बल्यो माथिल्लो तामाकोसीको बिजुली «

बल्यो माथिल्लो तामाकोसीको बिजुली

प्रधानमन्त्री ओली सम्बोधन दोलखा:प्रधानमन्त्री केपी शर्मा ओली माथिल्लो तामाकोशीे जलविद्युत आयोजनाको सोमबार भर्चुअल रुपमा समुउदघाटनपश्चात सम्बोधन गर्दै । तस्वीर : प्रभु जिरेल/रासस

दोलखा-पहिचान भएको ३६ वर्षपछि र निर्माण सुरु भएको ११ वर्षपछि माथिल्लो तामाकोसीको बिजुली बलेको छ । आयोजना पहिचानदेखि अध्ययन र निर्माणसम्मको अवधि जोड्दा यति लामो समयपछि एउटा आयोजना पूरा भएको हो ।
स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेका छन् । उद्घाटनपछि नेपालबाट टुकी युगको अन्त्य भएको र अब उद्योगी–व्यवसायीले मागेपछि बिजुली पाउने प्रधानमन्त्री ओलीले बताए ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन भई २२० केभीको ४७ किलोमिटर प्रसारण लाइनमार्फत न्यू खिम्ती सब स्टेशनमा जोडिएको छ । न्यू खिम्ती सब स्टेशनमार्फत खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत तराईका जिल्लामा र १३२ केभीबाट खिम्ती लामोसाँघु हुँदै काठमाडौंसम्म पुग्ने छ ।
आयोजनाको ६ वटा युनिटमध्ये पहिलो युनिटबाट उत्पादित विद्युत ७६ मेगावाट सोमबारबाट आयोजनाले नै निर्माण गरेको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले ६ युनिटमध्ये सोमबार पहिलो युनिटबाट उत्पादन सुरु भएको र आगामी भदौभित्र पूर्ण क्षमतामा उत्पादन हुने बताए । उनका अनुसार, साढे २ महिनाभन्दा बढी समयको परीक्षणपछि विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन लागेको हो । एक हप्ताको बीचमा प्रसारण लाइन र सब स्टेशनका अवरोध हटाएर प्राविधिक परीक्षण समेत पूरा भएको छ ।
माथिल्लो तामाकोसीको सञ्चालनसँगै अब देशको सबैभन्दा ठूलो जलविद्युत आयोजना बनेको छ । यसअघि १४४ मेगावाटको कालिगण्डकी ए रहेको छ । माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड विद्युत् उत्पादन हुने अनुमान छ । जुन विद्यमान विद्युत प्रणालीको एक तिहाइ हो । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि वर्षात्मा भारतबाट आयत हुँदै आएको विद्युत बन्द भई बढी भएको विद्युत निर्यातयोग्य हुनेछ ।

आयोजनाको इतिहास
माथिल्लो तामाकोसी सन् १९८५ मा जापान सरकारको सहयोगमा जाइकाद्वारा कोसी जलस्रोत विकास गुरुयोजनाको अध्ययनमा (क्षमता ११३ मेगावाट) पहिचान भएको हो । त्यसपछि सन् १९९९ मा अष्ट्रियन नागरिक डा.क्रिश्चियन उल्हर लामाबगर भ्रमण गर्न आएको बेला आकर्षक खोला देखेर रोल्वालिङ खोलाको नामबाट व्यक्तिगत लगानीमा पूर्व सम्भाव्यता अध्ययन गरे । त्यसबेला यसको क्षमता १२० मेगावाट र प्रतिकिलोवाट लागत ११ अमेरिकी डलर अनुमान थियो ।
दुवै अध्ययनलाई आधार बनाएर २००१ मा नेपाल विद्युत् प्राधिकरणको आफ्नै स्रोतमा अध्ययन भयो । प्राधिकरणको अध्ययनमा २५० मेगावाट क्षमता र त्यसबाट वार्षिक १ अर्ब ५७ करोड युनिट विद्युत हुने देखियो र उत्पादन लागत ११ सय डलर नै अनुमान थियो । २०६० देखि २०६२ मा नर्वेजियन कम्पनी नरकन्सल्ट ए एसले गरेको विस्तृत अध्ययनबाट ३०९ मेगावाट क्षमता हुने र त्यसबाट वार्षिक १ अर्ब ७३ करोड ७० लाख युनिट विद्युत उत्पादन हुने देखियो । त्यसैमा दोस्रो चरणमा २०६५मा भएको विस्तृत अध्ययन गरी दुई वटा युनिट थप गर्दा ४५६ मेवा २ अर्ब २८ करोड युनिट विजुली उत्पादन हुने देखियो । यसरी धेरै चरण पार गर्दै २०११ मा अर्थात २६ वर्षपछि आयोजना निर्माणका लागि ऋण सम्झौता भयो । यही बीचमा चरिकोट दोलखा ४ किलोमिटर बाइपास र दोलखा–सिंगटी ३५ किलोमिटर सब स्तरोन्नती र सिंगटी–लामाबगर २८ किलोमिटर ट्रयाक खुलेको हो ।
आयोजनाको २०६७-६८को सुरुवातमै आयोजनाको सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशन साइटमा परिचालित भएर सडक स्तरोन्नति र आवास लगायतका पूर्वाधार तयारीमा जुटेको थियो । आयोजनाको सुरु सम्झौता अनुसार ५ वर्षमा पूरा गर्ने लक्ष्य राखे तापनि ६ वर्ष थप समय लाग्यो । निर्माण अवधी ११ वर्ष जोड्दा आयोजना पूरा हुन ३६ वर्ष लागेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मुख्य सुरुङको बीचमा डिजाइन परिवर्तन, केही प्रशासनिक ढिलाइ, २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, लट २ को व्यवस्थापकीय कमजोरीले पेनस्टक पाइप ढुवानी र जडानमा बिलम्ब र पछिल्लो २ पटकको कोरोना कहरले ढिलाइ भएको बताए । स्वदेशी पुँजी र स्वदेशी व्यवस्थापनमै यति ठूलो आयोजना बन्नु आफैंमा गौरब भएको उनले बताए । अब यही अनुभवले यि भन्दा ठूला आयोजनाहरुको व्यवस्थापन र स्रोत जुटाउन स्वदेशी पुँजी र सीप, क्षमता विकास भएको उनको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ माघ २० गते सिलान्यास तयारी भएको थियो । तर आयोजनास्थल गोंगरसमम पुग्ने जामुने र जगतमा पक्कि पुल पूरा नभएकाले यातायातका साधन पुग्न सकेको थिएन । त्यस बेला व्यापक विरोध भएपछि स्थगित सिलान्यास २०६८ जेठ ४ गते भयो । त्यस बेला सरकार परिवर्तन भएर प्रधानमन्त्री झलनाथ खनालले शिलान्यासको अवसर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्