कारागारको स्वास्थ्य चौकीबाट सेवा सुरु «

कारागारको स्वास्थ्य चौकीबाट सेवा सुरु

वीरगन्ज कारागारमा औद्योगिक परिवारले निर्माण गरिदिएको स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा सुरु भएको छ । वीरगन्जका वैद परिवारले निर्माण गरिदिएको ‘आचार्य तुलसी स्वास्थ्य उपचार केन्द्र’को पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र उद्योग वाणिज्य महासंघ प्रदेश २ का सहसंयोजक अशोक वैदले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।
२०७१ साल फागुन ३० गते निर्माण सम्पन्न भई तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले उद्घाटन गरेको भवनमा सेवाको उद्घाटन अहिले भएको हो । सेवा शुरुवातसँगै कारागारमा रहेका करिब ११ सय कैदीबन्दीहरूको स्वास्थ्य उपचारमा सहयोग पुग्नेछ । कार्यक्रममा दाता अशोक वैदले समाजसेवाका लागि स्थापना गरिएको स्वास्थ्य उपचार केन्द्र धेरै लामो समयसम्म सञ्चालनमा नआउँदा दुःख लागेको बताउँदै सेवा सञ्चालनमा आउने भएपछि खुशी लागेको बताए ।
उनले भने, “कुनै कारणले सेवा सञ्चालन हुन सकेन भने या भौतिक संरचनाको उपयोग भएन भने लगानीकर्तालाई लगानी गर्ने उत्साह र जाँगर मर्छ । यसलाई निरन्तरता दिनुहोला ।” कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कारागारलाई कैदीगृह नभएर सुधार केन्द्रको रुपमा विकास गर्ने सरकारको नीतिअनुसार कारागारभित्रै सबै सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए । उनले स्वास्थ्य उपचार केन्द्र सञ्चालनपछि विभिन्न अभियोगमा कारागारमा रहेका कैदीबन्दीहरूलाई स्वास्थ्योपचारमा सहज हुने विश्वास व्यक्त गरे ।
कारागारमा रहेको स्वास्थ्य सेवा केन्द्रमा मेडिकल अफिसर एकजना र हेल्थ असिस्टेण्ट एकजनाको दरबन्दी रहेकोमा अहिले हेल्थ असिस्टेन्टमात्रै कार्यरत रहेको कारागारका सहायक जेलर गणेश रेग्मीले बताए । स्वास्थ्य केन्द्रमा जनरल फिजिसियन डा. उदयनारायण सिंह, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दीलिप चौरसिया, मेडिकल अधिकृत डा. सुशील साह, डा.विवेक यादव लगायतको चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्