नदी कटानले खल्ला–मछेट्टी बाढीको उच्च जोखिममा «

नदी कटानले खल्ला–मछेट्टी बाढीको उच्च जोखिममा


कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला–मछेट्टी बाढीको उच्च जोखिममा रहेको छ । वर्षा सुरु भएसँगै बस्ती किनार भएर बहने खहरे खोलाले कटान तीव्र बनाउँदा खल्ला बाढीको उच्च जोखिममा रहेको हो । महेन्द्रनगर सदरमुकामबाट दुर्गम क्षेत्रमा अवस्थित खल्लामा खहरे खोलामा आउने बाढीले कटान गर्ने क्रम बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन् ।


“विगत वर्षजस्तै यस वर्ष पनि खोलाले कटान सुरु गरेको अवस्था छ, वर्षांैदेखि कटान गर्दै आएको खोला नियन्त्रणका लागि कुनै पनि प्रयास भएका छैनन् ।” स्थानीय रुपसिंह पालीले भने, “गाउँ बस्तीसँग जोडिएको खोलामा वर्षात्को समयमा एकदमै बाढी आउने गर्दछ, बाढीले कयौ परिवार विस्थापित भएको अवस्था छ ।” चुरे क्षेत्रबाट बहेर आउने खहरे खोलामा कुनै पनि बेला कटान हुने सम्भावना छ । कटान हुँदा सय घर परिवार रहेको खल्लाका ७५ घरपरिवार भने कटानको जोखिममा रहेको उनले बताए ।


खल्ला, मछेट्टी र टुडिखेल गरेर उक्त क्षेत्रमा तीनवटा गाउँ छन् । सदरमुकाम क्षेत्रको दुर्गम तथा महाकाली किनारको उक्त गाउँमाथिबाट चुरेले घेरेको छ भने तलतर्फबाट महाकाली नदीले घेरेको छ । गाउँका स्थानीयले एकातर्फ महाकालीको कटान तथा डुबानको समस्या भोग्नु पर्छ भने अर्काे तिर चुरे भएर आउने खहरे खोलाको कटान तथा बाढीको समस्या भोग्नु पर्ने बाध्यता छ ।


“वर्षायाममा ठूलो पानी आएको समयमा राती सुत्न पनि मिल्दैन, खोलाको चौकिदारी गरेर रात काट्नु पर्छ, खल्ला क्षेत्रमा मात्रै दुईवटा ठूलाठूला खहरे खोला रहेका छन् ।” स्थानीय पालीले भने, “खोला नियन्त्रणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीय बासिन्दाले सधैं बाढीको क्रासमा चिन्तित हुनुपरेको छ ।” तीनवटै गाउँ लगाएर झण्डै चार सय घर परिवार जतिको स्थायी बसोबास छ । स्थानीय बस्ती लामो तथा धेरै भए पनि खोला नियन्त्रण नहुँदा वर्षेनी बस्ती बगरमा परिणत हुने तथा विस्थापित हुने जोखिम रहेको समेत उनले बताए ।


विकासको क्षेत्रमा विद्युत, सडक लगायतको केही पूर्वाधारको पहुँच भएको उक्त क्षेत्रमा सबैभन्दा ठूलो समस्या कटान तथा डुबानको रहेको छ । बस्तीका विभिन्न स्थानमा रहेका खहरे खोला तथा महाकाली नदीले स्थानीयसँगै समग्र बस्तीलाई नै समस्या गरेको अर्की स्थानीय अञ्जली बोहराले बताइन् ।


“बस्ती बसेको लामो समय भइसकेको अवस्था छ, बस्ती बसेपछि २०७० सालमा महाकाली नदीले बस्तीका केही घर पनि बगाएको थियो, नदीले बगाएर विस्थापित बनेको केही परिवार विद्यालय तथा स्थानीय मन्दिरको जमिनमा बसोबास गरिरहेका छन् ।” स्थानीय अञ्जली बोहराले भनिन्, “महाकालीबाट विस्थापित भएर बसेका परिवार हाल आएर खोलाको बाढीको उच्च जोखिममा छन्, स्थानीय विद्यालय र मन्दिर पनि जोखिममा भएकाले बस्तीको अस्तित्वसमेत कटानले धरापमा पार्नेसक्ने अवस्था सिर्जना भएको छ ।” विगत लामो समयदेखि खोला नियन्त्रणका लागि बस्तीबाट विभिन्न पहल कदमी भए पनि सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको अञ्जलीको गुनासो छ ।

यसैगरी यता भीमदत्त नगरपालिका–९ ब्रह्मदेव वडा कार्यालयले भने उक्त क्षेत्रमा खोला तथा महाकाली नदी नियन्त्रण गर्नका लागि विभिन्न प्रसास अघि बढाए पनि सफल हुन नसकेको जनाएको छ ।
“खल्ला, मछेट्टी र टुडिखेलको बस्तीमा बस्ती पिच्छे खहरे खोला रहेका छन्, नगरपालिकाले वडालाई दिने बजेटको आकार एकदमै सानो हुन्छ, बजेट चाहिएको ठाउँ धेरै हुन्छ ।” वडाध्यक्ष राम नाथले भने, “वडाले गर्न चाहेर पनि गर्न सकिँदैन, बजेट अभावकै कारण स्थानीयका समस्या सामाधान गर्न एकदमै चुनौती छ ।” ९ नम्बर वडा क्षेत्रमा मात्रै दजनौ खहरे खोला रहेका छन् । संरक्षण गरिएका खोला पनि बजेट अभावका कारण मर्मत गर्न नसकिने अवस्थामा रहेको वडाध्यक्ष नाथले बताए । खल्ला मछेट्टी किनार क्षेत्र गरेर ब्रह्मदेव क्षेत्रसम्म झण्डै १० किलोमिटर बढी क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने अवस्था छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा रहेको खल्ला मछेट्टीको बस्ती । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्