सामान्यतया सडक सञ्जाल सरकारी तवरबाट निर्माण गर्ने हो भने बाँकी क्षेत्रहरू निजी क्षेत्रबाटै विकास हुने परम्परा हामीकहाँ छ ।
चालू वर्षका आर्थिक सूचकहरू— २

नेपालमा बिमाको इतिहास त्यति लामो नभए पनि २०७७ फागुनसम्ममा बिमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत वृद्धि भई ५ खर्ब २ अर्ब ६० करोड पुगेको छ । चालू आर्थिक वर्षको फागुनसम्म १ खर्ब २ अर्ब ४० करोड बिमा शुल्क संकलन भएको छ । पहुँचका हिसाबले २६ प्रतिशत बिमा पहुँच रहेकोमा आगामी वर्षसम्ममा एकतिहाइ जनतामा यो सेवा पु-याउने लक्ष्य सरकारले राखेको छ ।
आयातको अंश ठूलो र निर्यातको अंश सानो भएको हाम्रो वैदेशिक व्यापारमा चालू आर्थिक वर्षको फागुनसम्म कुल वस्तु निर्यात २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ । यो अवधिमा चामल, भटमासको कच्चा तेल, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको निर्यात बढेको छ भने पेट्रोलियम पदार्थ हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ । यो अवधिमा वस्तु निकासी ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेको छ । २०७७ को सोही अवधिमा वस्तु निर्यात ६४ अर्ब ९१ करोड रहेको थियो । चालू आर्थिक वर्षमा प्रशोधित भटमासको तेल, चिया, कपडा, अलैँचीजस्ता वस्तुहरूको निकासी बढेको छ भने सिन्थेटिक यार्न, फलफूलको जुस, ऊनी गलैँचा, कार्पेटलगायतका वस्तुको निकासी घटेको छ । हाम्रो उत्पादन बढेर निर्यात बढ्नु त दीर्घकालका लागि राम्रो मानिन्छ, तर उत्पादनमा वृद्धि नभई भएका यस्ता सानातिना निर्यात वृद्धिले व्यापार घाटा कम गर्न खासै भूमिका खेल्दैनन् । त्यसैगरी सोही अवधिमा शोधनान्तर स्थिति भने ६८ अर्बले बचतमा रहेको छ, साथै चालू खाता १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचत रहेको थियो भने चालू खाता १ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।
विपे्रषणमा भर परेको भनिएको हाम्रो अर्थतन्त्रमा २०७७ को फागुनसम्म यो ८.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । आव २०७६÷७७ को सोही अवधिमा विप्रेषण आप्रवाह ५ खर्ब ९१ अर्ब १९ करोड रहेको थियो भने सो वर्षमा विप्रेषण आय ८ खर्ब ७५ अर्ब ३ करोड रहेको थियो । त्यसैगरी सोही अवधिमा विदेशी विनिमय सञ्चिति भने १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ र यसले ११.३ महिनाको वस्तु तथा सेवाको आयात धान्ने देखिन्छ ।
मानव विकास सूचकांक हेर्ने हो भने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार अघिल्लो वर्ष ०.५७९ थियो भने यो वर्ष अघिल्लो वर्षको तुलनामा सुधार भई ०.६०२ पुगेको छ ।
बेरोजगारी समस्याले आक्रान्त भएको हाम्रो अर्थतन्त्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ मा ३ लाख ७० हजार ७ सय ३४ सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजार ६ सय ३५ जनाले रोजगारी प्राप्त गरेका थिए । चालू आर्थिक वर्षको फागुनसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगारमध्ये ३३ हजार ७ सय ३३ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी प्रधानमन्त्री कृषि रोजगार कार्यक्रम कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ४३ हजार ४ सय ६७ जनालाई आंशिक र ४८ हजार ७ सय ८१ लाई पूर्ण रोजगार प्राप्त भएको अवस्था छ ।
चालू आर्थिक वर्षको फागुनसम्म १३ हजार ५ सय २६ रोजगारदाता र १ लाख ९३ हजार ७२ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । हालसम्म ४ अर्ब ६६ करोड १० लाख १५ हजार योगदानबापतको रकम उक्त कोषमा जम्मा भएको छ भने सोही अवधिमा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति, बालबालिकासमेत गरी कुल ३१ लाख ५० हजार १ सय ११ लाभग्राहीलाई ५८ अर्ब ३८ करोड ६९ लाख ५५ हजार ९ सय ५९ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
कोरोनाले सबैभन्दा धेरै प्रभावित भएको पर्यटन क्षेत्रमा सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२० मा यो संख्या ८०.८ प्रतिशतले संकुचन आई २ लाख ३० हजार ८५ रहेको छ । सन् २०२० मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूबाट कुल २४ अर्ब ९६ करोडबराबरको विदेशी मुद्रा आर्जन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले कमी हो । यो तथ्यांक हेर्दा सबैभन्दा बढी राहतको खाँचो यो क्षेत्रलाई भएको देखिन्छ ।
केही वर्षदेखि लोडसेडिङ मुक्त भएको हाम्रो देशमा २०७७ फागुनसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत् उत्पादन गत वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भई १४ सय ५८ मेगावाट पुगेको छ भने प्रतिव्यक्ति विद्युत् खपत २ सय ६० किलोवाट घण्टा पुगेको छ ।
नेपालमा विकासको गति अघि बढेका क्षेत्रहरू हेर्ने हो भने सडक पनि एउटा हो । सामान्यतया सडक सञ्जाल सरकारी तवरबाट निर्माण गर्ने हो भने बाँकी क्षेत्रहरू निजी क्षेत्रबाटै विकास हुने परम्परा हामीकहाँ छ । यो क्षेत्रको अवस्था हेर्ने हो भने २०७७ फागुनसम्म देशभरि रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५ हजार ९ सय ७४ किलोमिटर, खण्डस्मित ८ हजार ५ सय ८२ किमि र कच्ची सडक ८ हजार ९ सय ७२ किमि गरी ३३ हजार ५ सय २८ किमि सडक निर्माण भएको छ । प्रदेश तथा स्थानीय स्तरबाट कच्ची ग्राबेल र कालोपत्रेसहित जम्मा ६३ हजार ५ सय ७७ किमि सडक निर्माण भएको छ ।
पछिल्लो समयमा सवारी साधनदर्ताको चाप नेपालमा बढी नै देखिन्छ । यी सवारी साधनहरूमा आयआर्जन गर्ने उद्देश्यका सवारी साधन बढी दर्ता भए भने देश विकाका लागि यो राम्रो संकेत हो । २०७७ फागुनसम्म ३९ लाख ८७ हजार २ सय ६७ सवारी साधनदर्ता भएका छन् । त्यसैगरी टेलिफोन र इन्टरनेट प्रयोगकर्ताहरूको संख्या पनि हामीकहाँ उल्लेख्य वृद्धि भएको छ । कोरोनाका कारणले फस्टाएको व्यवसायमध्ये यो इन्टरनेट व्यवसाय पनि एक हो । २०७७ फागुनसम्ममा टेलिफोन घनत्व १३०.३ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ८२.८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा टेलिफोन घनत्व १२६.७ प्रतिशत र इन्टरनेट घनत्व ७३ प्रतिशत रहेको थियो ।
शैक्षिक क्षेत्रतिर हेर्ने हो भने शैक्षिक वर्ष २०७७ मा विद्यार्थी भर्नादर प्राथमिकतह (१–५) को खुद भर्नादर ९७.४ प्रतिशत आधारभूत तह (१–८) को ९४.७ प्रतिशत र माध्यमिक तह (९–१२) को ५१.२ प्रतिशत रहेको छ । यो वर्ष सरकारले पाँच कक्षासम्म दिवा खाजाको व्यवस्था गरेर शतप्रतिशत भर्नादर पु-याउने लक्ष्य राखेको छ ।
जलस्रोतको धनी देश भनेर चिनिने हाम्रो देशमा खानेपानी उपभोग गर्नेको जनसंख्या हेर्ने हो भने २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसंख्या ९१.५ प्रतिशत र उच्चमध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या २३ प्रतिशत रहेको छ । यो तथ्यांक हेर्दा यो क्षेत्रमा हामीले पानीको प्रशस्त स्रोत हुँदाहुँदै पनि जति काम गर्नुपर्ने हो त्यति गर्न नसकेको अवस्था देखिन्छ ।
२०७२ सालमा गएको महाभूकम्पको पुनर्निर्माण चलिरहेकै छ । यसै क्रममा २०७७ फागुनसम्म भूकम्पबाट क्षति भएका निजी आवास ७२.९ प्रतिशत, सार्वजनिक विद्यालय ८२.७ प्रतिशत, पुराताŒिवक सम्पदा ५३.३ प्रतिशत, स्वास्थ्य संस्था ५८.३ प्रतिशत, सरकारी भवन ८५.३ प्रतिशत र सुरक्षा निकायका भवन ९५.८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । कोरोनाको चपेटामा नपरेको भए २०८० सम्ममा यो पुनर्निर्माणको काम पूर्ण हुने आशामा बसेका हामी नेपालीलाई कोरोनाले तुसारापात गरेको छ ।
ऐतिहासिक एवं पुराताŒिवक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा पनि यो वर्षमा केही प्रगति भएको छ । चालू आर्थिक वर्षमा काठमाडौंको ऐतिहासिक धरोहरका रूपमा रहेको धरहरा, रानीपोखरी र दरबार हाईस्कुललगायतका महŒवपूर्ण ऐतिहासिक एवं पुराताŒिवक महŒवका सम्पदाका पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
कोरोनाबाट प्रभावित करदातालाई राहत पुगोस् भन्ने उद्देश्यले आयकर छुटको व्यवस्था पनि गरिएको थियो । यो कार्यक्रमअनुसार ५ लाख २० हजार ३ सय ३९ करदातालाई वार्षिक कारोबारका आधारमा २०७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख छुट सुविधा दिइएको छ भने बैंक तथा वित्तीय संस्थाहरूले मासिक ब्याज रकममा आधार दरभन्दा कम नहुने गरी १० प्रतिशत र २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम हुने गरी छुट दिइएकोमा यसबाट ऋणीहरूले २०७७ असारसम्ममा करिब १० अर्ब २१ करोड ६६ लाख छुट पाएका छन् ।
अन्त्यमा, कोरानाबाट उत्पन्न आर्थिक संकटका बाबजुत पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र (३.५ प्रतिशत) शोधनान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधात्मक रहेको, वित्तीय क्षेत्र सबल रहेको र पुनर्निर्माणमा भएको प्रगति तथा पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारका कारण अगाडि दिनमा आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा भी आकारको आर्थिक वृद्धि हुने अनुमान रहेकोमा नयाँ वर्ष २०७८ को सुरुबाट फैलिएको कोरोनाको दोस्रो लहरले क्रमशः गतिशील बन्दै गरेको अर्थतन्त्रमा पुनः चुनौती र जोखिम बढाइदिएको छ । यसरी बढिरहेको कोरोनाको कहरलाई कम गर्न अन्यत्र खर्च हुन बाँकी रकमलाई कोभिडको भ्याक्सिन आयातमा खर्च गरेर चाँडोभन्दा चाँडो सम्पूर्ण नेपालीलाई कोरोनाको भ्याक्सिन लगाएर थप जनधनको क्षति हुनबाट रोकी अर्थतन्त्रलाई चाँडोभन्दा चाँडो चलायमान बनाउनतिर सरकार लाग्नुपर्ने देखिन्छ ।
(त्रिविमा प्राध्यापनरत डा. दंगाल अर्थशास्त्री हुन् ।)