Logo

द्रुतमार्ग निर्माणको वित्तीय प्रगति ९७.३४ %


काठमाडौं –तराई (मधेश) द्रुतमार्ग निर्माणको वित्तीय प्रगति ९७.३४ प्रतिशत भएको छ । गत आर्थिक वर्ष ०७७-७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।
मंगलबार सेनाले विज्ञप्ति जारी गर्दैै गत आवमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिशत भौतिक र वित्तियतर्फ १४.५१ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ ।
अघिल्लो वर्ष र गत वर्ष अन्तर्राष्ट्रिय परामर्शदातामा छनोटमा समय व्यतित गरेकोले प्रगति नदेखिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलले बताए । उनले भने, ‘अघिल्लो आवमा सुरुङ मार्गको ठेक्का लागेको थिएन भने गत आव २०७७-७८ अन्त्यमा भने दुवै सुरुङमार्गको ठेक्का लागिसकेको छ ।’
सुरुङमार्ग निर्माण कम्पनीले आएर काम थालेको सेनाले जनाएको छ । ‘६ महिनाको डिजाइन समय हो, ३१ वैशाखबाट डिजाइनको समय सुरु भैसकेको छ र दुवै कम्पनीले काम थालेको छ,’ उनले भने । सुरुङ्ग मार्ग निर्माणका लागि इपिसी मोडेलमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भएको थियो । सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ ।
आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजना अनुसार ८ वटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेको छ । पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माण कार्य अगाडी बढाईएको पनि सेनाले जनाएको छ ।
आयोजनाको ५ स्थानमा वेस ल्याब इक्यूपमेन्ट जडान गरी गुणस्तर परिक्षण गर्ने कार्य गरिएको साथै अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार एडभान्स ल्याव इक्यूमेन्टहरु समेत थप गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका प्रतिनिधिको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको पनि सेनाले जनाएको छ ।
रुख कटान तथा व्यवस्थापन सम्बन्धी कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको छ । रुख कटान भए अनुसार १ः२५ को अनुपातमा बृक्षारोपण गर्ने कार्य मुताविक चालु आवको असार मसान्तसम्म कुल जम्मा २ लाख ४९ हजार १६६ वटा वृक्षारोपण गरिएको छ । आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन तथा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको छ ।
काठमाडौं–तराई-मधेशद्रुतमार्ग अन्तर्गत कुल लम्बाई ७२.५ किमीमध्येमा सुरुङमार्ग ६.४१ किमी, १०.५१ किमी पुल र ५५.५ किमी सडक खण्डमा निर्माण सडक विस्तार गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्