्ने समयमा त्यस्तो बैठक राख्दा सबै जना आक्रोशित भइराखेका थिए । ११ बजेपश्चात् काउन्टर खोलिए पनि आफ्नो–आफ्नो टोकन हातमा लिएर मानिसहरू ठेलमठेल गरेर झ्यालमा झुम्मिरहेका थिए भने करको रकममा वृद्धि भएकाले कारण नखुलाई नवीकरण मूल्य बढी लिइराखेका थिए । हामीहरूले नै बुझाएको राजस्वबाट त्यहाँका कर्मचारीहरूले आफ्नो पेट पाल्ने हुन्, तर त्यही रकमबाट सर्वसाधारणका लागि कमसेकम पिउने पानी, स्यानिटाजरजस्ता सुविधाको व्यवस्था त गर्नुपर्ने हैन र ? प्रत्येक काउन्टरमा स्वयंसेवक राखी यति–यति नम्बर भएका व्यक्तिको पालो आयो भनेर बोलाउने गरेको भए पनि त्यस्तो भीड र सास्ती खेप्नुपर्ने थिएन ।
राजस्व बुझाउने जस्तो ठाउँमा त यस्तो अवस्था र लापरवाही गरिन्छ भने अन्य स्थलहरूमा कस्तो व्यवस्था होला, हामी आफैं कल्पना गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्