माथिल्लो मनाङ जाने पैदलमार्ग अवरुद्ध «

माथिल्लो मनाङ जाने पैदलमार्ग अवरुद्ध

मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । वर्षासँगै आएको बाढीले झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसँगको पैदलमार्ग पनि विच्छेद भएको छ ।
चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल नदीमा पानीको बहाब बढेसँगै बगाएपछि माथिल्लो मनाङ जाने पैदलमार्गसमेत विच्छेद भएको मनाङ प्रशासनले जनाएको छ । मंगलबार राती नदीमा पानीको बहाब बढेपछि झोलुंगे पुलको एकातर्फीको पिल्लर नदीमा खसेको हो । एकातर्फी पिल्लर नदीमा खसेपछि अहिले नदीको पानी पुलमाथिबाट बग्न थालेको छ ।
असार १ गतेदेखि सुरु भएको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण मनाङमा जोखिम थपिँदै गएको छ । केहीदिन अघिमात्रै चामेको कोतोबाट नारफु गाउँतर्फ जाने मस्र्याङ्दी नदीमा राखिएको झोलुंगे पुलमा पनि बाढीले क्षति पु¥याएपछि नार्पाभूमितर्फको बाटो अवरुद्ध भएको थियो । चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने एकमात्रै झोलुंगे पुल र ङिस्याङतर्फ जाने झोलुंगे पुल दुवैमा मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएपछि आवतजावत रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । हाल मनाङ सदरमुकामबाट ङिस्याङतर्फ जानका लागि तलेखु हँुदै जाने पुरानो पदमार्ग भए पनि पछिल्लो समय सो बाटोमा आवतजावत नहुँदा निकै जोखिम र कष्टपूर्ण रहेको प्रजिअ लामिछानेले बताए ।
ङिस्याङ र नार्पाभूमितर्फ जाने झोलुंगे पुल नभएपछि मनाङको जनजीवन झनै संकटपूर्ण हुने भएको छ । यसअघि कोतोको पुल बगाएपछि नार्पाभूमि जानका लागि अन्य विकल्प नहुँदा स्थानीयहरू चामे बजारको पुल तरेर जोखिमपूर्ण पहाड चढेर आवतजावत गर्न बाध्य भएका थिए । तर अहिले चामेको पुल पनि बगाएपछि आवतजावत पूर्णरूपमा रोकिएको मनाङ प्रशासनले जनाएको छ ।
मनाङमा केही दिन ठूलो वर्षा रोकिए पनि मस्र्याङ्दी नदीमा पानीको बहाब रोकिएको छैन । पानीको बहाब कम नहुँदा तत्कालै संरचना पुनर्निर्माण गर्ने सम्भावना पनि नरहेको प्रशासनले जनाएको छ । बाढीपहिरोको जोखिम कायमै रहेकोले प्रभावित मनाङका स्थानीय अझै पनि अस्थायी आश्रय लिएर बसेका छन् । सदरमुकाम चामेसहित मस्र्याङ्दी नदीमा आएको बाढीले यसअघि नासोङ गाउँपालिकाको प्रशासकीय भवन, प्रहरी कार्यालयको भवन, वित्तीय संस्था र स्थानीयका घरहरू बगाएको थियो ।
मनाङमा बाढीपहिरोकै कारण झण्डै एक महिनादेखि विद्युत् सेवा पनि अवरुद्ध छ । हाल सौर्य ऊर्जाको सहयोगमा सरकारी कार्यालयहरूले सेवाप्रवाह गरे पनि स्थानीयको दैनिक जनजीवन कठिन बनेको छ । बाढीपहिरोका कारण सदरमुकाम चामेदेखि नासो गाउँपालिकाको धारापानी तथा डुबानमा परेको ताल गाउँसम्म पुग्ने बाटोमा ठाउँठाउँमा पहिरो गएको छ । त्यो बीचमा रहेका दर्जनौं खोलामा ठूलो बाढी आएको र त्यहाँ रहेका पुलमा समेत बाढीले क्षति पु¥याएकाले राहत वितरणमा समेत समस्या भएको मनाङ प्रशासनले जनाएको छ । मनाङमा हालसम्म पनि हेलिकप्टरमार्फत राहत सामग्री पु¥याउने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
अत्यधिक वर्षा र बाढीका कारण मनाङका तीन सयभन्दा धेरै घरधुरी प्रभावित भएका छन् । बाढी र पहिरोबाट प्रभावितहरू अहिले आफ्नो घर छोडेर सुरक्षित ठाउँ खोज्दै डाँडा तथा पहरामा आश्रय लिइरहेका छन् । सदरमुकाम चामेका घरसमेत डुबानमा परेपछि झण्डै तीन सयजना जिल्ला कारागारको नवनिर्मित भवनमा गएर आश्रय लिएको मनाङ प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्