Logo

६ वर्ष नाफा कमाएको निगमलाई ४ अर्ब घाटा हुने अनुमान

विगत ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम घाटामा गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएकाले यो वर्ष निगम घाटामा गएको हो । आर्थिक वर्ष २०७१-०७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आर्थिक वर्ष २०७७-०७८ मा भने ४ अर्ब घाटामा जाने अनुमान गरेको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले ६ वर्षपछि निगम घाटामा गएको बताए । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिसँगै नियमित मूल्य समायोजन गर्न नसक्दा नोक्सान भएको निगमले बताएको छ ।
“एक वर्षको अवधिमा इन्धनको मूल्य लगातार उकालो लाग्यो” उनले भने, “इन्धनको मूल्य बढाउँदा पनि गएको वर्ष ४ अर्ब जति घाटा हुने अनुमान गरिएको छ ।” एक वर्षको अवधिमा पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्राविधि र ढुवानी खर्र्च गरेर डेढ अर्ब रुपैयाँ बचत भएको निगमले जानकारी दिएको थियो । अघिल्लो वर्ष दुई अर्ब रुपैयाँ बचत भएको थियो । पाइपलाइनबाट तेल ढुवानी नगरेको भए निगमको घाटा थप बढ्ने देखिन्छ ।
आर्थिक वर्ष २०६६-०६७ बाट घाटामा गएको निगमले २०७१-०७२ देखि निरन्तर नाफा गर्दै आएको थियो । गत वर्ष निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले सुरुवातदेखि नै घाटा बेहोर्दै आएको थियो । अघिल्लो वर्ष भएको निषेधाज्ञाको बेला प्रतिव्यारेल १९ डलर रहेको इन्धनको मूल्य अहिले बढेर प्रतिव्यारेल ७० डरल भन्दामाथि पुगेको छ ।
निगमका अनुसार, आर्थिक वर्ष २०७१-०७२ मा १५ अर्ब ४ करोड नाफा गरेको थियो भने २३ अर्ब ५४ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै, आव २०७२-०७३ मा १९ अर्ब ३६ करोड नाफा गर्दा ४७ अर्ब ७ करोड राजश्व संकलन गरेको निगमको तथ्यांकले देखाउँदछ ।
त्यसैगरी आव २०७३-०७४ मा ९ अर्ब ४५ करोड, आव २०७४-०७५ मा ३ अर्ब ५८ करोड, आव २०७५-०७६ मा ८ अर्ब ६५ करोड नाफा गरेको थियो । आव २०६५-०७६ पश्चात निगमले निरन्तर ५ वर्ष घाटा व्यहोरेको निगमको तथ्यांकमा उल्लेख छ । सो घाटापछि करिब ६ वर्षदेखि निरन्तर नाफा गर्दै आएको निगमले आर्थिक वर्ष २०७६-७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको थियो । सरकारले गत वर्ष इन्धन आयात गरेर ६७ अर्ब ७१ करोड राजस्व संकलन गरेको थियो । निगमका अनुसार गत वर्ष शुल्कवापत १५ अर्ब २९ करोेड, सडकमर्मत शुल्क ४ अर्ब ९९ करोड, वातावारण खर्च २ अर्ब ९४ करोड मूल्य अभिवृद्धि कर २५ अर्ब करोड, पूर्वाधार विकास कर (बूढीगण्डकी) बाट १३ अर्ब ९८ करोड, आयकरबाट ५ अर्ब ५० करोड गरी ६७ करोड राजस्व संकलन गरेको थियो ।
यो वर्ष खाना पकाउने ग्यासको मूल्य समायोजन गर्न नसक्दा निगम पछिल्लो समय घाटामा डुबेको बताएको छ । एक वर्षमा १८ चोटि मूल्य बढाउँदा पनि घाटा भने कायमै रहेको निगमले जानकारी दिएको छ ।
निगमले व्यवहोरेको घाटाको मुख्य स्रोत ग्यास नै भएको बताएको छ निगमका अनुसार अहिले सबै भन्दा धेरै प्रतिसिलिन्डर ग्याँसमा ३ सय १९ रूपैयाँ ३२ पैसा घाटा हुन्छ ।
गत माघ महिनामा ग्यासको मूल्य १ हजार ३ सय ७५ बाट बढाएर १ हजार ४ सय रूपैयाँ कायम भएको थियो । त्यसपछि आर्थिक वर्षको अन्तिम महिना असारमा १ हजार ४२५ रूपैयाँ पु-याइएको छ ।
पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ । निगमले नोक्सानी व्यहोर्दै गएपछि निरन्तर मूल्य बढाउँदै आएको छ । तर, मूल्य बढाए पनि सो नोक्सानले केही करोडमा मात्रै घट्ने निगमको भनाइ छ ।
निगमले हाल दैनिक ६ करोडभन्दा बढी नोक्सान व्यहोर्दै आएको छ । १५ दिनको अवधिमा १ अर्ब हाराहारीमा नोक्सान व्यहोरेको छ । लगातार मूल्य बढ्दै गएको र इन्धनमा लगाइएको करको कारणले गर्दा पनि इन्धनको मूल्य बढ्न गएको निगमको भनाइ छ । इन्धनमा बढाएको कर फिर्ता भए मूल्य कम हुने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्