कोरोनाले थला परेको व्यवसाय उकास्ने मौद्रिक नीती ल्याउन माग «

कोरोनाले थला परेको व्यवसाय उकास्ने मौद्रिक नीती ल्याउन माग


अघिल्लो वर्षदेखि चालु आर्थिक वर्षमा समेत कोरोनाले थला पारेको व्यवसायलाई अब आउने मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने गण्डकी प्रदेशका स्थानीयले माग गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा गरेको छलफलमा स्थानीयले व्यवसाय टिकाउन पनि मौद्रिक नीतिले केही हदसम्म भए पनि सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।


छलफलमा सहभागिहरुले थला परेको अर्थतन्त्र उकास्ने मौद्रिक नीति ल्याउन सुझाव दिँदै प्रदेश सरकारले व्यवसायीहरुको प्रवद्र्धनका लागि ल्याएको एक अर्बको व्यावसायिक जीवन रक्षा कोष कार्यक्रम लागु गर्न बैंकहरुबाट धेरै बाधा अड्चना आएको गुनासो समेत गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले पुनर्कर्जाका लागि छुट्याइएको रकम अत्यन्तै न्यून रहेको भन्दै १ खर्बको कोषबाट लक्षित समूहले पुनर्कर्जा पाउन नसकेको दाबी गरे । थला परेको अर्थतन्त्रलाई कम्तीमा बचाउन तत्काल बैंकिङ लोनलाई रिफाइनान्स र पुनर्तालिकीकरण गर्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्र चलायमान नभए १० खर्बको राजस्वको लक्ष्य पु¥याउन नसकिने गिरीले बताए ।


बैंकर्स तथा उपप्राध्यापक विश्वमोहन अधिकारीले साना तथा मझौला व्यवसाय, यातायात र पर्यटन क्षेत्रलाई राहत हुनेगरी नीति ल्याउन माग गरे । पुनर्कर्जाको अवधि र सीमामा परिमार्जन गर्न जरुरी रहेको उनको भनाइ छ । राष्ट्र बैंकले ७ महिना ढिलो गरी पुनर्कर्जा कार्यविधि ल्याए पनि कार्यान्वयनमै समस्य भएको उनले जिकिर गरे ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले आफूहरुलाई कोरोनाको भ्याक्सिन भन्दा पनि ऋण भुक्तानीको समय बढाउन माग गरे । उनले भने, “राष्ट्र बैंकले गत वर्ष ल्याएको मौद्रिक नीति यातायात व्यवसायीका लागि उपयुक्त भएन, हामीले ऋण तिर्दैनौं भनेका छैनौं, हामी घर न घाटका भएका छौं, ऋणको अवधि बढाइदेऊ मात्र भनेका हौं ।”


पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायी र पर्यटनकर्मीलाई अहिले कोभिड विरुद्धको भ्याक्सिन आवश्यक भएको बताए । उनले भने, “बिरामी भएका बेलामा औषधी खान नपाए त्यसको के मतलब ? भ्याक्सिनबिना हामी पर्यटन क्षेत्र खोल्न सक्ने अवस्थामा छैनौं ।” बैंकबाट अहिले तारन्तार फोन गरेर छिटो ऋण तिर, तँलाई कालो सूचीमा राख्छु भनेर चेतावनी दिएको अध्यक्ष भट्टराईले गुनासो गरे ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले नीति राम्रा आए पनि त्यसलाई पहुँचको भरमा कार्यान्वयन हुने बताए । कोभिडको सबैभन्दा बढी मारमा निजी क्षेत्र परेको उनको भनाइ छ । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पुनर्कर्जा टाठाबाठाले पाएको र पहुँच नभएका व्यवसायीले नपाएको गुनासो गरे । युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिल बहादुर भट्टराईले युवा व्यवसायीको उत्पादनका लागि गुणस्तर सुनिश्चितता प्रमाणित गरिदिनुपर्ने माग गरे । नवप्रवेशी युवा उद्यमीलाई सहुलियतपूर्ण ऋण जरुरी रहेको उनले बताए ।


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सरकारको मापदण्डमा रहेर निजी क्षेत्रको सहयोगमा प्रदेश सरकार खोप किन्न तयार रहेको बताए । उनले यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीहरुको सहयोग जरुरी रहेको बताए । उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको जनाए ।
नीति तथा योजना आयोग उपाध्यक्ष डा.रघुराज काफ्लेले प्रदेशको प्राथमिकता र आवश्यकता अनुसारको नीति आउनु जरुरी रहेको बताए । रोजगारी बढाउन, आर्थिक सूचक माथि उठाउन प्रदेश सरकारले सुझाव संकलन गरी राष्ट्र बैंकमा आधिकारिक रुपमा लेखी पठाउने उनले बताए ।
राष्ट्र बैंक पोखराका निर्देशक ईश्वरी भट्टराईले मुलुकभर १ सय ४८ अर्बको पुनर्कर्जा प्रवाह भएको उल्लेख गर्दै गण्डकीमा १८÷१९ अर्ब ऋण प्रवाह भएको दाबी गरे । प्रदेश अनुसार ब्याजदर निर्धारण नसकिए पनि प्राथमिकता अनुसार काम गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्