Logo

‘बैंकलाई ब्रोकर लाइसेन्स देऊ’


नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकहरुलाई सेयर ब्रोकरको काम गर्ने अनुमति दिन माग गरेको छ ।
नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनु पर्ने सुझाव दिँदै बैंकर्स एसोसिएसनले बैंकासुरेन्स गर्न पनि दिन माग गरेको छ । कतिपय देशमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका उदाहरण दिँदै बैंकर्स एसोसिएसनले नेपालमा पनि राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोलिसकेको पनि जनाएका छन् ।
“सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामीण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्दछन् तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल नियमानुसार निवेदन दिएर पनि ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ, यसका लागि राष्ट्र बैंकबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ” बैंकर्स एसोसिएसनको सुझावपत्रमा लेखिएको छ ।
बिमाको दायरा बढाउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकासुरेन्स गर्न दिनुपर्ने सुझाव दिँदै बैंकर्स एसोसिएसनले राष्ट्र बैंकले यसअघि नै दिएर रोकेको बैंकासुरेन्स सेवाले बिमाको दायरा बढाउन महत्वपूर्ण योगदान गर्ने जनाएको छ ।
साथै, व्यक्तिगत आवासिय कर्जाको सीमा बढाएर २ करोड रुपैयाँ पु¥याउन बैंकर्स एसोसिएसनले माग गरेको छ । पछिल्लो समय भवन निर्माण लागत बढेको, जग्गाको मूल्य बढेको जस्ता कारणले यस्तो कर्जाको सीमा बढाउनु पर्ने भन्दै बैंकर्स एसोसिएसनले कोभिड महामारी पश्चात् अर्थतन्त्रलाई गति प्रदान गर्न घरकर्जालगायत उपभोक्ता कर्जाको पनि योगदान रहने हुँदा यस्ता कर्जाहरुमा हाल कायम सीमालाई लचक बनाउन, भवन निर्माण लागत तथा जग्गाको समेत मूल्य वृद्धि भएको सन्दर्भमा व्यक्तिगत आवासीय कर्जाको सीमा २ करोड रूपैयाँ पु¥याउन तथा न्यून लागत आवास कर्जाको सीमालाई २० लाख रूपैयाँ पु-याउन पनि बैंकर्स एसोसिएसनले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्